असिनापानी र हावाहुरीको असर: झापाको कृषि क्षेत्रमा ३ अर्ब बढी क्षति

0
3

झापा, फागुनको अन्तिम साता यता झापामा पटक–पटक आएको हावाहुरी र असिनासहितको वर्षाले खेतबारीमा ठूलो क्षति पु¥याएको छ ।

मुख्य खाद्यान्न र नगदेबालीका रूपमा रहेको मकैदेखि तरकारी, फलफूल र माहुरीपालनसम्ममा यसको असर पुगेपछि जिल्लाको कृषि क्षेत्रमा मात्रै ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको आँकलन गरिएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र झापाका अनुसार फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्मको अवधिमा मात्रै ३ अर्ब १९ करोड २९ लाख ८२ हजार रुपैयाँ बराबरको क्षति भएको छ । यसबाहेक १ अर्ब ७२ करोड ७३ लाख ७४ हजार ६ सय रुपैयाँ बराबरको बाली पूर्ण रूपमा नष्ट भएको छ ।

झापाका १५ वटै पालिकामा क्षति देखिए पनि सबैभन्दा ठूलो मार मकैबालीले बेहोरेको छ । हावाहुरीसँगै परेको असिनाले बालीनाली थिचिएपछि उत्पादन नै नउठ्ने अवस्थामा पुगेको किसानहरू बताउँछन् । सबैभन्दा प्रभावित क्षेत्रमध्ये बाह्रदशी गाउँपालिका छ । यहाँ लगाइएको मकैबालीमध्ये झण्डै ७५ प्रतिशत नष्ट भएको छ । सात वटा वडा रहेको पालिकामा ८४० हेक्टर क्षेत्रफलमा लगाइएको मकैमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको विवरणमा उल्लेख छ । मकैमा मात्रै २७ करोड २७ लाख रुपैयाँभन्दा बढी क्षति भएको छ भने आंशिक क्षति ७५ करोड ५७ लाख रुपैयाँ नाघेको छ ।

बाह्रदशी–२ र ३मा ठूलो क्षेत्रफलमा लगाइएको मकै पूर्ण रूपमा नष्ट भएको छ । अन्य वडाहरूमा पनि आंशिक र पूर्ण क्षति गरी किसानलाई ठूलो आर्थिक धक्का लागेको छ । बाह्रदशी गाउँपालिका–१मा ४३९ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएकोमा २५ हेक्टर क्षेत्रफलमा पूर्ण र ३३ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ ।

त्यस्तै बाह्रदशी गाउँपालिका २मा ७८० हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएकोमा ५९६ हेक्टरमा पूर्ण र ५७ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । बाह्रदशी–३मा ६९३ हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएकोमा ५१९ हेक्टर क्षेत्रफलमा पूर्ण र ५० हेक्टरमा आंशिक क्षति भएको छ । बाह्रदशी–४मा ५४७ हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएकोमा २६९ हेक्टर क्षेत्रफलमा पूर्ण र १३३ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ ।

बाह्रदशी–५मा ९५७ हेक्टर क्षेत्रफलमा लगाइएकोमा १६७ हेक्टर क्षेत्रफलमा पूर्ण र ४०० हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । वाह्रदशी–६मा ६५३ हेक्टर क्षेत्रफलमा २० हेक्टर पूर्ण र ६७ हेक्टर क्षेत्रफलमा आंशिक क्षति पुगेको छ ।
यता बाह्रदशी–७मा ५३० हेक्टर क्षेत्रफलमध्ये ३३मा पूर्ण र १०० हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको छ । मकैपछि तरकारीबालीमा उल्लेख्य असर परेको छ । विभिन्न वडामा साना क्षेत्रफल भए पनि तरकारीबाली नष्ट हुँदा दैनिक आम्दानीमा निर्भर किसान प्रत्यक्ष मारमा परेका छन् ।

