बाढी, पहिरोको कारण खोजौं !

0
965

इलाम सन्दकपुरको एउटा गाउँ नै पहिरोका कारण विस्थापित बनेको छ । सन्दकपुर गाउँपालिका वडा नं. ५ को गैरीगाउँका बाह्र घरपरिवार पहिरोको जोखिममा परेपछि विस्थापित भएका हुन् । सो गाउँमा रहेका घरहरुमा धाँजा फाटेर पानी रसाउन थालेपछि उनीहरुलाई अन्यत्र राखेर सुरक्षित गर्नुपरेको छ । वर्षाका समय बाढी, पहिरो, डुवान लगायतका समस्या आउनु सामान्य नै हो । तर, यस्तो अवस्था आउँछ भन्ने जान्दाजान्दै प्रतिरक्षा वा पूर्व तयारी नगर्नु असामान्य अवस्था हो । त्यही भएको छ धेरै सन्दकपुरहरु र त्यहाँका बासिन्दालाई ।

सन्दकपुर प्रतिनिधि ठाउँ हो । नेपालको गुल्मी जिल्लामा यस वर्षको वर्षाबाट बढी मानिसको मृत्यु भयो । वर्षाबाट उत्पन्न विपद्का कारण यस वर्ष देशभर एक सय एघार जनाको दुःखद् निधन भयो भने चालीस जनाको अवस्था अझै अज्ञात छ । त्यसैगरी यो वर्ष बाढीका कारण एक अर्बभन्दा बढीको क्षति भएको छ भने पहिरोले गरेको क्षतिलाई मूल्यमा रुपान्तरण गर्न सकिँदैन । देशमा भैपरी आउने यस्ता विपद्हरुको सामना गर्न, प्रतिरक्षा र पूर्वतयारी गर्न गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र नै गठन गरिएको छ । त्यसबाहेक रेडक्रस सोसाइटी लगायतका स्वयम्सेवी संस्थाहरुले पनि विपद्का समयमा राहत र सहयोग गर्ने गरेका छन् ।

प्रविधिको विकास भएसँगै यस्ता घटनाहरुको तथ्यांक पनि बढ्दै जान थालेको छ । एक त हिजो घटनाहरु तत्काल सार्वजनिक गर्ने स्रोत साधन र माध्यम थिएनन्, अर्को जनघनत्व कम भएका कारण क्षति पनि कम नै हुने गरेको थियो । तर, आज गाउँ–गाउँमा विकासका पूर्वाधार उपलब्ध गराउने नाममा योजनाविहीन भौतिक संरचनाहरु निर्माण गरिँदैछ । जथाभावी सडक खन्ने कारणले जमिनको अवस्थिति प्रभावित भएको छ । हिमाल, पहाड र जोखिमयुक्त ठाउँहरुमा कतै सडकका लागि, कतै जलविद्युत् वा यस्तै विकासको नाममा डोजर चलाइँदैछ, विष्फोटबाट ढुंगा फुटाइँदैछ, रुखबिरुवा कटान गरिँदैछ । यसले जमिनको अवस्था थिल्थिलो भएको छ, पहिरोको जोखिम उच्च बनाएको छ ।

मानिसकै कारण उत्पन्न यस्ता समस्यालाई दैवी विपत्ति भनेर मात्र चुप लाग्नु हुँदैन । विकासका नाममा गरिने खर्च र प्रविधिको प्रयोगको दुरगामी असर वा प्रभावको आधारमा गरिनु पर्दछ । क्षणिकता, भावावेश र लोकप्रियताका लागि गरिने कामले अपेक्षित परिणाम दिँदैन । मानव जीवन अमूल्य छ, यस्तो अमूल्य जीवन अरु कसैको स्वार्थसँग साटिनु हुँदैन । भू–बनौटले अति संवेदनशील नेपाली माटो त्यही संवेदनाबाट उपयोग गरिनु पर्दछ । पहाडमा पहिरोको त्रास भए जस्तै तराई बाढी र डुवानको चपेटामा छ । बाढी र डुवानले लगाइएको अन्नबाली नष्ट भएको छ भने कटान र डुवानले करोडौंको क्षति गराएको छ । यी सबै क्षतिका कारकतत्वको खोजी गरी दीर्घकालीन समाधान खोज्न सरकार र सम्बद्ध संस्थाले पहल गरोस् । अन्यथा यसले पार्ने असर अझ बढ्दै जाने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here