नगरकै विरुद्धमा जनप्रतिनिधि

0
566

भद्रपुर। भद्रपुर नगरपालिका कार्यालयको काम कारवाही प्रति असन्तुष्ट जनाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु विरोधमा उत्रिएका छन् ।

विरोधमा उत्रिएका वडाध्यक्ष र सदस्यहरुले नगर कार्यपालिकाको बोर्ड बैठक समेत बहिस्कार गरेका छन् । ५२ जना जनप्रतिनिधि रहेको भद्रपुर नगरपालिकामा दुईजना वडाध्यक्षसहित नौ जना वडा सदस्य नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् । बाँकी ४१ जना तत्कालीन एमाले र माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । विगत दुई बर्षसम्म सत्ता पक्ष र प्रतिपक्षका जनप्रतिनिधिहरु एकजुट भएर नगरको विकासको काममा हातेमालो गरेर अघि बढिरहेका थिए । तर, पछिल्लो समयमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नगरको हरेक गतिविधि एकलौटी ढंगबाट सञ्चालन गर्न थालेको भन्दै कांग्रेस पक्षका जनप्रतिनिधिहरु असन्तुष्ट बनेका हुन् ।

असन्तुष्ट जनप्रतिनिधिहरुले भद्रपुरमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाको गतिविधिबारेमा प्रेस विज्ञप्ति जारी गरेका छन् । नगरको विकास निर्माण लगायत नगरवासीको जीवनयापन तथा सरोकारको हरेक विषय नागरिकको सुविधामा निष्ठापूर्वक लागिरहन निरन्तर बैठकमा कुरा उठाउँदा समेत बहुमतका आधारमा एकलौटी ढंगले निर्णय गर्न थालिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । वडा नं. ५ का वडाध्यक्ष बन्धु कार्कीका अनुसार गत बैशाख २१ गते नगर कार्यपालिकाको बोर्ड बैठकमा जिल्ला समन्वय समिति झापाबाट समायोजन भई आउने थप कर्मचारीलाई हाजिर नगराउने निर्णय गरिएको थियो । तर, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले बोर्ड बैठकको निर्णय विपरीत दुईजना कर्मचारीलाई हाजिर गराएको छ । अन्य दुईजना कर्मचारीलाई हाजिर नगराएको कार्कीले बताए ।

‘बोर्ड बैठकको निर्णय विपरीत कसैलाई हाजिर गराउन र कसैलाई हाजिर नगराउने बिषय गलत भएकाले आफूहरु विरोधमा उत्रिएको कार्कीले बताए । कार्कीले भने– ‘बैठकमा कर्मचारी समायोजनको बिषयमा कुरा उठाउँदा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले खासै चासो नदेखाएको र गैरजिम्मेवारी पूर्ण ढंगले जवाफ फर्काएकोले बैठक बहिष्कार गरेका हौं ।’

नगर कार्यपालिकामा वडाध्यक्ष कार्की र वडा नं. ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज) कांग्रेसको तर्फबाट नेतृत्व गर्दै आइरहेका छन् । बोर्ड बैठकले गरेको निर्णय नसच्याएसम्म बैठकमा सहभागी नहुने वडा नं. ८ का वडाध्यक्ष सुब्बाले बताए ।

उनका अनुसार त्यतिमात्र नभएर निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुलाई जानकारीसम्म नदिई अपारदर्शी रुपमा नगरको वस्तुगत विवरण तयारी कार्यविधि २०७४ विपरीत हुनेगरी नगरपालिकाका वडाहरुमा आवश्यकपर्ने गणकहरु नियुक्त गरिएको बताए । ‘यस्तो कार्य आगामी दिनमा नगर्न नगरपालिकाका नेतृत्वलाई सचेत समेत गराउन चाहन्छौं’ –उनले भने ।

