धान धेरै फलेर बिक्री नभएपछि…

0
734

दमक।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत झापाको बनियानी क्षेत्रमा किसानहरुले लगाएको बोरो धान (चैते)मा हावाहुरी र असिनाले ठूलो क्षति पुर्याएको छ ।

धान पाकेर खेतमा नै झर्ने अवस्था आए पनि बजारको समस्याका कारण नकाटिएकाले यस्तो अवस्था आएको किसानहरुले बताएका छन् ।

बनियानीकी मेनुका ढुंगानाले आफूहरुले सामुहिक रुपमा गरेको धानखेतीमा ठूलो क्षति पुर्याएको बताइन् । पाकेर काट्न तयार भएको धानमा क्षति भएपछि आफुहरुलाई लगानी पनि नउठ्ने चिन्ता भएको उनले बताइन् । ‘बिहान आएर धान हेर्दा बिरक्त लागेर आयो’ –ढुंगानाले भनिन्– ‘बजारको समस्या नभएको भए केही दिनअघि नै धान काटेर बिक्री भइसकेको हुन्थ्यो र यस्तो अवस्था आउने थिएन ।’

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत किसानहरुले लगाएको धान मिलहरुले लिन नमानेका कारण खेतमा नै रहेको करिब २० देखि ३० प्रतिशत धान हावाहुरी र असिनापानीले नष्ट गरिदिएको धान सुपरजोन सञ्चालक समिति अध्यक्ष नबराज भट्टराईले बताए ।

गत बर्षहरुमा भन्दा यो बर्ष अधिक धान फलेर किसानहरु दंग भएको अवस्थामा यो क्षतिले चिन्तित बनाएको उनले बताए । आधुनिक उपकरण र प्रविधिको प्रयोग तथा सोलार सिँचाइका कारण विगतमा भन्दा दोब्बर धान फलेको तर बजार नभएकाले खेतमा नै धान नष्ट हुने अवस्था आएको पनि उनले बताएका छन् । ‘हावाहुरीले ३० प्रतिशतसम्म नष्ट गर्यो बाँकी रहेको पनि नबिकेर समस्या रहेको छ’ –उनले भने ।

गत बर्षभन्दा मूल्य पनि २० प्रतिशतभन्दा कम रहेको पनि भट्टराईले बताए । गत बर्ष यो समयमा दुई हजार दुई सय प्रति क्वीन्टल बिक्री भएको धान यो बर्ष स्थानीय काँटावालहरुले एक हजार छ सय ५० रुपैयाँमा समेत लिन नमानिरहेको उनले बताए । मिलहरुले धान सुकाउने ड्रायर मेशिनको क्षमता अनुसार मात्र धान लिनका लागि कोटा छुट्याएपछि समस्या आएको बताइएको छ ।

धान सुपरजोनका कृषि विकास अधिकृत सागर बिष्टका अनुसार हावाहुरी र असिनाले धानमा ठूलो क्षति पुगेको छ । किसानहरुले क्षतिको विवरण टिपाएपछि क्षतिको मूल्याङ्कन र निरीक्षण गरिरहेको बिष्टले बताए । काट्न तयार भएको धानहरुमा धेरै क्षति पुगेको पाइएको बताउँदै उनले हरियो धानमा कम क्षति भएको र पाकेको धानमा धेरै क्षति भएको बताए ।

बर्षायाममा उत्पादन हुने चैते धान सुक्खा बनाउने र भण्डारण गर्ने व्यवस्था नहुँदाको परिणाम आफूहरुले क्षति व्यहोर्नु परेको किसानहरु बताउँछन् । धान सुपरजोनमा सरकारको सहयोगमा धान सुख्खा बनाउने आधुनिक ‘ड्रायर मेसिन’ सहितको सेलरमिल बनाउने बताए पनि अहिलेसम्म यो गर्न नसकिएको धान सुपरजोनका बरिष्ठ कृषि विकास अधिकृत धनबहादुर थापाले बताए ।

‘हामी यहाँ आसपासमा रहेका मिलहरुसँग समन्वय गरेर किसानको धान लिइदिन आग्रह र समन्वय गर्दै आएका छौं’ –थापाले भने । धान सुपरजोन कार्यान्वयन इकाइ बनियानीका अनुसार किसानहरुले करिब एक हजार आठ सय बिगाह खेतमा हिउँदे धान लगाएका छन् । प्रति बिगाह एक सय २० मनभन्दा बढि धान फलेको किसानहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here