तरकारी बालीतर्फ बाह्रदशी–१मा १, बाह्रदशी–२मा २, वाह्रदशी–३मा ५, बाह्रदशी–४मा ३, बाह्रदशी–५मा २, बाह्रदशी ६ मा १ र वाह्रदशी–७मा २ हेक्टरमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार असिनासहितको वर्षा र हावाहुरीको दोहोरो प्रभावले बाली जोगाउने कुनै उपाय किसानसँग थिएन । फूल लागेको र गोडाइको अवस्थामा रहेका बालीमा असिनाले प्रहार गर्दा क्षति अत्यधिक भयो– केन्द्र प्रमुख विष्टले भने । स्थानीय तहहरूले प्रारम्भिक तथ्यांक संकलन गरिरहेका छन् भने राहत तथा पुनःस्थापनाका उपायबारे छलफल शुरु भएको छ ।

अन्य पालिकाको अवस्था पनि उस्तै

कचनकवल गाउँपालिकामा मकैसहित गहुँ र ड्रागन खेतीमा हावाहुरी र असिनासहितको वर्षाले क्षति पु¥याएको छ । सात वडामा विभाजित यो गाउँपालिकामा वडा नम्वर ६मा ड्रागन खेतीमा समेत क्षति पु¥याएको छ भने अन्य वडामा मकै र गहुँ खेतीमा ठूलो क्षति पु¥याएको छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार यहाँ ६० लाख ३० हजार रुपैयाँ बरावरको आंशिक र ६३ लाख ७५ हजार रुपैयाँ बराबरको बाली पूर्ण रुपमा क्षति भएको छ ।

यता बिर्तामोड नगरपालिकामा एक करोड १७ लाख बराबरको अांशिक र १ करोड ३५ लाख १२ हजार रुपैयाँ बरावरको पूर्ण रुपमा वालि नष्ट भएको छ । यहाँ कृषकले लगाएको मकै, फापर तरकारी, हावाहुरी र असिनासहितको वर्षाले नष्ट गरेको छ । यो पालिकामा १० वटा बडा छन् । हावाहुरी र असिनासहितको वर्षाको असर सबै वडामा परेको छ ।
उता दमक नगरपालिकामा ७ करोड २० लाख रुपैयाँ बराबरको आंशिक र २१ करोड ६० लाख रुपैयाँ बराबरको कूल क्षति भएको छ । यहाँपनि १० वटा वडाका कृषकले लगाएको बालीमा क्षति पुगेको हो । यहाँका कृषकमध्ये तरवारी र मकै खेतीवालीले धेरै क्षति व्यहोरेको छ ।

गौरादह नगरपालिकामा पनि हावाहुरी र असिनासहितको वर्षाले ठूलो क्षति पु¥याएको छ । यो पालिकामा ४२ लाख ३० हजारको अन्नवालीमा आंशिक क्षति हुँदा कूल क्षति भने १ करोड ७७ लाख मूल्य बराबरको भएको छ । यहाँ हावाहुरी र असिनासहितको वर्षाले मकै बालीमा क्षति पु¥याएको हो ।
हल्दिवारी गाउँपालिकामा मकै, तरकारी, फलफूल र फापर खेतीमा क्षति पुगेको छ । यो पालिकामा २ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको अन्नवालीमा आंशिक क्षति पुग्दा कूल क्षति भने ४ करोड ५५ लाल १० हजार रुपैयाँ वरावरको भएको बताइएको छ ।
कमल गाउँपालिकामा मकै, फापर, तरकारी, बालीमा हावाहुरी र असिनासहितको वर्षाले क्षति पु¥याएको छ । यहाँका ७ वटा वडामध्ये कृषकले लगाएको बालीमा ३ करोड ४० लाख २६ हजार ३ सय रुपैयाँ बरावरको आंशिक र कूल क्षति ३ करोड ४९ लाख ५९ हजार ९ सय रुपैयाँको भएको हो ।
हावाहुरी र असिनासहितको वर्षाले कनकाई नगरपालिकामा आलू, वोडी, टमाटर, काँक्रा, भेडे खुर्सानी सहितका वालीमा क्षति पु¥याएको छ । ४ र ७ नम्वर वडाका कृषकले लगाएको तरकारी बालीमा एक लाख ९४ हजार ४ सय रुपैयाँ बराबरको आंशिक क्षति र ५ लाख ३२ हजार ८ सय रुपैयाँ बराबर पूर्ण क्षति भएको बताइएको छ ।
झापा गाउँपालिकामा भने मकैसहित फलफूलका बिरुवा, केरा खेतीमा ठूलो क्षति पुगेको छ । सात वटा वडा रहेको यो पालिकामा ४५ करोड ८९ लाख ५१ हजार ६ सय रुपैयाँ बराबरको क्षति भएको छ । जसमा आंशिक क्षति ५३ करोड ३९ लाख २ सय रुपैयाँ बराबरको भएको हो ।

