जोखिममा भूमिहीन बस्ती

0
625

कञ्चनपुर ।

कञ्चनपुरको वनहरा नदी तटीय क्षेत्रमा रहेको भूमिहीन बस्ती जोखिममा परेको छ । बर्सातको पानीले वनहरा नदीमा पानी बढ्नाका साथै पूर्वदेखि दक्षिणी क्षेत्रको जमीन कटान तीव्र हुन थालेकाले भूमिहीन परिवार बस्दै आएको बस्ती जोखिममा परेको हो ।श्रीकृष्ण सामुदायिक वन छेउमा एक दशक बढी समयदेखि बस्दै आएका परिवार भूक्षयका कारण जोखिममा परेकाले सुरक्षित बासस्थानको खोजीमा लागेका छन् ।

पुस्तौँदेखि भूमिहीन रहेका परिवारले सुरक्षित बासस्थानका लागि माग गर्दै आए पनि सुनवाइ हुन नसक्दा जोखिमसँगै तटीय क्षेत्रमा बनाइएका झोपडीमा बस्न बाध्य भएका हुन् । “हावाहुरीले झोपडीमा राखेका त्रिपाल उडाउँदा खुला आकाशमा बस्दै आएका थियौँ”, भूमिहीन बस्तीका कलावती दमाईंले भन्नुभयो, “बर्सात हुन थालेपछि जति पानी बाहिर पर्छ । त्यति पानी भित्र छिर्ने भएकाले अनिदोमै रात काट्नु परेको छ । नदीले जग्गा कटान गर्न थालेपछि बस्ती नै जोखिममा परेको छ ।” “नदी बस्तीतर्फ सोझिएपछि पूरै झोपडी बग्ने डरले पालैपालो नदीको पानी हेरेर बस्नु परेको छ”, मानध्वज लुहारले भन्नुभयो, “थोरै पानीले पनि धेरै जग्गा कटान गरिसकेको छ । कुनै बेला पनि दुर्घटना हुन सक्ने भएकाले नदीको पानीको सतह बढ्न थालेपछि बस्ती छाड्नुपर्ने अवस्था छ ।”

शुक्लाफाँटा नगरपालिकासँगै सुरक्षित बासस्थानको व्यवस्था मिलाइदिन भन्दै आए पनि कसैले सुन्दैनन् । सामुदायिक वनको सुरक्षित क्षेत्रमा बस्न दिँदैनन् । यसै देशको नागरिक भए पनि विरानो भएर बस्नु परेको भूमिहीन परिवारको गुनासो छ । भूमिहीन परिवारले दुई छाक खानका लागि दिनभरि मजदुरी गरेर जीविका धान्दै आएका छन् । बाँच्नका लागि त निकै सङ्घर्ष गर्नु परेको छ । जग्गा खरीद गर्न यस जुनीमा त सक्दैनौँ माघि रावतले भन्नुभयो, “नदीकै कारण ज्यान जोगाउन नसकिने भएको छ ।”

“गर्मीमा लामखुट्टेबाट जोगिन रातभर झोपडीमा अनिदो बसेर धुवाँ गरेर बस्नुपर्ने र बर्सात भएपछि पानीबाट बालबालिका र ज्येष्ठ नागरिकलाई जोगाउन सङ्घर्ष गर्नुपर्ने र नदीले बस्तीको जग्गा कटान गर्न थालेपछि बस्ती नै छाडेर भाग्नुपर्ने अवस्था आइलागेको छ”, राधिका सुनारले भन्नुभयो । भूमिहीन बस्तीमा अधिकांश परिवार दलित समुदायका छन् ।

“संविधानमै एक पटकका लागि भूमिहीन रहेका दलित परिवारलाई जग्गा र घर दिने कुरा राखिएको सुनेका छौँ”, मानध्वजले भन्नुभयो, “नागरिकता लिएर नगरपालिका, भूमि सुधार, जिल्ला प्रशासन र मालपोत कार्यालयसम्म पुग्दासमेत जग्गा र घर पाइएको छैन । जनता आवास कार्यक्रम पनि घर–जग्गा भएकालाई नै परेको छ ।मुक्त हलिया पुनस्र्थापनामा पनि हामीलाई पारिएको छैन ।

पुर्खौंदेखि हाम्रा पूर्वजहरु र हामीले पनि हलो जोतेर पहाडमा जीविका चलाउँदै आएका हौँ । हलिया मुक्तिको घोषणापछि बास, गाँसको खोजी गर्दै यहाँसम्म आइपुगेका छौँ । बस्दै आएको ठाउँमा नदीले कटान गर्न थालेपछि अर्को कुन ठाउँमा गएर बस्ने भन्ने आफूहरूलाई पिरलो छ । भारतमा कमाउन गएका बस्तीका अधिकांश युवा पनि फर्केर आएका छैनन् । बस्ने ठेगान नहँुदा र जीविका चलाउने साधन नहँुदा युवाहरु भारतमै बस्दै आएका उहाँको भनाइ थियो । उक्त बस्तीमा १२ परिवारको बसोबास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here