क्रान्ति, जीवन र धर्म

0
713

हामी सामान्यतया क्रान्ति भन्नाले हत्या, हिंसा, तोडफोड, रगत र बलिदानलाई सम्झन्छौं । यो बुझाइ एकांकी, मनोगत र हरेक समस्याको समाधान जबरजस्ती, दबाब र बल प्रयोगमा मात्र देख्ने धारणाबाट ग्रस्त छ । यथास्थितिमा रहेका जनविरोधी संरचना र मानवताविरोधी प्रावधानका बदलामा समतामूलक र समानतासहितको समाज निर्माणका लागि तयार गरिएको कार्यदिशा र कार्यभार सम्पन्न गर्नु क्रान्ति सम्पन्न गर्नु हो ।

वर्गीय रुपमा उत्पादनका साधनमाथिको फेरबदललाई क्रान्ति मान्न सकिन्छ । वास्तवमा क्रान्ति भनेको आमूल परिवर्तन हो, यो क्रमिक सुधार होइन, यो फड्के बदलाव हो । मानिसले बद्लिएको संसारमा रुपान्तरण हुन जसरी जरुरी छ, त्यसरी नै समाज बदल्न आमूल रुपान्तरण अति आवश्यक छ । यसका लागि आफूभित्र आगो बाल्न जरुरी छ । आफूभित्रका दम्भ, अहंकार, अभिमान, लोभ, चुक्ली, षडयन्त्रका धुस्नोलाई आगो झोस्न जरुरी छ । आफूभित्रका पुराना, सडेगलेका कुसंस्कारलाई जलाउन जरुरी छ ।

हाम्रो जीवन उत्सवले भरिएको छ । जन्मिदा पनि उत्सव, सफलतामा पनि उत्सव, बिहेमा पनि उत्सव, मर्दा पनि उत्सव । हाम्रो जीवन रंगीन फूलहरुले भरिएको छ । जन्मोत्सवमा फूलको माला, बिहेमा फूलको माला, सफलतामा पनि फूलको माला, स्वागतमा फूलको माला, बिदाइमा पनि फूलको माला, मृत्युपछिको अन्तिम बिदाइमा पनि फूलको माला । हाम्रो जीवन दीपहरुले भरिएको छ । पुष्पोत्सव, दीपोत्सव, जन्मोत्सव, मृत्योत्सव अनगिन्ति उत्सवहरुले भरिएको छ जीवन । तर, पनि हामी बेला–बेलामा निराश हुन्छौं । जीवनको अस्तित्व जति सत्य हो, त्यति नै सत्य हो जीवनको मरणशीलता पनि । सफलता वा असफलता त सापेक्ष सोचाइ मात्र हो । नयाँ मानव बनेर मात्र नयाँ संसार बन्न सक्छ ।

सदैव पुरातन र नुतनकाबीच संघर्ष चलिरहन्छ । गलत संस्कारलाई आगो लाउन त्यति सजिलो छैन, जति भन्न सजिलो छ । गलत संस्कारलाई आगो लगाउन सजिलो हुँदो हो त नेपालीहरुले आज बेग्लै सुन्दर नेपालमा बस्न पाउँने थिए । गलत संस्कारलाई आगो लगाउन सजिलो हुँदैन ।

जीवन आशा र निराशाको संगम हो । जीवनको लक्ष्य के हो ? मानवताको सेवा हो कि आफ्नो जीवनमा सुख हो ? जीवन के हो ? यी प्रश्नका उत्तर धर्मपिच्छे फरक छन्, राजनीतिपिच्छे फरक छन्, जातपिच्छे फरक छन् र देशपिच्छे फरक छन् । जीवनका तनावबाट मुक्ति, दुःखबाट मुक्ति मानव मात्रले खोजेको मुक्ति हो । हामी विशुद्धता चाहन्छौं, हाम्रा तमाम समस्याबाट उन्मुक्ति चाहन्छौ हामी । हाम्रा गलत संस्कारहरुलाई कायम राखेर, हामीभित्रका विकृतिलाई कायम राखेर मुक्ति कसरी सम्भव छ ? धर्मका नाममा, जातिका नाममा, संस्कृतिका नाममा, राष्ट्रियताका नाममा र राजनीतिका नाममा हामी गलत संस्कार पछ्याउन अभिषप्त छौं, हामी गलत कुरालाई ठीक हो भन्न विवश छौं ।

आफ्नो नेताले गलत भने पनि ठीक, अर्को दलको नेताले सही भने पनि गलत, आफ्नो धर्मका गुरुले गरेको गलत काम पनि सही, आफ्नो संस्कृतिमा भएका गलत प्रथा पनि ठीक भन्न हामी अभ्यस्त छौं । यो संसारमा सफल को हो, असफल को हो ? पद, प्रतिष्ठा, पैसा, शक्ति, परिवार, स्वास्थ्य र समृद्धि क्षणिक हुन् । हजारौं लाखौं वर्षअघिका भीमकाय डायनोसर, म्यामथ हात्ती आदि आज केबल इतिहास भएका छन् । समयका सामु ती सबै तुच्छ भएका छन् आज । तर, केही मानिस सदैव बाँचिरहन्छन् मानव इतिहासमा ।

