भद्रपुर, २५ मङ्सिर । सिँचाइ मन्त्री दीपक गिरीले किसानको मुहार हँसिलो पार्न सरकारले सिँचाइमा विकास र विस्तार गरिँदै लैजाने बताउनुभएको छ ।
झापाको धाइजनस्थित हडिया खोला त्रिवेणी सिँचाइ आयोजनाको आज शिलान्यास गर्दै मन्त्री गिरीले मुलुकभरि कुल खेतीयोग्य जमिनको १९ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको बताउनुभयो । खाद्यान्नमा आत्मनिर्भर बनाउन किसानको खेतमा पानी पुग्नुपर्ने उहाँको भनाइ थियो ।
“जल र जमिनको समुचित उपयोगबाट नै राष्ट्र समृद्ध हुन्छ,” उहाँले भन्नुभयो । उहाँले देशभरको नदीनालाको जाँच गर्न प्राविधिक टोली गठन गर्न लागेको जानकारी दिनुभयो । बाइस जिल्लामा समृद्ध परियोजना लागू गरेको र नयाँ योजना समयमै सम्पन्न गर्न मन्त्री गिरीले निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।
सो अवसरमा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख डिभिजन इन्जिनियर ईश्वरी तिवारीले कुल रु दुई करोड ४३ लाखमा करिब ३० महिनामा निर्माण कार्य सम्पन्न हुने गरी याकथुमहाङ–लालीगुराँस–भगवती जेभी निर्माण कम्पनीले ठेक्कामा लिएको र सो योजनाबाट २४४ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने जानकारी दिनुभयो ।
यसैगरी, सिँचाइ मन्त्री गिरीले आजै जिल्लाको शान्तिगरस्थित टिमाई नदीले गरेको कटान र हडिया खोलाको निरीक्षण तथा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरको निरीक्षण गर्नुभएको थियो ।