दमकमा शंकास्पद भनिएको प्लाष्टिकको चामल हो त ?

0
759

दमक।

झापाको दमकमा उपभोक्ताहरुले प्रयोग गरिरहेको चामल र पसलबाट नुमना लिइएको चामल परीक्षण गर्दा उपभोक्ताले भने अनुसार यसमा प्लाष्टिक नमिसिएको बताइएको छ ।

खाद्य प्रविधि तथा गुण नियण्त्रण डिभिजन कार्यालय झापाका प्रमुख भरतबहादुर पुरीले नमूना परीक्षणका लागि लिएर गएका थिए । आइतबार यसको रिर्पोट आउने बताइए पनि सोमबार बेलुकासम्म पनि यस बिषयमा रिर्पोट नआएपछि शंका गरिन थालेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरका प्रमुख प्रमोद कोइरालाले आफूहरुले प्लाष्टिकको चामल भए÷नभएको भनेर परीक्षण गर्दा दाबी गरिए जस्तो प्लाष्टिक नभएको पाइएको बताए । ‘प्लाष्टिकको वा प्लाष्टिक मिसाइएको पाइएन’ –उनले भने ।

केही समयदेखि पूर्वमा यस बिषयमा धेरै गुनासोहरु सुनिएको र सामाजिक सञ्जालहरुमा समेत यो बिषय आएकाले आफूहरुले सघनरुपमा यसको परीक्षण गरेको पनि उनले दाबी गरे । ‘हामीले लिइएको नमूनाको सघनरुपमा परीक्षण गरेका छौ र यसमा बाहिर हल्ला आए जस्तो अवस्था छैन’ –उनले भने । यसको सम्पूर्ण नतिजा डिभिजन कार्यालयमा पठाइएको पनि उनको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख भरतबहादुर पुरीका अनुसार दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओली, दमक बजार अनुगमन समितिका संयोजक एवम् वडाध्यक्ष भीम पौड्यालसहितको टोलीले बिभिन्न चार ठाउँको नमूना संकलन गरेको र त्यो परीक्षणका लागि आफूले ल्यावमा लगेको बताए । ‘उपभोक्ताको गुनासो र आशंका लागेकाले हामीले परीक्षणका लगेका थियौ तर त्यस्तो केही पनि पाइएन’ –उनले भने ।

वडा नं. ७ का वडाध्यक्ष तथा दमक बजार अनुगमन समितिका संयोजक पौड्यालले केही समयमा नै आउँछ भनेको रिर्पोट ढिला गरी आउँदा आशंका बढेको बताए । ‘मिसावट तथा प्लाष्टिकको चामल नभएको रिर्पोट आएको सुनेको र केही न केही होला भन्ने लागेको थियो’ –पौड्यालले भने । उपभोक्ताहरुले चामल पकाएर डल्ला बनाएर भुइँमा बजार्दा प्लाष्टिक जस्तो आवाज आएको र डल्ला समेत नफुटेको भन्दै जाँचको माग गरेका थिए । डढाउँदा पनि अर्को चामलभन्दा फरक देखिएको भन्दै उनीहरुले नगरपालिकाको ध्यानाकर्षण पनि गराएका थिए ।

भारतबाट आउने दुवार ब्राण्डको चामलमा मिसावटको आशंका गरिएको थियो । दमकका उपभोक्ता डार्विन संग्रौलाका अनुसार आफूहरुले उक्त चामल नै उपभोग गर्न छाडेको बताए । ‘अन्य चामलहरु पनि हामीले डल्ला बनाएर हेरेका छौं, तर यो फरक छ’ –उनले भने । ‘सार्वजनिक ठाउँमा नै नक्कली चामल पत्ता लगाउने विधिहरु गरेर मात्र हामीले सम्बन्धित निकायलाई खबर गरेका थियौं । तर, अहिले केही छैन भनेर रिर्पोट आएको सुन्दा अचम्म लागेको छ’ –उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here