मानवता मरेकै हो त !

0
973

पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको विभत्स हत्याको घटनाले देख्ने, सुन्ने र पढ्ने सबैको मन भयग्रस्त बनेको छ । सेवा, उपकार र सहयोगलाई साँचो धर्म मान्ने वैदिक, किरात र बौद्ध संस्कृतिका अनुचरहरुका लागि यो घटनाले आहात पुर्याएको हुनुपर्छ । प्राणी मध्येको सर्वश्रेष्ठ भनिने मानिसबाटै भएको यो कायरतापूर्ण, अमानवीय र हिंस्रक घटनाले नेपालीलाई सशस्त्र द्वन्द्वको सम्झना गराएको हुनसक्छ ।

यतिका मानिसलाई कोठामा थुनेर गरिएको हत्याले बिर्सिसकेको कोत पर्व र भण्डारखाल पर्वको इतिहासलाई पुनजीर्वित गर्न झस्काएको छ । सोमबार राति आरुबोटेका चौहत्तर वर्षीय बमबहादुर फियाकको परिवारका चार जना र उनकै ज्वाइँ घनराज सेर्माका परिवारका पाँचजनाको हत्या भयो । सामुहिकरुपमा गरिएको विभत्स हत्याले मानिस उसको विशिष्टताबाट कसरी च्यूत हुँदैछ भन्ने देखाएको छ ।

‘मेरो पाइतालाले किरा नमरोस्’ भन्ने पूर्वीय दर्शनको आदर्श हो । यही आदर्शलाई आत्मसात गर्नेहरुमध्ये पर्छन् सायद यो नरसंहारका भयानक नाइके । हत्यारा को हो, त्यसको जवाफ प्रहरीका खोजमा संलग्न इकाईहरुले देलान् अथवा अनुसन्धानको प्रतिवेदनले देखाउला तर मानिसको मन काम्ने, हृदयलाई छिया–छिया पार्ने, आतंकित र त्रासदपूर्ण बनाउने सामुहिक नरसंहारको यो घटना मानव जातिको अस्तित्व माथिको कलंक हो । अझ सनातन वैदिक संस्कृति अथवा ऊँकार परिवारभित्रका हौं– भन्नेहरुको आदर्श र मर्यादा विपरीत पाषण, निर्विवेकी, निष्ठुर र आसुरी शक्ति भएको मानव सभ्यताबाट स्खलित भएको दृष्टान्त हो यो नरसंहार ।

आज मानिस किन स्खलित भइरहेको छ आदर्शबाट ? किन च्यूत भइरहेको छ मानवीय मूल्य र मान्यता ? यसको जवाफ दिन सक्ने जनताका अभिभावक चाहिएको छ मुलुकलाई । अभिभावक जसले सम्पूर्ण नेपालीलाई मानवताभित्रबाट पनि नेपाली जातिको विशिष्ट पहिचानसहितको उदार, मनकारी, हार्दिक, सहिष्णु, सद्भाव र प्रेमिल जातिका रुपमा सुरक्षित राख्न सकोस् । झण्डै दुई दशक अघि भएको दरबार हत्याकाण्ड, माओवादी सशस्त्र द्वन्द्वको नाममा भएका हत्याका श्रृंखला वा पाँचथरमै यसअघि भएको सामुहिक नरसंहार सबै मानवताविरोधी क्रियाकलाप हुन् । कुनै नाम वा पुच्छर जोडेर ती हत्याका घटनालाई सामान्य, भवितव्य, भुलबस अथवा आकस्मिक भनेर ढाकछोप गर्न सकिँदैन । त्यही सिलसिलामा जोडिएको नौजना र त्यसमा परेका अबोध बालिकाहरु, वृद्धवृद्धाको निर्मम र कायरतापूर्ण हत्याको निन्दा जति गरे पनि कम नै हुन्छ ।

आरुबोटे हत्याकाण्डका पछिको कारण रिसइबी नै हुनसक्ने अनुमान गर्न गाह्रो छैन । दुई अलग–अलग घरमा भएको सो हत्यापछि कतै ‘मालवस्तु’ हराएको तर्फ खोजकर्ताले ध्यान दिएको छैन । यसको अर्थ हत्या धनमानलका लागि भएको होइन । स्थानीयबासीले वृद्ध बमबहादुरको कान्छी छोरी र ज्वाइँका बीच सम्बन्ध चिसिएको र विच्छेद गर्ने अवस्थामा पुगेको बताएका छन् । जसका कारण आशंका गरिएका ज्वाइँ मानबहादुर झुण्डिएर मरेको अवस्थामा फेला परेका छन् । पति–पत्नी बीच बेमेल ल्याउने विषय ‘कुरा’ नै हुनसक्छ ।

जसलाई बूढापाकाले ‘कलहको बीऊ कुरा’ भन्ने गरेका छन् । त्यही ‘कुरा’ हुर्किएर यस्तो निर्मम र विभत्स हत्यासम्म पुगेको हो भने हाम्रो जातीय अस्तित्व नै संकटापन्न भयो भने हुन्छ । यतिसम्म निच कर्म गर्न सक्ने मानव जाति बाहेक अरु कोही हुन सक्दैन । तसर्थ वैदिक, नैतिक र सनातन संस्कृतिको माध्यमबाट मानवता जाग्रत गर्नेतर्फ राज्यको गम्भीर ध्यानाकृष्ट हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here