दमकमा सासु–बुहारी मेलमिलाप कार्यक्रम

0
775

दमक।

झापाको दमक नगरपालिकाले सासु–बुहारीबीच बढ्दो असामञ्जस्ता अन्त्य गरेर पारिवारिक मिलमिलाप कायम गराउनका लागि सासु–बुहारी मेलमिलाप कार्यक्रम शुरु गरेको छ ।

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरेकी थिइन् । दमक नगरपालिका न्यायिक समितिको संयोजक समेत रहेकी अधिकारीले न्यायिक समितिमा सानो–सानो कुरामा सासु तथा बुहारीहरुको मुद्दा आउने गरेको बताउँदै त्यसलाई नै मध्यनजर गरेर यो कार्यक्रम शुरु गरिएको बताइन् । पारिवारिक बिखण्डन रोक्नका लागि प्रत्येक वार्ड र टोल–टोलमा पुग्ने गरी यो कार्यक्रम शुरु गरिएको उनले बताइन् ।

सासुले बुहारीलाई पनि छोरी सरहको व्यवहार गर्न र बुहारीले पनि सासुलाई आमा सरहको व्यवहार गर्न अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । घरबाट निस्कदा नसोधेको र आफ्नो बिचार नमिलेको भन्दै परिवार नै बिखण्डन हुनेसम्मको अवस्था भेटिएको बताउँदै उनले परिवार बिखण्डन हुनुमा छोराको समेत भूमिका हुने भए पनि यो बिषयलाई भने गौण राख्ने गरिएको बताइन् ।

नयाँ नीति तथा कार्यक्रम र बजेटमा समेत उक्त कार्यक्रमलाई सहभागी गराइने बताउँदै उनले समाजबाट अपहेलित ज्येष्ठ नागरिक र आमाहरुका लागि बृद्धाश्रमलाई प्रवद्र्धन गर्न नदिनका लागि समेत यो कार्यक्रम शुरु गरिएको बताइन् ।

कार्यक्रम संयोजक एवम् दमक नगर कार्यपालिका सदस्य भक्ता दाहालले प्रत्येकको घरमा अभियान पुर्याउने लक्ष्य रहेको जनाइन् । सासु र बुहारीबीचको सम्बन्ध सुधार र एकअर्काप्रतिको अविश्वासलाई कम गर्न परामर्श कार्यक्रमलाई प्राथमिकता दिइने समेत उनले बताइन् । उनले सामान्य कुराहरुमा समेत हुने पारिवारिक बिखण्डन रोक्नका लागि नगरपालिकाको अभियान रहेको बताइन् ।

कार्यक्रममा सहभागी ७६ बर्षीया गीतादेबी पोखरेलले सासु र बुहारीबीच सम्बन्ध सुधार गर्नका लागि नगरपालिकाले थालेको कदम सराहनीय भएको बताइन् । उनले आफूले कहिल्यै पनि बुहारीलाई बुहारीको रुपमा नहेरेको जनाउँदै छोरीको रुपमा हेरेकाले परिवारमा अहिलेसम्म समस्या नआएको पनि बताइन् । ‘हामी आफैबाट सुधारको प्रयास गर्नुपर्छ र ब्यवहार परिवर्तन गर्नुपर्छ’ –उनले भनिन् ।

कार्यक्रम अन्तर्गत उत्कृष्ट सासु र बुहारी छनौट गरेर सम्मान गरिने समेत बताइएको छ । बिभिन्न ज्येष्ठ नागरिक संघ–संगठनहरुलाई समेत यसमा परिचालन तथा सहयोग गरिने नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here