कालोपत्रेको अर्बौं लगानी खेर जाँदै, कालोपत्रेभन्दा पेभर्स ‘गुणस्तरीय’

0
1554

बिनोद पाण्डे / बिर्तामोड।

८७ लाखको कालोपत्रे उक्कियो

झापाको बाह्रदशी –३ राजगढमा ८७ लाखको लागतमा गरिएको कालोपत्रे काम सकिएको केही समयमै उक्किन थालेको छ । स्थानीयले तीब्र विरोध गरेपछि इञ्जिनियर नरेन्द्र श्रेष्ठले राजीनामा दिएका छन् भने गाउँपालिकाले बाँकी भुक्तानी रोक्का गरेको छ ।

३० लाखको कालोपत्रे १२ घण्टा टिकेन

झापाको अर्जुनधारा –११ बसपार्कमा ३० लाखको लागतमा गरिएको कालोपत्रे १२ घण्टा पनि टिकेन । सडक डिभिजन कार्यालय दमकसँंगको सम्झौता भई कालोपत्रे गरिएको सो सडककोे पनि बाँकी भुक्तानी रोकिएको छ ।

८२ लाखको कालोपत्रे गुणस्तरहीन

झापाको बिर्तामोड नगरपालिका –५स्थित मुक्तिचोकको पश्चिमबाट उत्तरतर्फ कृष्ण हल जाने सडक र शनिश्चरे रोड निस्किने सडक ८२ लाख रुपैयाँको लागतमा कालोपत्रे गरियो । सो सडकखण्डमा मोटरसाइकलको स्टेण्ड लगाउँदा पिच भासिएर मोटरसाइकल लड्न थालेपछि त्यसको गुणस्तरको विवाद सार्वजनिक भएको हो ।

चार महिना नबित्दै सडक भत्किन थालेपछि बिर्तामोडमै कमसल काम भएको भन्दै आलोचना भयो । नगरपालिकाले उपभोक्तासँग ६०–४० साझेदारीमा सडकमा कालोपत्रे गरेको थियो ।

दुई करोडको कालोपत्रे १ महिना टिकेन

बागलुङ जिल्लाको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उक्किएको छ । दुई करोड रूपैयाँको लागतमा निर्माण भएको गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाइ तथा ३.७५ मिटर चौडाइ कालोपत्रे गरेको सडक एक महिनामै उक्किएको हो ।
कालोपत्रे गरेको सडक एक महिनामै उक्किएको छ ।

८३ करोडको कालोपत्रे गुणस्तरहीन

शहरी विकास तथा भवन निर्माण विभागद्वारा जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा कालोपत्रे गर्न लागिएको सडक गुणस्तरहीन भएको भन्दै स्थानीय बासिन्दाले खबरदारी गरेका छन् । सरकारको ८३ करोड रुपैयाँ लगानीमा जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा कालोपत्रेको काम हँुदैछ ।

काम नसक्दै उक्कियो कालोपत्रे

पूर्व–पश्चिम राजमार्गको हरिवनदेखि कौडेना जोड्ने क्षेत्रीय सडकको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले एकातिर कालोपत्रेको काम गरिरहँदा अर्कोतिर उक्किन थालेको छ । पटक–पटक म्याद थप गरेर काम गरिरहेको पप्पुको कालोपत्रेको गुणस्तर एकदम कमजोर छ । ३० किलोमिटरको सडकमा कालोपत्रेको काम पूरा हुन नपाउँदै भएको कालोपत्रे दर्जनभन्दा बढी ठाउँमा भत्किसकेको छ ।

एउटै सडक प्रत्येक २/३ महिनामा कालोपत्रे

काठमाडौंको गौशला –चावहिल–चुच्चेपाटी सडक खण्ड मा प्रत्येक दुईदेखि तीन महिनामा कालोपत्रे (पिच) गरिन्छ । पिच मात्रै गरिरहँदा बर्षेनी लाखौं बजेट यही सडकका लागि खर्च भइरहेको छ ।

