बालबालिकामा अब्स्ट्रक्टिभ स्लीप एपनिया

0
20

नेपालमा धेरै बालबालिकाले राति घुर्ने, मुख खोलेर सुत्ने, नाक बन्द हुने, राम्रोसँग नसुत्ने, दिनमा चिडचिडे हुने वा पढाइमा ध्यान नदिने समस्या भोगिरहेका हुन्छन् । तर, यस्ता लक्षणलाई अझै पनि सामान्य रुघाखोकी वा ‘बच्चा त यस्तै हो’ भनेर बेवास्ता गरिन्छ । वास्तवमा यो धेरै कम आँकलन गरिएको स्वास्थ्य समस्या हो । अध्ययनहरूका अनुसार बालबालिकामा ओएसएको सबैभन्दा सामान्य कारण एडिनोइड र टन्सिल ठूलो हुनु हो ।

एडिनोइड र टन्सिल भनेको के हो ?

एडिनोइड र टन्सिल शरीरका रक्षा गर्ने मासुका भाग हुन् । कहिलेकाहीँ यी सामान्यभन्दा धेरै ठूलो हुन्छन् । यही असामान्य रूपमा ठूलो हुने अवस्थालाई हाइपरट्रोफी भनिन्छ, जसको सरल अर्थ हो आवश्यकभन्दा बढी ठूलो हुनु । जब एडिनोइड वा टन्सिल धेरै ठूलो हुन्छ, बच्चाको सास फेर्ने बाटो साँघुरो हुन सक्छ, विशेषगरी सुत्दा ।

किन यो नेपालमा कम आंकलन गरिएको समस्या हो ?

नेपालमा धेरै बालबालिकामा यो समस्या समयमै चिन्न सकिँदैन । बच्चा धेरै घुर्छ, नाक बन्द हुन्छ, मुखबाट सास फेर्छ, राति राम्रोसँग सुत्दैन, तर यसलाई सामान्य समस्या ठानेर छोडिन्छ । यसले गर्दा उपचार पनि ढिलो हुन्छ ।

ओएसएका लक्षणहरू

– राति धेरै घुर्नु
– मुख खोलेर सुत्नु
– नाक बन्द भइरहनु
– सुत्दा सास फेर्न गाह्रो देखिनु
– पटक–पटक कोल्टे फेर्नु वा अस्थिर निद्रा हुनु
– राति पसिना आउनु
– बिहान उठ्दा ताजगी नहुनु
– दिनमा चिडचिडे हुनु
– ध्यान केन्द्रित गर्न गाह्रो हुनु
– पढाइ वा व्यवहारमा असर पर्नु
– केही बच्चामा लामो समय खोकी लागिरहनु पनि सँगै देखिन सक्छ ।

एडिनोइड ठूलो हुनु किन महत्वपूर्ण छ ?

एडिनोइड ठूलो हुदा बच्चामा विशेषगरी :
– नाक बन्द हुने
– नाकबाट सास फेर्न गाह्रो हुने
– मुखबाट सास फेर्ने बानी पर्ने
– घुर्ने
– निद्रा बिग्रिने

जस्ता समस्या देखिन सक्छन् । यही कारणले एडिनोइड ठूलो हुनु बालबालिकामा ओएसएको मुख्य कारण मानिन्छ ।

एडिनोइड ठूलो भएको उपचार शुरुमा के हुन्छ ?

हल्का अवस्थाका धेरै बालबालिकामा शुरुमा नाकमा हाल्ने स्टेरोइड औषधि प्रयोग गर्ने विकल्प राम्रो मानिन्छ । अध्ययनहरूले यस्तो औषधिले नाक बन्द हुने समस्या घटाउन, एडिनोइडको असर कम गर्न र केही बच्चामा निद्राको समस्या सुधार गर्न मद्दत गर्न सक्छ भनेर देखाएका छन् ।

किन शुरुमा नै उपचार गर्नुपर्छ ?

यदि एडिनोइड ठूलो भएको कुरा चाँडै पत्ता लाग्यो र समयमै नाकमा हाल्ने स्टेरोइड औषधि शुरु गरियो भने केही बच्चामा शल्यक्रियासम्म पुग्न नपर्न सक्छ । तर, उपचार ढिलो भयो, समस्या धेरै बढ्यो, बच्चामा घुर्ने र सास रोकिने समस्या धेरै भयो वा औषधिले काम गरेन भने शल्यक्रिया आवश्यक पर्न सक्छ ।

शल्यक्रिया कहिले चाहिन सक्छ ?

यदि बच्चामा एडिनोइड र टन्सिल धेरै ठूलो छन्, निद्रामा सास रोकिने समस्या मध्यम वा गम्भीर छ, जीवनस्तर बिग्रिएको छ वा औषधिले राम्रो सुधार आएन भने शल्यक्रिया उपयुक्त हुन सक्छ । अन्यथा स्वस्थ बालबालिकामा एडिनोइड र टन्सिल ठूलो भएर भएको यस्तो समस्यामा शल्यक्रिया प्रमुख उपचार मानिन्छ ।

कहिले तुरुन्त जाच गराउने ?

यदि बच्चा धेरै घुर्छ, सुत्दा सास रोकिने–जस्तो देखिन्छ, मुख खोलेर सुत्छ, बिहान असामान्य थकान हुन्छ, पढाइ÷व्यवहारमा परिवर्तन आएको छ, नाक सधैँ बन्द हुन्छ, वा रातिको समस्या लामो समयदेखि छ भने बालरोग विशेषज्ञ वा इएनटी विशेषज्ञसँग जाँच गराउनु उपयुक्त हुन्छ । ओएसएको पुष्टि गर्न केही बच्चामा स्लिप स्टडी (पोलिसोम्नोग्राफी) आवश्यक पर्न सक्छ ।

सन्देश :

बालबालिकामा घुर्नु सधैँ सामान्य हुँदैन । ‘नाक बन्द छ, खोकी छ, मुख खोलेर सुत्छ’ भन्ने गुनासो बारम्बार दोहोरिन्छ भने निद्रामा हुने श्वास सम्बन्धी समस्या पनि विचार गर्नुपर्छ । समयमै पहिचान र उपचारले बच्चाको निद्रा, व्यवहार, सिकाइ, वृद्धि र स्वास्थ्य सबैमा सुधार ल्याउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here