यस्तो छ नगरपालिकाको बोर्ड बैठकको निर्णय

२०७६।१।२१ गते बिहान ७ बजे नगरपालिका बैठक कक्षमा नगर कार्यपालिका बैठक बसेर निम्नानुसार निर्णय गरिएको छ ।
कर्मचारी समायोजन सम्बन्धमा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी समायोजन भई अधिकृतस्तरका चार, सहायकस्तरका सात गरी जम्मा ११ जना कर्मचारी भद्रपुर नगरपालिकाको स्वीकृत दरबन्दी समायोजन भई आएको अवस्थामा साविक जिविसमा नियुक्ति भई हाल भद्रपुर नगरपालिकामा अधिकृतस्तरका दुई, सहायकस्तरका तीन र कार्यालय सहयोगी पाँच तथा हल्का सवारीचालक एक गरी जम्मा ११ जना कर्मचारी समायोजन भएको भन्ने बुझिएको हुँदा नगरपालिकाको लागि स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीलाई हाजिर गराई कामकाज लगाउन नसकिने हुनाले साविकमा जिससबाट कामकाजको लागि खटाई नगरपालिकामा नियमित हाजिर भई तलब भत्ता प्राप्त गरिरहेका अधिकृतस्तरका दुई, सहायकस्तरका दुई र कार्यालय सहयोगी एक गरी पाँच जनालाई मात्र समायोजन गरी पठाउन र अन्य कर्मचारीहरुको लागि यस नगरपालिकामा स्वीकृत दरबन्दी रिक्त नरहेको हुँदा निजहरुलाई हाजिर गराई कामकाज लगाउन नसकिने ब्यहोरा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिसस झापामा अनुरोधसहित जानकारी गराउने निर्णय गरिएको छ ।

आफ्नै निर्णय उल्टाउदै कसैलाई काखा र कसैलाई पाखा

कर्मचारी समायोजन सम्बन्धी निर्णयलाई नगरपालिकाका नेतृत्व तहले आफैं उल्टाउँदै कसैलाई काखा र कसैलाई पाखा गरेको घटना सार्वजनिक भएको छ ।

कर्मचारी समायोजन भएसँगै जिल्ला समन्वय समिति झापाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र आदेश बमोजिम एक जना नायव सुब्बा, एक जना हल्का सवारीचालक र दुई जना कार्यालय सहयोगी गरी चार जना कर्मचारीलाई भद्रपुर नगरपालिका कार्यालयमा हाजिर गराउन भनी पचत्रार गरेका थिए ।

जिससले चारै जना कर्मचारीको रवना पत्र भद्रपुर नगरपालिकालाई जेठको पहिलो साता पठाएको थियो । तर, नगरपालिकाका नेतृत्वले गरेको निर्णय आफै उल्टाउँदै दुई जना कर्मचारी हाजिर गराएका छन् भने
दुईजना कर्मचारीलाई फिर्ता पठाएको छ ।

हाजिर गराउने कर्मचारीमध्ये नायव सुब्बा मानबहादुर थापामगर र हसचा रामलखन राउत वरैलाई गत जेठ १२ गते हाजिर गराएको नगरपालिकाले जनाएको छ । तर, नगरपालिकाका नेतृत्व तहले बोर्ड बैठकको निर्णय विपरीत कर्मचारीलाई हाजिर गराउन नमिल्ने भन्दै कार्यालय सहयोगी सञ्जय भुइँमाली र नवराज खतिवडालाई फिर्ता पठाएको छ । जिससले रवना पठाइसकेको र नगरपालिकाले हाजिर नगराउँदा दुई जना कर्मचारी पीडित बनेका छन् ।

दरबन्दी खाली रहेका कर्मचारीलाई हाजिर गराइयो :नगर प्रमुख

नगर कार्यपालिकाको बोर्ड बैठकले जिससबाट समायोजन भएर आउने कर्मचारीलाई हाजिर नगराउने निर्णय भएको भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए । उनका अनुसार बोर्ड बैठकले बैशाख २१ गते निर्णय गर्यो, तर मन्त्रालयले जेठ २ गते नगरपालिकालाई कर्मचारी समायोजन विधेयक सम्बन्धी पत्र पठायो ।

सोही पत्र बमोजिम नायव सुब्बा मानबहादुर थापामगर (पाँचौ तह)लाई चौथौ तह झारेर दरबन्दी खाली भएको स्थानमा हाजिर गराइएको उनले बताए ।
त्यस्तै नगरपालिकामा अहिलेसम्म हसचा नियुक्ती नगरिएकोले हसचा रामलखन राउत वरै पनि हाजिर गराएको उनको भनाइ छ ।

‘जिससले चार जना कर्मचारी पठाएकोमा दुईजना कार्यालय सहयोगीलाई मात्र फिर्ता गराएको हो’ –उनले भने– ‘नगरपालिकामा १५ जना कार्यालय सहयोगी कर्मचारी कार्यरत छन्, दरबन्दी समेत खाली नभएको कार्यालय सहयोगीलाई कसरी हाजिर गराउनु, त्यही भएर फिर्ता गराएको हुँ ।’ नगरपालिकालाई आवश्यक पर्ने कर्मचारी पठाउन छाडेर आवश्यक नपर्ने कर्मचारी पठाएका कारणले नगर प्रमुखको अधिकार बमोजिम दुुईजनालाई हाजिर नगराएको उनले उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here