विभिन्न सञ्चार माध्यममा बितेका केही सातामा आएका शीर्षक र समाचार हुन् यी । सडकलाई शहरको नशा मानिन्छ । अहिले गाउँसम्म नै कालोपत्रे गर्ने लहर चलेको छ । तर, कालोपत्रे सडक हिउँदभरी धुलाम्मे हुन्छन् । बर्खा लागेपछि हिलाम्मे बन्छन् । खाल्डा–खुल्डी नपरेको सडक देख्नै मुस्किल पर्छ । पिच (कालोपत्रे) गरेको केही समयमै भत्किन र उक्किन थाल्छन् । आवधिक मर्मत ३, ५ र ७ बर्षमा गरिन्छ । तर, नेपालमा बर्षेनि सडक मर्मतसम्भार र पिच गरिएको पाइन्छ । यसबाट राज्यको अर्बौं रुपैयाँ खर्च भइरहेको छ ।

खबरदारी गर्दै इन्द्रमणि पौडेल सामाजिक सञ्जालमा लेख्छन्– ‘लक्ष्मीपुर – साधुटार कृषि सडक तीन मिटर पचहत्तर सेन्टिमिटरमा कालोपत्रे भएको थियो । लोड गरेको ट्रिपरले सडकमा क्षति गर्न थालेको छ । बेलैमा सबैको ध्यान जान जरुरी छ ।’ यसबाट थाह हुन्छ भारवहनमा पनि कालोपत्रे कमजोर देखिन्छ ।

कालोपत्रेको विकल्पमा सवैको रोजाइ बन्दै पेभर्स

भारत लगायत विश्वका धेरै मुलुकमा कालोपत्रेको विकल्पमा इन्टरलक कंक्रिट पेभर्सबाट सडक बनाउने क्रम बढेको छ । नेपालमा केही समयदेखि यो प्रविधि भित्रिएको छ । अहिले विभिन्न क्षेत्रमा सडक बनाउँदा कालोपत्रेको सट्टा पेभर्स प्रयोग गर्न थालेको देखिएको छ । आकर्षक देखिने, वातावरणमैत्री, टिकाउ भएका कारण पेभर्स रोजाइमा परेको उपभोक्ताहरु बताउँछन् ।

बिर्तामोड नगरपालिकाका प्रवक्ता वडा नं. –१ का अध्यक्ष अग्नि पाण्डे भन्छन् – कालोपत्रेमा ग्यारेन्टी वारेन्टी नहुने, पानीका कारण एक बर्षमै खाल्डा पर्ने गरेकोले बजेटको दुरुपयोग हुने र सर्बसाधारणलाई सास्ती भएकोले त्यसको बिकल्पमा नयाँ प्रविधि पेभर्सको प्रयोग गरेर सडक बनाउन वडा कार्यालय अग्रसर बनेको हो ।

हेर्दा राम्रो, बलियो र ५ बर्षको ग्यारेन्टी र २० बर्षको वारेन्टी पाएको कारणले हामीले कंक्रिटको बाटो बनाउन थालेका छौं । अझ हामीलाई मन परेको विषय भनेको कुनै एक भाँचिई गयो भने तुरुन्त फेर्न मिल्दो रहेछ र भाँचिएको ठाउँमा खाल्डो पनि नपर्ने रहेछ ।

कालोपत्रेको तुलनामा लागत पनि उस्तै पर्ने भएकोले हामि यो पद्धती प्रति आर्कषित बनेका हौं । हाल हामीले ५ वटा सडक बनाई सकेका छौं अब बन्ने सडक पनि पेभर्सकै प्रयोग गरेर बनाउँछौं ।

नेपालमै पहिलो पटक जर्मनी प्रबिधिबाट पेभर्स उत्पादन गरिरहेको झापा अर्जुनधाराको विल्डकन ईन्ड्रस्टिजले प्रदेश १ का विभिन्न जिल्लामा यस्तो सडक बनाउने काम गर्दै आएको छ ।

विल्डकन इण्ड्रष्ट्रिजका मुख्य प्राविधिक अनिल दाहालको भनाइ छ –अन्तराष्ट्रिय आईएसओको मापदण्ड अनुसार ३५ बार माथि हुनु पर्नेमा हाम्रो उत्पादनको ल्याव टेष्ट नतिजा ४६.७ रहेको छ । हाम्रो मात्र रिर्पोट होइन बिर्तामोड नगरपालिकाले पनि आफ्नो तर्फवाट विल्डकनको पेभर्सको ल्याव टेष्ट गराएको थियो ।

