नारीप्रति पुरुषले हेर्ने दृष्टिकोणमा परिवर्तन जरुरी

0
1096
संस्कृति रिजाल,

परिवर्तित समय, परिवर्तित सोच, परिवर्तित चिन्तन, परिवर्तित विचारले हाम्रो जीवनशैलीमा ल्याएको परिवर्तनलाई हामी नकार्न सक्दैनौं । हाम्रो समाज एकाइसौं शताब्दीमा आइपुग्दा समाजले धेरै फड्को मारिसकेको छ । हिजोको ढुङ्गे युगबाट समाज परिस्कृत भएर यहाँसम्म आइपुग्दा मात्र हामी मानव भएका छौं । शताब्दीऔं अघिको समाज र वर्तमान समाजमा आकाश पातालको फरक छ । सामाजिक परिवर्तन सँगै मान्छेको सोचाइ र बौद्धिकतामा पनि आमूल परिवर्तन आइसकेको छ । यसलाइ हामीले कसरी उत्कृष्ट र मर्यादित बनाउने भन्ने विषय हाम्रो मानसपटलमा जटिल प्रश्नको रुपमा रहेको छ ।

नेपाली समाज हिजोको ढुङ्गे युगबाट यहाँसम्म परिवर्तन भएर आइपुग्दा पनि नारी प्रतिको पितृसत्तात्मक सोच भने ज्यूँ का त्यूँ छ । नारीहरु संकुचित सोचको घेराबन्दीबाट उम्कन सकेका छैनन् । बेलाबखत नारी हकअधिकार र उन्मुक्तिका कुरा गरे पनि समयले जतिसुकै फड्को मारे पनि नारीहरु पितृसत्तात्मक अवस्थाबाट माथि उठ्न सकेको अवस्था देखिँदैन ।

परापूर्वकालदेखि पुरुष प्रधान समाजमा नारीहरु पुरुषार्थको सिकार भइरहेका छन् । हरेक तबरले कमजोर छन् नारीहरु भन्ने नराम्रो सोचको खोल ओढेको छ समाजले । विगतमा भन्दा वर्तमानमा नारी समानताका निम्ति केही पहल भएता पनि ती केवल अक्षरहरुमा मात्र सिमित छन् । नारी समानताका निम्ति न्यायोचित रुपमा नीति निर्माण हुन भने सकेको छैन ।

नारीप्रति पुरुषले हेर्ने दृष्टिकोण नै साँघुरो रहेको देखिन्छ । समाज बदलियौं, व्यवस्था बदलियौं तर नारीप्रतिको दृष्टिकोण बदलिएन । विकसित देशहरुमा महिला र पुरुषबीच कुनै प्रकारको विभेदीकरण गरिँदैन । तर, नेपालको सन्दर्भलाई जोड्ने हो भने आज पनि नारीहरु सामाजिक, सांस्कृतिक, परम्परागत, आर्थिक, बौद्धिक हिसाबले शोषित बनिरहेका छन् । कु–संस्कारको जन्जिरभित्र जडकेर विगतमा नारीलाई जिउँदै मार्ने नेपाली समाजले आज पनि उन्मुक्ति र स्वतन्त्रताको श्वास फेर्न दिएको छैन ।

भाषण र सिद्धान्तमा नारीवादी कुरा गर्ने ठूला ओहोदाका मान्छेहरुको नारीप्रतिको सोच नै संकुचित छ । जहाँ नारी र पुरुषबीच विभेद गरिँदैन, उस्तै सामाजिक अधिकार दिइन्छ । त्यहाँ सामाजिक, आर्थिक रुपले महिला पुरुषको समान सहभागिता र बाहुल्यता हुन्छ । तर, अरु देशको तुलनामा हाम्रो देश भने निकै पछाडि परेको छ । यसको प्रमुख जड यहाँको असमानता र राजनीतिक अस्थिरता हो । नेपालको आधा जनसंख्या महिलाले ओगटेका छन् । तर, हरेक तह र पदमा ८० प्रतिशतभन्दा बढी पुरुषकै बाहुल्य छ । राज्यले आरक्षणको रुपमा केही प्रयास नगरेको पनि होइन, तर नीति–निर्माण र तहमा पुरुष कै हालीमुहाली रहेको छ ।

