व्यंग्यनारान पाँडे,
“गरे हओ पाँडे भाइ, हामेरका माथिल्ला नेताहर्ले मनग्गे मात्तै होइन पउलइ सम्मिर्दि गरे । तेति पनि नगर्नु थ्यो भने राजा–रानीलाई नारानहिट्टीबड गेटाउटमा पारेर एत्रो खान पर्जातन्त्र, लो’तन्त्र र गनतन्त्र लेराउनुथ्यो त ?”— भन्दै धडाधड मेरो छेउकै कुर्सीमा गह«ौं भारी बिसार झैं आफूलाई बसाएपछि गौंथलीको बाऊले थपे— “इ छेरौटी लागेर भुकुभुकु मर्न नसकेका जन्तालाई त रानाका ट्यामदेखुन् पञ्चेती तानाशाइहरुमा समेत लागेको दुक्ख झ्याल्ने हेबिट छइँछ नि । अैले तेस्तै दुक्ख निक्कै बढ्या मात्तै त हो नि । मुँगी, बाडीपइरो, एसिडेनले बसगाडी भीराड तल खँदारिने, आइमाई–केट्केटी बलत्कारीमा पर्ने, घुस–भष्टचारी, सेटिङ–उटिङको उन्नति–पर्गति उधुमै बढ्या मात्तै त हो नि ।
गनतन्त्र गर्न सजिलो त काँ हुन्छ तओ, काँ हुन्छ त । इ जन्ताले चिचीको पनि लोब–पापाको पनि लोब गर्न थाले भने लगारिन्छन् पो बइदेशी रोचकारी गर्न जम्मै खाडीतिर र देश खाली गरिन्छ, तेस्सिमालाने । याँ पइखाना सोर्नेदेखिन् बिस्कुन चोर्नेसम्मका सप्पै काममा हल्लुँड भ’र खट्ने मान्छे इण्ड्याले पठाइहाल्छ, के को र्याइँर्याइँ ।…तेति भएसि हामेरका क्यान्द्रिए मौसूपहेरु, पर्देशका मौसूपहेरु र थानीए रजउटा मानुभाउहर्लाई सम्मिर्दि गर्ने बाताबर्ण खुल्ला पनि हुने । होइन्त ? कि के भन्तब्बे छ तपइँको ? लु–लु दुई शब्द सुनम् त हओ तपइँबड ।”
सत्तारुढ पार्टीका द्वितीय अध्यक्षका साविक सहयात्री विप्लव बाउसाहबहरुसंग मेरो थोरै पनि चिनजान र हिमचिम थियो भने ‘एउटा’ मागेर गौंथलीको बाऊको गालामा पढ्काइदिने भ्mवाँक चलेको थियो उनका कुरा सुनेर । ती सब संभव नभए पनि स्वरको भोल्यूम चाहिँ बढाएर चर्केँ— “भुत्रोको भन्तव्य ! भुत्राको दुई शब्द ! पागल हूँ म ?”
उनी अलिक ओइलाए र भने— “गोस्सा चइँ जत्ति भा नि भउ कि तर हात चइँ नहाल हए । आच्कल मेरो शरीरमा बर्गत फिनिस्टिरछ क्या अन्तखेरी मलाई झडपमा इन्टेसै छैन । गोस्सा चइँ जत्ति भा नि भाउ र मुखाँ आ’जति मुनपरी भन, म क्यारलेस गर्दिन ।”
मैले फेरि भोल्यूम नघटाई भनें— “नचाइया कुराको कचकच सुन्दा मेरो पाँडे कन्पारो तात्छ र हात छोड्न बेर पनि लाउँदिन क्या ।”
उनले सजिलैसंग भने— “हातै चिलाइरछ भने त मेरो के लाग्छ र । रै भा पनि टाउको र पिडुँलामा होइन । टाउकोमा हात लायौ भने तेसभित्रको किड्नी खल्बलिन्छ भन्ने डर हुन्छ । टाउकाको किड्नीको सोस्थे खराप भो भने मैले केले बुद्दि–अक्कल उमारेर पत्रकार गर्नु, केका बुद्दि–अक्कलले मिस्कट भासाविद गर्नु, के बुद्दि र अक्कल फुरा’र गन्ततन्त्रको कम्रेट गर्नु…हो कि होइन्त ? मेरा पिडुँलामा चइँ अनेत्रभन्दा सारै दुख्छ भन्ने मेरो अनुभौ छ क्या भाइ । हात नछोडी नछोड्ने नै इस्टमेट हो भने पनि ठीकै छ, सल्लैले गरम् जे गरे पनि ।”
उनको यो लबस्तर्याइँ सुनेर मैले हाँसो थाम्न सकिन । उनले के बुझे कुन्नि एकपल्ट चाम बाँधे र खोल्दै भने— “कुरो बुजेसि मान्छे चइँ हो भने इ एसरी फुल कोरस हाँसिहाल्छ भन्दै इण्ड्याको नयाँ डिल्लीमा ज्वारीलाल, नेरुले मसित भनेका थे । डिल्लीमा स्यानु काम थ्यो र म डिल्ली गइरथेँ । डिल्लीमा सधैं झैं म ज्वारीलालकै घरमा बास बसिरथेँ । रातीको डिन्नर भोजन गरेसि हामी दोडा एउडै ओछेनमा ढल्केर दाँत कोट्याउँदै स्टुड्यान लाएफका रमाइला कुरा सम्जिँदै हाँसिराखेका ट्याममा ज्वारीलालजीले मलाई सो–उक्त कुरा भन्या अैले मेरा कानभरि आयो ।