परिवार, समाज, राष्ट्र र मानवजातिका लागि केही गर्ने मरेर पनि अमर हुने र सदैव मानवजातिको मनमष्तिष्कमा बाँचिरहने सत्य हो । मानवमुक्तिको प्रमुख आधार भनेको आमूल रुपान्तरणका लागि आफूभित्रका बन्द ढोकाहरु खोल्नु हो । आफूभित्र नुतनताको प्रवेश गराउनु भनेको आफूभित्र आगो बाल्नु हो, आफूभित्र दीप जलाउनु हो, आफूभित्र फूल फुलाउनु हो । आमूल परिवर्तन सम्भव नभएपछि मानिस क्षणिक मुक्तिमा लाग्छ । त्यो हो मनोरञ्जन । मनोरञ्जनले मानिसलाई बदल्ने होइन, वर्तमान यथार्थलाई केही समयका लागि भुलाउने हो । मनोरञ्जनमा सरिक हुनु भनेको आफ्ना चिन्ता, सरोकार, वेदना र दर्दलाई केही समय पर धकेल्नु हो । मानव सभ्यता भनेको नयाँको खोजी मात्र होइन, मनोरञ्जनको व्यवस्थापन पनि हो । मानिस आफ्ना दुःख बिर्सन चाहन्छ ।

मनोरञ्जन अस्थायी समाधान हो । पुरातन, रुढीग्रस्त राज्यव्यवस्थाले सृजेका अंकुशले च्यापिएको मानव सभ्यता मानवको अमानवीकरणको नग्न यथार्थको भुँवरीमा छ र यस्तो विषम परिस्थितिमा क्रान्ति फगत सपना लाग्छ, विद्यालय र विश्वविद्यालयका डिग्री धारण गरेर पनि अशिक्षित रहेको समाजको कारुणिक दृश्यमा अक्करिला चट्टानी उकालोको बिम्ब भेटिन्छ । मानिस चेतनसँग डराउँछ, अवचेतनका लागि र आफूलाई भुल्नका लागि मनोरञ्जनको शरणमा जान्छ ।

गीत, नृत्य, फिल्म, यौन, रक्सी यी सबै आफूलाई भुल्न गरिन्छन् र नजानिँदो गरी चेतनको विलोप र अर्धचेतन वा अवचेतनको प्रविष्टि हुन्छ हृदयमा र कमजोर हुन्छ मस्तिष्क । हुन त कलालाई समाज परिवर्तनको अचूक हतियारको रुपमा पनि लिइन्छ । समस्त विश्वका लागि आलोचकीय दृष्टिकोण राख्नु भनेको रुढीवादी समाजको कोपभाजनमा पर्नु हो । गरिँदै आएको कामभन्दा, सोचिँदै आएको विचारभन्दा फरक दृष्टिकोण राख्दा समाजमा रहेका परम्परावादी ताकतको सुखसयलमा धक्का पुग्छ र क्रान्तिको आगो निभाउन पुरातन राज्यसत्ताका हिमायतीहरु लागी पर्छन् ।

फरक बोल्नेहरु सांग्लामा बाँधिन्छन्, देशनिकाला गरिन्छन् र उनका सपनाहरु थिल्थिल्याइन्छन् । जीवन सुन्दर छ, यसलाई असुन्दर बनाउने त समाज हो, समाजलाई कुरुप बनाउने हाम्रो समाजमा रहेका गलत संस्कार, सोच, विचार र व्यवहार नै हुन् । मानवजातिले सम्पूर्णतामा मुक्ति खोजेका हुन् । अलिकति खेलतमासा, अलिकति हाँसो, अलिकति मनोरञ्जन नै जीवन भएको छ अहिलेका लागि । यो संसार फूलबारी हो, जहाँ सयौं थरी फूलहरु खिलखिलाउँछन् र सुगन्ध छर्दै आनन्द छर्छन् वातावरणमा । यदि सुन्दर, मनमोहक वातावरण बिगारिन्छ भने कमजोरी त बगैंचाको होइन, दोष त फूलहरुको पनि होइन ।