वास्तवमा महिलाहरु सामाजिक, आर्थिक, राजनीतिक लगायत सबैजसो क्षेत्रमा भेदभावपूर्ण व्यवहार भोगिरहेका छन् । महिलामाथि हुने हिंसा, बेचबिखन, बलात्कार, अपहरण लैंगिक विभेद र शोषणजस्ता विकृतिबाट आज पनि महिलाहरु पीडित भएर बाँचिरहेका छन् । परम्परागत कु–संस्कार छोरा र छोरीबीच गरिने भेदभावले पनि यो कुरीतिको जड उखेलिन सकेको छैन । महिलाहरुले पुरुषसरह मजदुरी गर्दा समान ज्याला पाउँदैनन् ।

शारीरिक बनावटको भिन्नताका कारण उनीहरु बीच रुप, भाव, शक्ति, सामथ्र्यमा भिन्नता आएको हो । तसर्थ, शारीरिक बनावटको भिन्नताको कारण महिला माथि हुने भेदभावको अन्त्य हुनुपर्छ । विगतमा सतीप्रथाको नाममा आफ्नो श्रीमान्को चितासँगै जिउँदै जलेर नारीहरुले मर्नुपथ्र्याे ।

सतीप्रथाको अन्त्य भए पनि नेपालमा छाउपडी प्रथा, बोक्सी प्रथा, छुवाछुत, कुमारी प्रथा, दाइजो प्रथा, बालविवाह अझै अशिक्षित ठाउँहरुमा छन् । छाउ भएको बेला १३–१४ बर्षको बालिका हुँदादेखि छाउघरमा बस्नुपर्ने पीडाबाट आज पनि नेपालका पश्चिमी भेगका महिलाहरु गुज्रिरहेका छन् । महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने चलन नेपाली समाजमा बिद्यमान छ ।

समानताका खोक्रा भाषणले मात्र नारी स्वतन्त्रता जन्मिदैन, बिगुल फुकेर मात्र हुँदैन, व्यवहारिकतामा लागू हुनुपर्छ । दाइजो नल्याएको, छोरा पाउन नसकेका, चरित्र राम्रो नभएको जस्ता आरोप लगाउँदै महिलाप्रति अमानवीय व्यवहार गरिन्छ । यौन व्यवसाय, सर्कस लगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा बर्षेनि लगभग पाँच हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदै आएको छ । त्यस्तै रोजगारीका लागि खाडी लगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रुपमा काम गर्ने महिलाहरुको शोषण पनि बेला–बेलामा सार्वजनिक हुने गरेका छन ।

नारी शोषणविरुद्ध नारी उन्मुक्तिका निम्ति नेपालमा भएका इतिहासका प्रयासलाई हेर्दा, १९७७ सालमा चन्द्र शमशेरले सतीप्रथाको अन्त्य गरे । पितृसत्ताले महिला जैविक हिसाबले कमजोर हुने भनी व्याख्या गरियो । बौद्धिक हिसाबले पनि दोस्रो तहमा राख्ने भनी व्याख्या गरियो । राजनीतिमा बाध्य, आर्थिक गतिविधिमा होइन, घरेलु र अनुउत्पादक ठाउँमा सिमित गरिँदै लगियो । मताधिकार लगायतबाट वञ्चित गरियो ।

क्रमशः मताधिकारको माग गर्दै सन् १९०८ मा संगठित महिलाहरुले आन्दोलनको शुरुवात गरे । सन् १९१७ ताका रुसमा गाँस र बासको नारा थपेर अरु आन्दोलनको उठान भयो । त्यसरी नै अन्तर्राष्ट्रिय महिला आन्दोलनको रुप ठूलो बन्दै गयो । अन्ततः सन् १९१० मा क्लारा जेडियन रोजालग्ज वर्गको अगुवाइमा कोपेनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने निर्णय ग¥यो ।

