सगरमाथाको उचाई मापनः कसरी र कति समयमा गरिन्छ ?

0
1096

काठमाडौं ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मापन गरिएको ६५ वर्ष पुगेको छ । विदेशी विज्ञहरुले मापन गरेको सगरमाथाको उचाई आफै नाप्न नेपालले अहिले अभियान थालेको छ । सगरमाथाको उचाइ नाप्ने विधि निकै जटिल र रोचक मानिएको छ ।

उचाई नाप्ने तरिकाको जिज्ञासाका बारेमा खगोल तथा भूमापन महाशाखामा उपनिर्देशक भएर काम गरिसकेका निरज मानन्धरका अनुसार पहिला पहिला सगरमाथाको उचाई नाप्न परम्परागत विधी प्रयोग गरिन्थ्यो । जसमा त्रिकोणमितिय प्रणाली प्रयोग हुन्थ्यो, भन्छन् ।

उनी भन्छन्, ‘यो विधिमा समुद्री सतहवाट सगरमाथाको चुचुरोसम्म एक काल्पनिक रेखाको मद्दतले कोण बनाइन्छ र उचाइ पत्ता लगाइन्छ ।’ सन् १९५४ मा सगरमाथाको उचाइ समुद्री सतहबाट ८ हजार ८ सय ४८ मिटर रहेको तथ्य भारतको टोलीले प्रथम पटक सार्वजनिक गरेको थियो ।

त्यसपछि चीन, इटाली र अमेरिकाले पनि सगरमाथाको उचाइ नाप्ने काम गरे । ६५ वर्षअघि भारतले गरेको मापन नै हालसम्म सगरमाथाको आधिकारिक उचाइ मानिन्छ । तर सगरमाथाको उचाइ घटबढ भएको भन्ने समाचारहरु आइरहने गरेका छन् ।

नेपालमा वैशाख १२ को महाभूकम्प पछि पनि सगरमाथाको उचाइ प्रभावित भएको अनुमान वैज्ञानिकहरुले गरे । यी सबै दुविधालाई हटाउन नेपाल आफंैले पहिलो पटक सगरमाथाको उचाइ नाप्ने अभियान अगाडि बढाएको हो ।

नेपालले सगरमाथा उचाई नाप्न अहिले प्रयोग गरेको आधुनिक एवं नविनतम प्रविधी हो, भन्छन् निरज मानन्धर । यो प्रविधिलाई ग्लोबल नेभिगेसन स्याटलाइट सिष्टम जिएनएसएस भनिन्छ ।

यसमा जीएनएसएस रिसिभरलाई सगरमाथाको चुचुरोमा पुर्‍याइन्छ । त्यो रिसिभरले पृथ्वीको कक्षमा घुमिरहेका स्याटेलाइटसँग सम्पर्क गर्छ र चुचुरोको उचाई पृथ्वीको केन्द्रबाट कति छ भन्ने जानकारी रिसिभरलाई पठाउँछ ।

यो प्राप्त जानकारीलाई समुद्री सतहसँग तुलना गरेपछि सगरमाथाको उचाइ पत्ता लाग्छ । नेपाली टोली यही रिसिभर लिएर जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगेको थियो ।

टोलीले चुचुरोमा बसेर १ घण्टा १६ मिनेटको डाटा स्याटलाईटबाट रिसिभरमा रेकर्ड गरेर फर्किएको छ । फर्किएको नेपाली टोलिले सगरमाथाको उचाई बताउन छ महिना लाग्ने बताएको छ ।

किन छ महिना लाग्छ त, भन्ने जिज्ञासामा मानन्धर भन्छन्,‘संकलित डाटाको विश्लेषण गर्न समय लाग्ने भएकाले उचाई तत्कालै भन्न सकिदैन । उचाईका साथै ग्राउन्ड पेनेटेटिङ राडार (जिपिआर)ले सगरमाथामा हिउँको तह कति छ भन्ने पनि पत्ता लगाउँछ ।’इमेजखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here