संसारमा ज्यादै थोरै मानिस छन्, जो मर्ने बेलामा आफूले जीवनमा गरेका कामबाट सन्तुष्ट हुन सकुन् र भन्न सकुन् मानवताका लागि मैले सकेको काम गरें । मानिसमा अनन्त सम्भावना हुन्छ, अनन्त योजना हुन्छन्, तर ती पूरा गर्न ऊ असमर्थ हुन्छ, किनभने ऊ आफूभित्रका, आफ्ना समाजभित्रका र आफ्ना पहुँचभित्रका कुसंस्कारले ग्रस्त हुन्छ र अभिषप्त छ फोहोर बोकेर हिँड्न । मानिस बुझ्दैन– आफूसँग दुर्गन्ध बोकेर जतिसुकै टाढा गए पनि गन्हाउन छोड्दैन । आम मानिस निद्रामा हिँड्ने हुन्छन् र थोरै मात्र सार्थक सपना देख्छन् । परिवर्तनका लागि जिजसले सपना देखे, गौतम बुद्धले सपना देखे र श्रीकृष्णले सपना देखे । जतिबेला उनीहरुले सपना देखे, राज्यसत्ता उनीहरुको विरुद्धमा उभियो । जतिबेला उनीहरु समाजमा स्थापित भए, तब उनीहरुलाई देवत्वकरण गरियो, मूर्तिमा उनीहरुलाई अवतरित गरियो, जडतामा उनीहरुलाई ढालियो र उनीहरु केबल पारम्परिक रुढीका रुपमा उभ्याइए । उनीहरु आफूलाई भगवान नबनाऊ भन्दै गए, तर उनीहरु पुजिँदै गए, फलस्वरुप हर उत्सव, हर पर्व र हर मौसममा उनीहरुको चित्र सजाइयो । उनीहरुको भनाइ के हो भन्दा पनि उनीहरुको पूजा गरियो, धर्मका पुस्तकको पूजा गरियो । पुस्तक–पुस्तक नभएर पुजिने वस्तु भयो । संसारको परिवर्तनका लागि योगदान गर्नेहरुलाई मनोरञ्जनका मुख्य पात्रका रुपमा जोडियो ।

हृदय र मस्तिष्क दुवैले परिचालित हुन्छ मानव । सुख्खा, बेरसिलो र हाँसो बेगरको मात्र जीवन हुन्छ भन्ने होइन । धर्म विरुद्धमा, राजनीति विरुद्धमा, यथास्थिति विरुद्धमा र मानव जातिको सम्पूर्ण अमानुषी विगतको विरुद्धमा उभिएर जब आवाज मुखरित हुन्छ, मानवजाति आमूल रुपान्तरणको बाटोमा लाग्छ तर जब मनोरञ्जनको बाटोमा लाग्छ, तब ऊ क्षणिक उन्मुक्तिको लागि क्रियाशील भएको हुन्छ । तब त मानव जातिको इतिहास मनोरञ्जनको इतिहास हो, स्वतन्त्रता प्राप्ति हेतु संघर्षको इतिहास हो र आत्मसम्मानको लागि बिना शर्त गरिएको परिवर्तनप्रतिको उत्कट चाहनाको इतिहास हो । के गरोस्–मानिस तुच्छतामा रमाइरहेको छ, तर रमाउनु नै जीवन हो । जीवन छोटो छ, रमाएर जीवन बिताउनु जीवनका दुःखबाट मुक्तिको सजिलो उपाय हो । तर, यसबाट सम्पूर्ण मानवजातिको मुक्ति सम्भव छैन ।

आज हामी एक्काइसौं शताब्दीमा बाँचिरहेका छौं । यसको अर्थ विज्ञान, प्रविधि र समाजविज्ञानका क्षेत्रमा भएका अभूतपूर्व बदलावहरुको फाइदाका बीच हामी बाँचिरहेका छौं । हामीले कुनै पनि क्रान्ति नभएको भ्रम पाल्नु हुँदैन र सबै क्रान्तिहरु सम्पन्न भइसके भनेर पनि ढुक्क मान्नु हुँदैन । हाम्रो जीवन प्राप्त उपलब्धीहरुको उपयोग गर्दै नवीनतम खोजको पक्षमा सदैव लागिरहेको हुन्छ र क्रान्तिलाई पनि हामीले त्यही अर्थमा बुझ्नुपर्छ । हाम्रो जीवन फूल जस्तै हुन्छ, तर क्रान्तिका लागि आफूभित्रका तमाम विकृति र विसंगतिका विरुद्ध संघर्ष गर्दै वा यथास्थिति र पश्चगमनका धुस्नोलाई आगो झोस्दै जीवनवादी र जीवनमैत्री परिवर्तनका लागि क्रान्ति अनिवार्य हुन जान्छ ।

क्रान्ति र मानव स्वतन्त्रताका वीच नङमासुको सम्बन्ध हुन्छ र लोकतान्त्रिक मूल्य–मान्यतासहितको स्वतन्त्रताका लागि नै क्रान्ति हुने सर्वस्वीकार्य तथ्य हो । आफ्ना गलत सोच र संकीर्ण चिन्तनका विरुद्ध आगो लगाउनेले मात्र क्रान्तिको कार्यभार पूरा गर्न सक्छ किनभने क्रान्ति भनेको समाज परिवर्तन मात्र होइन, व्यक्तिमा आउने मानवता पक्षधर सकारात्मक परिवर्तन पनि हो । तसर्थ जीवनकेन्द्री परिवर्तनका लागि चालिने पाइलाको गन्तव्य नै क्रान्तिको पूर्णता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here