पैला मेरा बालाई उनका दोस्ती इण्ड्याका रास्पिता बूढा मात्मागान्दीले पनि ‘कस्सैले तिम्लाई ढुङ्गाले हान्यो भने तिम्ने उल्लाई फूलले हान्नु, झगडा साम्मे भइहाल्छ’ भन्ने अर्ति दिन्थे अरे । तर, तो पूmल भन्या बारीमा फुल्ने फूल नभई कुख्राको खोरमा फुल्ने फुल पनि हुनसक्छ । अगि तपइँ जस्तै म रिसा’र एउडो ढुङ्गो उठा’र तो मलाई रीस उठाउनेलाई हानें अनि दुस्रो ढुङ्गो उठार हान्न खोज्दा उसले गोडा दुएक कुख्राको फूलले हानो भने सो दुस्रो, ढुङ्गो उमाथि हान्ने जडुली नै पर्दैन— फुल टिपो, लुसुक्क हिंडो र घराँ लगेर चइँनेकेरे उसिनेर खाए पनि भो अथवा एउडो प्याच, ढिँडी दुएक खोर्सानी मसिनो काटेर चइँनेकेरे सो फुल फुटालेर चइँनेकेरे तेस्मा प्याच र खोर्सानीको कटिङ मिस्कट गरेर चइँनेकेरे बिलिनो–बिलिनो नून हालेर चइँनेकेरे ताप्केमा फराइ गरेको अम्लेट ख्याल टेसिलो हुन्छ के त । ठूलाठाला रास्पिता भइखाका मान्छेले भन्या कुरा एसरी घुमाएर पनि बुज्ने गरेउ भने तपइँले मसित कइलेइ गोस्सा हुन परे त थुक्क ।”
उनले यसरी घुमाई–फिराई आफूलाई महात्मा गान्धी जत्तिकै ठालू ठान्न मलाई अह«ाएको बुझेर म फेरि अर्को एक रील सिङ्गै हाँसें र सट्कट्मा भनें— “अँ !”
उनी भन्दै गए— “एस्टा जण्डका रामरमाइला मान्छे तपइँ अगि चइँ किन चिरिक्क गोस्सा भाका नि ? हामेरका माथ्ला नेता कम्रेट मौसूपहर्मा गनतन्त्रमा पेकिन भ’र सम्मिर्दि आइसको, लम्बर–लम्बरका पर्देश रजउटा र थानीए–थानीए राचकुमार–कुमारीहेरुसम्म पनि गनतन्त्र नामका पेरुङ्गमा सम्मिर्दिको घिउ–कुराउनी आइसको । जनता मोरा हबिदलेहेरु ड्याङ्गु लागेर मरुन् कि खाडीमा भाबरमा जाने बाद्देमा परुन्, हामीलाई तातो न चिसो । तिन्का लागि हामीले डिल्ली–बम्बईका डानस हुटेलमा लुकीलुकी भूइँगत खेलेर लेराइदेका हम र गनतन्त्र ? तिन्लाई गनतन्त्र चाइँछ भने ल्याउन् न आफै । हामेरले लेराको गनतन्त्र तिनलाई भुटेका मकै जस्तो छर्न थालो भने हामेरले चइँ के जोतभोग गर्नु त ? इइइइ तिनका लागि छरस्ट पार्न त लागिरछ खाँचो । यइ कुरा सिकेन्स मिला’र भन्न लाग्याथेँ, तपइँ भुत्लोभाङ केइ नबुजी बम्किगएउ र झन्नै हातै छाड्यौ ।
धन्न म हामेरको मेजर्टीको स्टङ गोरमेन्टको रेस्पुन्सेबल कम्रटे भकाले गर्दाउँदी कौनै डरसर मान्नु पर्थेन र मात्तै भागिन । म भन्या अैलेका हकमा हामेरको पाटीको बडाहाकिमी–अञ्चलढीस जस्तै कम्रेट हूँ एस चइँ एरिआको छेत्रमा । एस छेत्रको एरिआमा म माथि हात हाल्ने कस्को हिक्मत ? म उइले पाहाडको हामेरको गाम पञ्चेतीमा दिब्बे चौद बर्ख पिउर अर्गानिक राजभक्त उपपर्धान पञ्च हुँदा त काङ्रेस–कमिनिसकाले ठाडा आँखाले हेर्न नसक्ने ड्यान्जरमा नामी थेँ, काङ्रेस र कमिनिसका मान्छेले उउउउ परै देखे कि प–परै भाग्थे भने अैले आफ्नु पाटीलाई बउमत दिला’र चइँनेकेरे तेस्का अण्डरमा कम्रेट गरिाख्या ट्याममा झन किन ड्राउनु पर्या छ र बित्थामा । तर, जे भा नि म तपइँसित चइँ उजाति हुने गर्छु हए, कोनि के भ’र उजाति हुन्छु । मेरा हातगोडा फतक्क गल्छन्, मुटु ढुक्ढुक्ढुक् हुन्छ क्या भाइ । म त तेस्तो व्याक्तित्तो पो हूँ त । मलाई जइले–तइलेको सर्खारी पाटीले पैलीदेखुन् नै तेस्सै एत्रो इन्पोरट्याँस दिने गर्या हो र ? आमइँइँइँ नि !”
