लक्ष्मीपुर , झापाको अर्जुनधारा–५ र कनकाई–८ मा रहेको लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

झापाको अर्जुनधारा–५ चारपाने उत्तर जाने बाटो पूर्व ओमचोकबाट पश्चिम बासबारी हुँदै कज्वेवाट दक्षिण र कनकाई–८ र ९ का सवै भाग, बिर्तामोड नगरपालिकाको हाइवे उत्तर र केही दक्षिणको भाग कार्यक्षेत्र रहेको संस्थाले आज (शनिवार) अर्जुनधारा–५ स्थित बिहीबारे बजारमा साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष नेत्रबहादुर नेपालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष नेपालले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा चालु आर्थिक बर्षको उपलब्धि र आगामी आर्थिक बर्षमा गरिने कार्यक्रम उनले प्रस्तुत गरेका थिए । अध्यक्ष नेपालको प्रतिवेदन अनुसार एक हजार एक सय ६६ धारा जडान रहेको र यस चालु आर्थिक बर्षमा २३४ थप गरी एक हजार ४ सय धारा जडान गरिएको छ । उनले संस्थाको ७ सुत्रिय नीति र ५ बुँदे चुनौतीहरु पनि प्रतिवेदनमा समावेश गरेर प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले लक्ष्मीपुर खानेपानी संस्था कनकाई र अर्जुनधारा नगरको भएकाले नगरबाट सक्दो सहयोग गर्ने आश्वसन दिए । यसअघि पनि नगरको तर्फबाट सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने उनले बताए ।
कार्यक्रममा कनकाई–८ का वडाध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष लीलाबहादुर कटुवाल, अर्जुनधारा–५ का वडाध्यक्ष गिताराज खड्का (हरि) सल्लाहकार समितिका तर्फबाट बृहस्पति उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष छविलाल खतिवडाले स्वागत गरेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष टेकबहादुर बस्नेतले आगामी आर्थिक बर्ष २०८२÷०८३ को अनुमानीत बजेट प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक पूर्णप्रसाद बेडारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन लेखा समिति सदस्य टेकनाथ अधिकारी (महेन्द्र) ले गरेका थिए । कार्यक्रममा संस्थाका जग्गादाता, सल्लाहकार समिति, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, संस्थाका कर्मचारी, उपभोक्ताको उल्लेखिय उपस्थिति रहेको संस्थाका सचिव बुद्धिसागर कट्टेलले जानकारी दिए ।































