गाउँपालिकामा ८४ हजार पशु

0
879

बिर्तामोड।

विदेशबाट फर्किएर पशुपालन लगायतका व्यवसायमा जुट्ने युवाको संख्या दिन प्रतिदिन बढ्दो छ । थोरै लगानीमा प्रशस्त आम्दानी गर्न सकिने भएपछि पशुपालन व्यवसायमा युवाको आकर्षण बढेको हो । पशुपालनमा युवाको आकर्षण बढेसँंगै झापा दूधमा समेत आत्मर्निभर भएको छ ।

बाह्रदशी गाउँपालिकामा मात्रै चालू आर्थिक वर्षमा ४ हजार ६ सय ४८.८९ मेट्रिकटन दूध उत्पादन भएको बाह्रदशी गाउँपालिका पशु शाखा प्रमुख देवकुमार यादवले जानकारी दिए । उनका अनुसार बाह्रदशी गाउँपालिकाका युवाले स्वदेशमै आत्मनिर्भर बन्न सकिने उदाहरण प्रस्तुत गर्दै व्यवसायिक रुपमा पशुपालन थालेपछि दूध उत्पादन बढेको हो । अहिले बाह्रदशीका युवाले पशुपालन व्यवसायलाई पहिलो प्राथमिकतामा राखेका छन् । मकै उत्पादनका लागि जिल्लाकै राम्रो बाह्रदशी गाउँपालिका पछिल्लो समय पशुपालनका लागि समेत उत्तिकै राम्रो मानिँदै आएको छ ।

प्रदेशकै ठूलो गाई फर्मको परिकल्पना गर्दै बाह्रदशी – ५ मा सञ्चालनमा ल्याइएको पाथीभरा एग्रो फर्ममा मात्रै एक सय गाई छन् । जुन फर्ममा उत्तिकै संख्यामा खसी बाख्रा पनि छन्् । दिनेश थापाले सञ्चालनमा ल्याएको सो फर्म बाह्रदशी गाउँपालिकाको नमूना फर्म हो । पछिल्लो समय उनकै सिको गर्दै धेरैले पशुपालनका लागि व्यवसायिक रुपमा फर्म दर्ता गरेर काम अघि बढाएका छन् ।

गाउँपालिकाको तथ्याङ्क अनुसार वाह्रदशीमा ८४ हजार सात सय २० वटा पशु चौपाया छन् । बाह्रदशीमा गाई र बाख्रा पाल्ने किसानको संख्या बढी छ । तथ्याङ्क अनुसार विदेशिने केही युवाले व्यवसायिक पशुपालनमा उन्नत जातका पशु पालेका छन् । त्यसमध्ये अधिकांशले गाई पालेका छन् । दश हजार आठवटा स्थानीय र ४ हजार ५ सय १४ वटा उन्नत जातका गाई पालन गरिएको बाह्रदशीमा एक हजार दुई सय ८३ वटा स्थानीय जातका भैंसी र २ हजार आठ सय २१ वटा उन्नत जातका भंैसी पालिएको पशु सेवा विभागका प्रमुख यादवले जानकारी दिए ।

बाह्रदशीमा बाख्राको संख्या भने २० हजार ४ सय ५४ वटा छन् । सुँगुर बंगुरको सख्या भने २७७४ रहेको र कुखुरा तथा हाँस समेत उल्लेख्य मात्रामा पालन गरिएको बताइएको छ ।

यहाँ पशुपालन व्यवसायसँंगै मासु उत्पादन समेत राम्रो हुने गरेको बताइएको छ । चालू आर्थिक वर्षमा बाह्रदशी गाउँपालिकामा ११५.१४ टन मासु उत्पादन भएको छ । त्यस्तै राँगा ४७, बंगुर ३० कुखुरा १४०, हाँस ३ टन उत्पादन भएको छ ।

बाह्रदशी गाउँपालिकामा ६०.६६ प्रतिशत जनता कृषि र पशुपालनमा निर्भर छन् । ७८५४.९२ कूल क्षेत्रफलमा फैलिएको बाह्र्रदशीमा ७०२३.५ हेक्टर क्षेत्रफल कृषि, ६०.२५ हेक्टर क्षेत्रफल वन ३०.२८ हेक्टर क्षेत्रफल बगान, ४१.४७ बाँस, १५७.३९ हेक्टर क्षेत्रफल घाँसे मैदान, ३१.११ हेक्टर क्षेत्रफल झाडी, ५००.६२ हेक्टर क्षेत्रफल नदी नाला तथा उभार क्षेत्र, ०.३८ हेक्टर क्षेत्रफल बाँझो जमिन भएकाले पनि बाह्रदशीमा पशुपालन व्यवसाय फस्टाएको हो ।

गाउँपालिका भित्र ३९ वटा व्यवसायिक कृषि फर्म रहेका छन् । युवाले समेत पशुपालन व्यवसायलाई अंगालेका कारण बाह्रदशी गाउँपालिका दूध र मासुमा आत्मनिर्भर रहेको पशु शाखा प्रमुख यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here