त्यहाँ पनि आईएसओको मापदण्ड पूरा भएकोले रिर्पोट प्रमाणित भए पछि बिर्तामोड नगरपालिकाको विभिन्न क्षेत्रमा अहिले धेरै काम भइसकेको छ । त्यसै उदारहणका लागि बिर्तामोड शनिश्चरे रोडमा रहेको पाथिभरा टोलको दुईवटा सडक, शनिश्चरे बजार, अर्जुनधारा मन्दिर परिसर, कन्याम पर्यटकीयस्थल, बिर्तामोड पञ्चकन्या धर्मकाँटा दक्षिण एक प्लानिङमा २४ फिटे एक किलोमिटर सडकलाई हेर्न सक्छौं ।

नयाँ उत्पादन भएकोले हाम्रो ठाउँमा धेरै मानिसहरुलाई बुझाउन र बुझन नसकिरहेको अवस्था छ । तर क्रमशः बुझ्ने क्रम बढदै छ अन्तराष्ट्रियमा त हरेक निर्माण यस्तै कंक्रिटबाट गर्ने चलन पुरानै भइसक्यो ।

यो जर्मन प्रविधिबाट उत्पादन हुने पूर्र्वको पहिलो कम्पनी हो । ८० टनभन्दा माथि भारवहन क्षमता भएको पेभर्स सडक तथा आउटडोर फोलरिङका लागि अति नै उपयोगी छ । झापाका विभिन्न स्थान र प्रदेश १ मै यसको माग बढदै गएको छ । हाल उत्पादनको छोटो अवधिमा ५ लाख स्क्वायर फिटभन्दा धेरै क्षेत्रफल र साना ठूला गरी ८५ वटा काम गरिसकेका छौं ।

कालोपत्रेभन्दा सस्तो र २० बर्षको वारेन्टी भएको पेभर्स विभिन्न रंगमा उपलब्ध रहेको छ । त्यसकारण चोक बजारका बाटो गल्ली, आगनहरु आकर्षक देखिन्छ ।
प्राविधिकका अनुसार यसबाट सडक बनाउँदा टुटफुट कम हुने, मर्मत सम्भार खर्च न्यून हुने बताइएको छ ।

‘राजमार्ग तथा सहायक राजमार्गहरुमा बनाउनु पर्ने ढलमा प्रयोग हुने नाला पनि हामी उत्पादन गर्छौं ’– प्राविधिक अनिल दाहालले भने – ‘नालाहरु सोझै माटो खनेर जडान गर्न सक्ने अवस्थामा हामी छौँ ।’ कालोपत्रेमा जस्तो मौसमी प्रतिकूलताले पेभर्स सडकमा कुनै असर गर्दैन ।

सरकारीस्तरबाट मान्यता प्राप्त विल्डकन इण्ड्रस्टिजले तयार गर्ने पेभर्स सडक छिटो निर्माण हुने अर्थात निर्माणमा समय नलाग्ने बताइन्छ । बिल्डकन इण्ड्रष्टिजले जर्मन प्रविधिको अत्याधुनिक स्वचालित मेसिनबाट फ्ल्यास ब्रिक्स, पेभर्स टाइल्स र होलो ब्लक उत्पादन गर्दै आएको छ ।

सडक बनाउँदा हुने कमजोरी

विज्ञहरुका अनुसार सडकको आयु डिजाइन, निर्माण सामाग्रीको गुणस्तरीयता, मेन्टेनेन्स, सडक प्रयोग गर्ने तरिका, निर्माण कम्पनीको काम गर्ने शैली, ड्रनेज पानीको व्यवस्थापन लगायतका विषयहरुले फरक पर्छ ।

नेपालमा ओटासिल, प्रिमिक्स, सर्फेस ड्रेसिङ, असफल्ट गरी चारवटा तरिकाबाट कालोपत्रे गरिन्छ । सामन्यतया सर्फेस ड्रेसिङ ५, प्रिमिक्स ६ र एसफल्टको ८ बर्षको न्युनतम् आयु हुन्छ । आवधिक मर्मत सम्भार गर्ने सके लामो समय टिकाउन सकिन्छ । नेपालमा भने निर्माण गरेको एक बर्ष पनि टिक्दैन ।

कमसल विटुमिन

सडक कालोपत्रे गर्दा प्रयोग हुने प्रमुख बस्तु विटुमिन (अलकत्रा) हो । सडकको कालोपत्रे गर्नुअघि गुणस्तर अनुसन्धान विकास केन्द्रबाट विटुमिन परीक्षण गराउनु पर्ने हुन्छ ।

