अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–७ पाराखोपीस्थित डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धामको सातौं वार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि पाँचौं धार्मिक महोत्सव सुरु भएको छ ।
धाम क्षेत्रलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने उद्देश्यले २०७८ सालदेखि निरन्तर आयोजना हुँदै आएको उक्त महोत्सवको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सव अन्र्तगत धामका उत्पत्तीकर्ता विकास साम्पाङ राईबाट तान्त्रिक विधि अनुसार पुजाअर्चना, धामीभाँक्रीहरुबाट सामुहिक गुरुपुजा, भजनकिर्तन, दाता सम्मान, निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रमहरु सञ्चालन गरिने धाम संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर मगर “काली”ले जानकारी दिए ।
त्यसैगरी महोत्सवमा धामलाई आवश्यक जमिन व्यवस्थापनका लागि सुरु गरिएको भूमिदान, आजिवन सदस्यता विस्तारलगायतलाई कार्यक्रमहरु पनि सञ्चालन गरिएको बताइएको छ ।

अर्जुनधारा जलेश्वर धामका मूलअर्चक अग्निप्रसाद सिग्देललगायतले मन्तव्य राखेको कार्यक्रममा वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, सदस्यद्वय जानुका दियाली र हरिबहादुर कटुवाल, नेपाल आदिवासी जनजाती महासंघ अर्जुनधाराका उपाध्यक्ष सृजलाल चौधरी, नेपाल तामाङ घेदुङ समाज अर्जुनधाराका सचिव धनबहादुर तामाङ, पातञ्जल योग समिति अर्जुनधाराकी उपाध्यक्ष चन्दा तामाङ ढुङ्गेल, इलाम–झापा मैत्री समाज नौमती बाजा समूहकी सचिव नीशा अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
समितिका अध्यक्ष मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा औचित्यसहित स्वागत मन्तव्य संरक्षक तेजबहादुर तामाङले र कार्यक्रमको सञ्चालन सञ्चारकर्मी चर्तुभूज काफ्लेले गरेका थिए । महोत्सव उद्घाटन कार्यक्रम अघि विभिन्न झाँकी र कलश यात्रासहितको ¥यालीले अर्जुनधारा–७ र ८का विभिन्न स्थानहरुको परिक्रमा गरेको थियो ।































