नगर स्तरीय अन्तरमाध्यमिक खेल प्रतियोगिता शुरु

२२ जेष्ठ २०७६, बुधबार मा प्रकाशित

सुरुङ्गा।

कनकाई नगरपालिकाको आयोजनामा नगर स्तरीय अन्तरमाध्यमिक खेल प्रतियोगिता शुरु भएको छ । कनकाई माविको खेल मैदानमा कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव पिताम्बर गौतमले खेल प्रतियोगिताको उद्घाटन गरेका थिए ।

११औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद अन्तर्गत सो प्रतियोगिताको आयोजना गरिएको हो । सो अवसरमा उपसचिव गौतमले पठनपाठनको अलावा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सरिक गराउन सबैमा आग्रह गरे ।

उनले खेलकुदले नानीहरुमा शारीरिक र मानसिक विकास तथा मानवीय गुण अभिवृद्धिमा सहयोग पुग्ने बताए । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र झापा जिल्ला खेलकुद विकास समितिको संयोजनमा भएको प्रतियोगितामा कनकाई नगरका संस्थागत र सामुदायिक गरी २० वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताबाट छानिएका बिद्यार्थी जिल्ला स्तरीय खेलमा सहभागी हुनेछन् ।

प्रतियोगितामा छात्रछात्रा दुवैतर्फ विभिन्नस्तरका दौड, सटपुट, ज्याभ्लीन थ्रो, हाइजम्प, लङजम्प, भलिबल, कबड्डी लगायतका इभेन्ट हुने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न गठन गरिएको कनकाई नगर खेलकुद सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक गोपीकृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई मावि विव्यस अध्यक्ष जनार्दन उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए ।

खेलको शुरुवातमा भएको ट्रयाक उद्घाटन १०० मी. दौडमा सञ्चारकर्मी चूडामणि तिम्सिना प्रथम, कनकाई माविका शिक्षकहरु चन्द्रप्रसाद पोखरेल द्वितीय र भीमप्रसाद दाहाल तृतीय भएको खेलकुद सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य खेमराज भट्टराईले जानकारी दिए । तीन दिनसम्म सञ्चालन हुने उक्त खेलमा कनकाई मावि अन्तर्गतका जुनियर रेडक्रस सर्कल, स्काउट र बाल क्लबमा आबद्ध बिद्यार्थीहरुले स्वयम्सेवकको भूमिका निभाइरहेका छन् ।

कनकाई मावि पीटीए अध्यक्ष रमेश संग्रौला, आदर्श विद्या मन्दिर मावि घैलाडुब्बाका प्रअ धर्मानन्द निरौला, सरस्वती मावि जामुनाबारीका प्रअ तुलसी कार्की, कनकाई खेलकुद प्रतिष्ठान (कासा)का अध्यक्ष दुर्गाप्रसाद प्रसाई, कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौला, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायब निरीक्षक इन्द्र भुजेल लगायतको आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक तीर्थराज खरेलले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here