तेक्वान्दो प्रतियोगिता काँकरभिट्टामा शुरु

२२ जेष्ठ २०७६, बुधबार मा प्रकाशित

काँकरभिट्टा।

१ नम्बर प्रदेशस्तरीय तेक्वान्दो तथा कबड्डी पुरुष प्रतियोगिता मंगलबारदेखि काँकरभिट्टामा शुरु भएको छ । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा शुरु भएको तीन दिवसीय सो प्रतियोगिताको उद्घाटन प्रदेश सांसद् श्रीप्रसाद मैनालीले गरेका थिए ।

काँकरभिट्टा माविको खेल मैदानमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सांसद् मैनालीले खेल क्षेत्रको विकास र उन्नयनका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए ।

‘खेल क्षेत्रमा १ नम्बर प्रदेश एक कदम अगाडि नै छ, यो प्रदेश खेलकुदको उर्वरभूमि पनि हो’– उनले भने– ‘खेल पूर्वाधारको विकास र योग्य खेलाडी उत्पादनका लागि सक्दो प्रयत्न गर्छौं ।’ खेलमार्फत् राष्ट्रको गरिमालाई उच्च राख्न झापाले पुर्याएको योगदानको प्रशंसा गर्दै सांसद् मैनालीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सक्ने दक्ष खेलाडी उत्पादनमा जोड दिए ।

प्रतियोगिताको उद्घाटन सत्रमा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रवीन नगरकोटी, झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष डिल्लीराम घिमिरेलगायतले बोलेका थिए । पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालित उक्त प्रतियोगिताको व्यवस्थापन झापा जिल्ला खेलकुद विकास समितिले गरेको छ ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा १ नम्बर प्रदेश अन्तर्गतका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, कार्यालय प्रमुख लगायत पदाधिकारी एवम् सदस्य, विभिन्न खेल बिधाका प्रशिक्षक, खेल सम्बद्ध विभिन्न संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायतको आतिथ्य थियो ।

उद्घाटन कार्यक्रममा जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भई प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने तेक्वान्दो र कबड्डीका पुरुष खेलाडीहरुले मार्चपास गरेका थिए ।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका सदस्य गणेश बुढाथोकीका अनुसार काँकरभिट्टा खानेपानी संस्थाको सभा कक्षमा तेक्वान्दो र काँकरभिट्टा माविको खेल मैदानमा कबड्डी प्रतियोगिता सञ्चालन गरिएको छ ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् उद्घाटन समारोहका सभापति शंकर थापाले स्वागतसहित औचित्य बारे प्रकाश पारेको कार्यक्रमको सञ्चालन समितिका कार्यालय प्रमुख टहलदास मैनालीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here