नेपालमा सन् १९७५ देखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आइएको छ । नेपालमा महिला समस्या र समाधानलाई बुझ्ने सम्बन्धमा पुरातनवादी दृष्टिकोण महिलाहरु प्राकृतिक हिसाबले कमजोर छन् । दोस्रो दर्जाका हुन् भन्ने मान्यता राख्दछन् । उनीहरु महिला समानता र अधिकारको कुरा गर्न अनावश्यक ठान्ने गर्दछन् । नेपालको सन्दर्भमा महिला समस्या र समाधानको सन्दर्भमा समानुपातिक, समावेशी ब्यवस्था, महिला मुक्ती आन्दोलनमा नयाँ आयाम समेत थपेको छ ।

महिलाहरुको समस्या समाधान गर्न महिलाले मात्र पुग्दैन र महिला स्वयम् सहभागी नभएर पनि हँुदैन भन्ने सिद्धान्त लागू हुनुपर्छ । हाम्रो देश नेपालमा अन्तर्राष्ट्रिय नारी दिवस अहिलेसम्म पनि केही सहरी महिलाहरु बीच सिमित रहेको छ । ग्रामीण परिवेश र शिक्षाको उज्यालोबाट वञ्चित नारीहरु माझ नारी दिवसले कुनै प्रभाव पार्न सकिरहेको छैन ।

राजनीतिक परिवर्तन भए पनि आज महिला उत्पीडन भयावह अवस्थामा रहेको छ । मातृशक्तिलाई राज्यले हरेक तह र तप्कामा पुरुष सरह समान हकअधिकारको ग्यारेन्टी गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता नेपालले महिलाबिरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अनुमोदन गरिसकेको छ । पक्ष राष्ट्र भएका कारण महासन्धिमा उल्लेखित सबै प्रकारका प्रावधान पालना गर्नु राज्यको दायित्व हो । नेपालको संविधान २०७२ ले महिलाहरुलाई थुप्रै हक अधिकारको व्यवस्था गरेको छ ।

संविधानको मौलिक हक अन्तर्गत धारा ३८ को महिला हकमा प्रत्येक महिलालाई लैंगिक भेदभाव बिना समान वंशीय हक हुने, महिलाले सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक हुने, महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक हिंसाजन्य कार्य वा शोषण गर्न नहुने, यदि त्यस्तो कार्य भएमा कानून बमोजिम दण्डनीय हुने र पिडितलाई कानून बमोजिम क्षतिपूर्ती पाउने हक हुनेछ भन्ने व्यवस्था रहेको छ ।

तर, नेपाली महिलालाई गरिने थिचोमिचो अन्त्य भने हुन सकेको छैन । त्यसैले नारी माथिको हिंसा अन्त्यका निम्ति नारीले नै आवाज उठाउनुपर्छ । आफ्नो स्वतन्त्रता र अधिकारका निम्ति जुट्नुपर्छ । महिला अधिकार कागजी दस्तावेजमा मात्र होइन व्यवहारिकतामा पनि सुनिश्चित हुनुपर्छ । जबसम्म अन्धविश्वासी समाजले नारीहरु माथी जबरजस्ती लादिएका कु–प्रथाको अन्त्य हुन सक्दैन अनि स्वयम् नारीहरु बन्द पर्खालभित्रको चार किल्लालाई तोडेर बाहिर आउन सक्दैनन् तबसम्म नारी मुक्ती र परिवर्तनका बाटाहरु सम्भव छैनन् ।

जसरी अहिले आएर सतिप्रथा, सुसारे प्रथा जस्ता कु–प्रथाहरुको उन्मुलन भयो त्यसरी नै नारी माथी लादिएका सबै कु–प्रथा र शोषणको अन्त्य हुन जरुरी छ । तब मात्र नारी मुक्ती र परिवर्तनका बाटाहरु सम्भव छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here