सडक अधुरै, रकम फ्रिज

0
561

गौरीगञ्ज।

गौरीगञ्ज गाउँपालिका वार्ड नं. –६ स्थित भारु चौक दक्षिण कृष्ण महतोको घरदेखि देवीगञ्ज जाने बाटोमा निर्माण भइरहेकोे कालोपत्रे बाटो अधुरै छाडिएको छ ।

निर्माण कम्पनीले वैशाख २५ गतेबाट निर्माण कार्य शुरु गरेपनि सम्पन्न गरिने समयसीमा अपुग भएको भन्दै ६० मिटर कालोपत्र बनाई अधुरै छाडेको हो । असार २५ गतेभित्र ९ सय ३५ मिटर बाटो कालोपत्रे बनाउने गाउँपालिकासंँग सम्झौता भएको थियो । तर समयमा कालोपत्रे बनाउन चाहिने सामग्री समयमा नआएको र सम्झौता पनि ढिलो भएको कारण पूरा बाटो निर्माण गर्न नसकिएको जगदम्बा कन्स्ट्रक्सनका प्रोपाइटर रवि भट्टराईले बताए ।

तराई मधेश समृद्वि कार्यक्रम अन्तर्गत यो बाटोमा कालोपत्रेका लागि ७७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । तर उक्त बाटो निर्माणका लागि जगदम्बा कन्स्ट्रक्सनले ५२ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।

कम्पनीले ६० मिटर कालोपत्रे निर्माण गरी लगभग २३ लाख रुपैयाँ समेत लगिसकेको छ भने बाँकी रकम फ्रिज भएको छ ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले अन्तिम समयमा बजेट विनियोजन भएको र त्यसलाई कार्यान्वयन गर्ने क्रममा ढिला भएको कारण पूरै बाटो निर्माण गर्न नसकिएको बताए । पूरै बाटोमा कालोपत्रे निर्माण गर्न संघीय सरकारलाई तराई मधेस समृद्वि कार्यक्रम अन्तर्गत थप वजेट विनियोजनका लागि आग्रह गरिसकिएकोले यस आर्थिक वर्षमा कालोपत्रेको काम पूरा हुने अध्यक्ष श्रेष्ठले दाबी गरे ।

गौरीगञ्ज गाउँपालिकामा पहिलो पटक निर्माण हुन लागेको भनिएको कालोपत्रे बाटो ‘पहिलो गाँस मै ढुंगा’ भनी स्थानीयले टिप्पणी गरेका छन् । निर्माण कार्य रोकिएपछि बाटो कालोपत्रे नहुने हो कि भनेर उनीहरुले आशंकासमेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here