बोल्दाबोल्दै उनी हिरिक्क होलान् जस्तै भए तापनि अझै बोल्न खोज्दैथे, मैले उछिन्दै भनें— “त्यसो भए तपाईंहरुले बोकेर हो कि घिसारेर लेराएको लोकतन्त्र र गणतन्त्रको मह तपाईंहरु–तपाईंहरुलाई नै अघाउन्जी भा’छैन र’छ नि ? मह निचोरेर तपाईंहरु–तपाईंहरुले चप्काइसकेपछि चाकाका खोस्टा चाहिँ….”
तर, उनले पनि उछिन्दै भने— “अँ त ! उसबेला यो लो’तन्त्र र गनतन्त्रको स्वादको टेस् एत्ति भामट टेसिलो होला भन्ने हामेरलाई अन्नेज थेन र थोडा–थोडा मात्तै लेराछौं, टन्न अगाउन्जी हुने सफिसेन लेराको भा हुन्थेछ । तइ गाँस चइँ सुरोबुरो हालिराख्या छौं । जाँसम्म खोस्टाको कुरो छ— खोस्टा ढुक्ने स्वामीभक्त, गणेशचक्करे, हनुमानचालिसे फ्याउराहेरु हन्जाका हन्जा काटमाडुँमै छइँछन् । तिन्लाई नै पुगिराख्या छैन । बाडीमा पर्नेहर्लाई पठा’को चामलको ‘चा’ त तेस्ता हनुमन्तेहर्ले बाटैमा चप्का’र ‘मल’ मात्तै टुङ्गामा पुगाइराख्या छन् ।
खोस्टाको पनि आशा गर्ने होपै नगरी आर्को एलेक्सिनको भोट हुँदासम्मन धइर्जे धारन गर्ने टेनिङ–सिक्लाइ गर्दै गर्नु क्या पाँडे भाइ, भोटका ट्याममा तपइँहर्लाई भोटगन्ती बा भोटरे–भोटरी टाउकागन्ती हातलागी गराउने सर्खारको ठूलो ओजना छ । तेस ओजनालाई सफ्फल पार्न भस्टचारी गर्ने, कमिशिन लुँड्याउने, घुसखोरी हसुर्ने ठूला–स्याना देखुन् माफ्याज्यूहेरु, तस्करज्यूहेरु, बलत्कारीज्यूहेरु, चोर–डाकाज्यूहेरु, अप्रादकर्मीज्यूहेरु इत्तेदि सप्पैखाले कमाउकान्तेज्यूहेरु सर्खारका ओरिपरि कम्ता सक्रिए छैनन् । ढुक्क भउ र भोटको ट्याम ओइटेर बस क्या । सर्खारको यो टरम चइँ कौनै कर–कचेडा नगरी फेरि हामेरकै नेपका पाटीलाई बउमतको मेजर्टीले सर्खारमा थापित गराउने सोेंच चइँ बजरठिङ्गा बनाइराख्नु क्या ।”…
उनी बोल्दै गइरहेका थिए—पञ्चायतकालका पी.सी. मुखिया र हिरालाल विश्वकर्मा अथवा कांग्रेसकालका महेश आचार्य जस्तै धाराप्रवाह । मैले एकपल्ट आङ जुर्काएँ र मनमनै भन्दो भएँ— “इन् टोटल कुरो प्रस्ट भने यिनले ।…तै लोकतन्त्रको जुठोपुरो झर्ला र खाउँला तानि !”….


