विटुमिन सम्वन्धित आयोजनाको इञ्जिनियरको रोहवरमा ल्याइन्छ । ल्यावले विटुमिन टेष्ट गरेर पठाउने गर्छ । सम्वन्धित आयोजनाको इञ्जिनियरले स्पेसिफिकेशन अनुसार भए नभएको हेर्छ । सडकका लागि उपयुक्त छ वा छैन भन्ने निर्णय गर्छ । यहाँ इञ्जिनियर र ठेकेदार कम्पनीबीच साँठगाँठमा कम गुणस्तरको विटुमिन समेत प्रयोग गर्न सक्छन् ।

त्यसैगरी नमूना विटुमिन परीक्षण गरेर सबै गुणस्तरीय छ भनेर कालोपत्रे गर्न दिइन्छ । तर निर्माण कम्पनीले धेरैजसो सडक आयोजनाहरुमा कम गुणस्तरको विटुमिन प्रयोग गर्छन् ।

‘सडक टिक्न प्रयोग गरिने सबै मेटेरियल गुणस्तरीय हुनैपर्छ ‘सिनियर डिभिजनल इञ्जिनियर विनोद सापकोटाले भने ‘विटुमिन क्वालिटीको भएन भने सडक ध्वस्त हुन्छ ।’ उनका अनुसार विटुमिनसँगै गिटी, वालुवालगायत अरु निर्माण समाग्री त्यसको मिसावट तथा स्फेसिफिकेशनको सबै प्यारामिटर पास गरेको हुनुपर्छ ।

सापकोटासँग सेन्ट्रल ल्याबमा दुई बर्षमा काम गरेको अनुभव छ । त्यसैगरी थोरै डिजेल विटुमिनमा मिसाएर कालोपत्रे गर्न दिइन्छ तर ठेकेदारले मात्रा बढी गराएर प्रयोग गर्ने गरेको समेत पाइन्छ ।

गुणस्तरहीन निर्माण सामाग्रीको प्रयोग

विटुमिनसँग बेस, सब बेस तयार पार्न प्रयोग गरिने सबै निर्माण सामाग्री गुणस्तरको हुन जरुरी छ । निर्माण सामाग्रीको क्वालिटी कन्ट्रोल गर्न नसकिएका कारण सडकको कालोपत्रे नटिकेको गुणस्तर अनुसन्धान विकास केन्द्र प्रमुख शिव नेपालले जानकारी दिए । उनका अनुसार, सिमेन्टको जस्तै अरु निर्माण सामाग्रीको पनि प्रशस्त उद्योगहरु खुल्न जरुरी छ ।

सिमेन्ट डण्डी (छड) बजारमा किन्न गए सहजै पाइन्छ । गिटी र वालुवा रोडा माटो सहजै बजारमा पाइँदैन । यस्ता सामाग्री खोज्न कि खोलातिर जानु प¥यो कि क्वाइरी साइटतिर । यस्ता सामग्रीको नमूना परिक्षण गरेको आधारमा काम गरिएको हुन्छ । त्यसको नियामक निकाय छैन् ।

‘हामीकहाँ कन्स्ट्रक्सन मेटेरियलको इण्ड्रष्टी व्यापक रुपमा हुनु जरुरी छ, नेपालल भने– ‘एउटा फ्याक्ट्रीबाट आएका सामग्रीमा क्वालिटी कन्ट्रोल हुन्छ । अहिले खोलाबाट वा क्वाइरीबाट खोजेर ल्याएको मेटेरियलको कति ठाउँमा कुन–कुन मेटेरियल टेष्ट गर्नु ? ‘उद्योग नै खोलेर क्वालिटी कन्ट्रोल गरिएका निर्माण समाग्री मात्रै प्रयोग गर्नुपर्ने उनको तर्क छ ।

भू–अध्ययन नै नगरि ‘पिच’

सडक बनाउनुअघि भू–प्राविधिक अध्ययन गरिनु पर्दछ । माटो, तापक्रम लगायत सबै पक्षको अध्ययन गरेर मात्रै पिच गर्नु पर्ने हुन्छ । तर नेपालमा बनेका अधिकांश सडकहरु भू–अध्ययन बिना नै पिच गरिएका छन् ।

भू–अध्ययन महँगो हुने भएका कारण कम बजेटमा धेरै सडक बनाउनु पर्ने दबाब सडक विभागलाई छ । जसका कारण अध्ययन नै गरिँदैन । त्यस्तै विस्तृत आयोजना परियोजना (डिपिआर), वातारणीय प्रभाव मुल्याङकन समेत महत्वपूर्ण मानिन्छ ।

