भारतीय नम्बर प्लेटका सवारी साधनका कारण नेपाली यातायात व्यवसायी संकटमा–सांसद डाँगी

0
13

झापा ।

भारतीय सवारीका कारण नेपाली यातायात ब्यवसायी मारमा परेको छन् । खुल्ला सिमानाका कारण भारतबाट नेपाल प्रवेश गरेका सवारीहरु खुलेआम रुपमा सञ्चालन हुँदा समेत प्रशासनले आस्ता नगरेपछि यो विषयले संसदमा प्रवेश पाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारी साधनका कारण नेपाली सवारी चालक र यातायात व्यवसायी संकटमा परेको भन्दै झापा क्षेत्र नम्बर–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले यस्ता विषयमा गम्भिर बन्न सरकारको ध्याकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद डाँगीले भारतबाट नेपाल आउनका लागि एक दिनको लागि भन्सार पास बनाएर नेपालमा नै लामो समय संचालन हुने गरेका सवारी साधनहरूलाई नियमन गर्नुपर्ने बताएकी हुन् ।

त्यसरी नेपाल प्रवेश गरेर लामो समय यहाँ सञ्चालन हुने सवारीको आवश्यक नियमन नहुँदा भन्सार शुल्कमा क्षतिसँगै यहाँका व्यवसायी मारमा परेको र दुर्घटना भएमा क्षतिपूर्तिका लागि समस्या हुने गरेको सांसद डाँगीको भनाइ थियो । भारतीय सवारीको दुरुपयोग रोक्न सरकारले पहलकदमी लिनुपर्ने सांसद डाँगीको भनाइ थियो ।

भारतीय नम्बर प्लेटका सवारी साधनहरू नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ, त्यसको हाल दुरुपयोग भइरहेको छ । नियमअनुसार एक दिनको भन्सार ‘डे पास’ लिएर प्रवेश गरेका सवारीहरू फिर्ता जानुपर्ने हो, तर, व्यवहारमा ती सवारीहरू नेपालमै निजी तथा सार्वनजिक रूपमा सञ्चालन भइरहेका हुन्छन्,’ सांसद डाँगीले भनिन्, ‘यसले गर्दा उच्च भन्सार तिरेर सञ्चालनमा रहेका नेपाली नम्बर प्लेटका सवारी साधनहरूमा प्रत्यक्ष असर परिरहेको छ ।’

‘प्रत्येक सीमा क्षेत्रमा भारतीय सवारी साधनको कारण नेपाली यातायात व्यवसायीहरु संकटमा परिरहेका बताइन् । भारतीय नम्बर प्लेटका सवारी साधन भन्सारबाट ‘डे पास’मा नेपाल आउने र यहाँ लामो समय चल्ने समस्या समाधान गर्नका लागि सांसद डाँगीले तीन वटा सुझाव दिएकी छन् । उनका अनुसार सीमानाकामा कडाइका साथ अनुगमन गरियोस्, ‘डे पास’को दुरुपयोग तत्काल रोकियोस् र सीमा क्षेत्रमा नेपाली यातायात व्यवसायीको संरक्षण गरियोस् ।

पहुँचका भारमा केही ब्यक्तिहरुले दैनिक भन्सार तिरेर वा भन्सार शुल्क समेत नकाटि खुलेआम रुपमा भारतीय सवारी सञ्चालन गर्दै आइरहेका छन् । यस विषयमा ट्राफिक प्रहरी चनाखो बन्न जरुरी रहेको सरोकारवालाहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here