यता शिवसताक्षी नगरपालिकामा पनि हावाहुरी र असिनासहितको वर्षाले १२ करोड ९१ लाख १० हजार रुपैयाँ बरावरको कृषि क्षेत्रमा क्षति पुगेको छ । जसमा आंशिक क्षति २१ करोड ५४ लाख रुपैयाँ बराबर छ । ९ वटा वडा रहेको यो पालिकामा मकै सहित तरकारी, फापर र मौरीपालन व्यवसायमा समेत क्षति पुगेको हो ।

भद्रपुर नगरपालिकाको १० वटा वडामा हावाहुरी र असिनासहितको वर्षाले क्षति पु¥याएको छ । यहाँ मकै, लिची, खरबुजा, काँक्रा, तरकारी वालीमा ठूलो क्षति पु¥याएको हो । यहाँ एक करोड ९९ लाख ९८ हजार रुपैयाँको आंशिक क्षति र १६ करोड, ५१ लाख ८ हजार रुपैयाँ बराबरको कूल क्षति भएको कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्कमा उल्लेख छ । कृषि ज्ञान केन्द्र झापाले समेत कृषक नारायण सुवेदीले कृषि ज्ञान केन्द्र झापामा पेश गरेको निवेदन र प्रहरी मुचुल्काका आधारमा तयार गरेको बताइएको छ ।

बाली बीमा बाध्यकारी बनाउन ढकालको माग

झापा, चैत २६। हावाहुरी र असिनासहितको वर्षाले झापामा ठूलो क्षति पु¥याएपछि त्यहाँका कृषकको समस्या संघीय संसदमा उठाइएको छ ।

झापा क्षेत्र नम्बर ४बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शम्भुप्रसाद ढकाल ‘सुमन सुस्केरा’ले पीडित कृषकको पक्षमा आवाज उठाउँदै तत्काल राहत र दीर्घकालीन समाधानका उपाय माग गरेका हुन् ।

संसदमा बोल्दै उनले सरकारले प्रत्यक्ष क्षतिपूर्ति दिन नसके पनि मल, बीऊ, खेतालाको ज्याला धान्न सक्ने वा कम्तीमा परिवारको चुल्हो बल्ने गरी राहतको व्यवस्था गर्नुपर्ने बताएका छन् । साथै, कृषि मन्त्रीलाई क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्न आग्रह गर्दै कृषि उपज क्षतिमा राहतको स्थायी संयन्त्र विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

ढकालले भद्रपुरका कृषक खगेन्द्र महत्तोको २२ विगाहा क्षेत्रफलमा लगाइएको तरकारी खेती पूर्ण रूपमा नष्ट भएको प्रसंग उल्लेख गर्दै अहिलेको बीमा प्रणालीप्रति प्रश्न उठाए । क्षति हुने बालीमा बीमा कम्पनीले बीमा गर्न नमानेको अवस्था छ– उनले भने– अब अनुदानसहितको बाली बीमालाई बाध्यकारी बनाइनुपर्छ ।

उनले २०८० साल असोजमा आएको बाढीबाट धानबाली पूर्ण रूपमा नष्ट हुँदा समेत किसानले अहिलेसम्म राहत नपाएको तथ्य स्मरण गराए । लगातार विपद् झेल्दै आएका किसानहरू अहिले थप संकटमा परेको उनको भनाइ छ ।

धान जोगिएन, मकैले उकास्ला भनेर आशा गरेका किसान अहिले फेरि मारमा परेका छन्– उनले भने– मकै, केरा, तरकारी बेचेर ऋण तिर्ने र घरधन्दा चलाउने योजना बनाएका किसानले अब के गर्ने ? के खाने ? गाईबस्तुलाई के खुवाउने ? ढकालले कृषकहरू वर्षभरि दैनिक खर्चदेखि औषधि उपचार र छोराछोरीको पढाइसम्म उधारोमा चलाइरहेको उल्लेख गर्दै राज्यले तत्काल ध्यान दिनुपर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here