पानी र नालीको उचित व्यवस्थापन

पानीको व्यवस्थापन प्रणाली व्यवस्थित बनाउन नसक्दा सडकहरु विग्रिने गरेको छ । शहरका सडक चाँडो बिग्रनुको एउटा महत्वपूर्ण कारण पानी र ढलको उचित व्यवस्थापन गर्न नसक्नु हो ।

अधिकांश ठाउँमा सडक बनाउने क्रममा खानेपानी र ढल फुटेका कारण काम गर्न कठिन हुने अवस्था रहेको विज्ञको भनाइ छ ।

बजेट अभाव र प्रयोग संस्कृति

नेपालका अनुसार पर्याप्त बजेट नहुँदा पनि सडकहरु गुणस्तरीय बन्न सकेका छैनन् । डिजाइनमा ५० देखि ६० सेन्टिमिटरको थिकनेश (मोटाइ) आवश्यक छ भनिएको हुन्छ । त्यहाँ हिँड्ने ट्राफिक फ्लो, कस्ता सवारीसाधन हिँड्छन् त्यस अनुसारको भूगोल, वातारण सबै पक्ष अध्ययन गरेर डिजाइन गरिएको हुन्छ तर त्यो थिकनेश अनुसार सडक बनाउन पर्याप्त बजेट हुँदैन ।

जसका कारण थिकनेश घटाएर काम चल्ने मात्रै सडक बनाउनु पर्छ भन्ने अड्डीका कारण सडक निर्माण गरिन्छ । एकातिर आवश्यकभन्दा कम गुणस्तर भइसकेको छ त्यसमाथि निर्माण कम्पनीले कम मूल्य कवुल गरेर काम गरेको हुन्छन् । यसले गर्दा सडक झन् कमसल बन्छन् । अनि सडक केही समयमै भत्किन –उक्किन थाल्छन् ।
सडक प्रयोग गर्ने हाम्रो बानी–व्यवहार र संस्कृतिका कारण पनि आयु घटेको छ । जस्तो सडकमा जहाँ पायो त्यहीँबाट एक्सेस निकाल्ने, सडकमा पानी बगाइ दिने, निर्माण सामग्रीहरु थुपारी दिने जस्ता कारणले पनि टिक्दैन ।

सडक विभागका उपमहा निर्देशक शिवहरि सापकोटाका अनुसार, राष्ट्रिय राजमार्गसँग जोडिएर खोलिएका ट्र्याक र निर्माण गरिएका सडकबाट बगेका लेदो र माटोले लाइफलाइन ध्वस्त बनाएका छन् । जसले धेरै राजमार्गहरु नै विग्रने अवस्थामा पु¥याएको छ ।

तीनलाई दीगो बनाउनु पर्छ । राजमार्गको आयु तीनले घटाई रहेका छन् । आजको मुख्य समस्या यही नै हो– उनले भने ।

ठेक्का प्रणालीमै समस्या

सबैभन्दा कम कबुल गर्ने कम्पनीले ठेक्का पाउने अव्यवहारिक ठेक्का नीतिका कारण गुणस्तरीय सडक बन्न सकेका छैनन् ।

यातायात जानकार आशिष गजुरेलका अनुसार, कम मूल्यमा ठेक्का दिने नीतिका कारण गुणस्तरीयता कायम भएको छैन । जसका कारण सडक छिट्टै बिग्रेका हुन् ।
‘जति लागत लाग्ने हो, त्योभन्दा कम खर्च गर्नाले पनि सडकमा समस्या देखिएका हुन् – गजुरेलले भने –‘विकसित देशहरुमा हाम्रो जस्तो नीति छैन । गुणस्तर कायम गर्न ध्यान दिइएको हुन्छ । अनि धेरै बर्ष टिक्छ । ‘उनका अनुसार खाल्डो पर्यो भने समयमा मर्मत गरिँदैन । भ्वाङ परेपछि बल्ल मर्मत थालिन्छ ।

ठाँउ र परिस्थिति हेरेर प्रविधि अपनाउन नसक्दा पनि सडकहरु विग्रिरहेका छन् । यी बाहेक ठेकेदारको काम गर्ने शैली, डिजाइन अनुसार गुणस्तर कायम, तापक्रमको उतारचढाव जस्ता कारणले कालोपत्रे टिक्दैन । तर, पेभर्स सडक निर्माणका क्रममा ठेक्का प्रणाली, गुणस्तर लगायतका विषयमा कुनै समस्या नहुने बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here