जाग्रत हुँदै मेचीनगर

0
501

मेचीनगर नगरपालिका पूर्वीनाका भारतको पश्चिम बंगालसँग जोडिएको क्षेत्र हो । यी दुईका बीच भएर बग्ने मेची नदीले दुई देशको भूगोललाई छुट्याएको छ र जोडेको पनि छ । कुनै समय धुलाबारीको सर्वाधिक चर्चा हुन्थ्यो, आर्थिक क्षेत्र र व्यापारिक कारोबारका कारण भने त्यस पूर्वको काँकरभिट्टाको अलग्गै महत्व थियो । संघीयताले थुप्रै स्थानीय तहलाई संगठित गर्दै बृहत् पालिका निर्माण गरेपछि मेचीनगर बनिएको यो क्षेत्र केही अघिसम्म मुर्झाएको थियो ।

मेचीनगर सीमान्त स्थानीय तह हो । सीमानामा रहेका कारण एकातिर यसको सामरिक महत्व छ भने कतिपय अवस्थामा यसलाई अवैध कारोबारको ढोकाका रुपमा समेत लिइन्छ । अािर्थक दृष्टिले मेचीनगर राष्ट्रिय आयको एउटा प्रमुख स्रोत हो जहाँ भन्सार कार्यालय छ र वैध सामानको आयातबाट आयआर्जन गरिन्छ । त्यही आयले राज्यकोषलाई भरथेग गर्छ र, समृद्धिको आधार तयार हुन्छ । कुनै दिन नेपालको ‘हङकङ मार्केट’ भनिने धुलाबारीले राष्ट्रिय आयको ठूलै हिस्सा ओगटेको थियो । तर पछि चन्दा, असुरक्षा एवम् भौतिक पूर्वाधारहरुको अभावमा त्यहाँको व्यापारिक परिस्थिति प्रतिकूल भयो ।

उद्योगी, व्यापारीहरुको संस्था मेची उद्योग वाणिज्य संघको छहारीमा रहेका त्यहाँका उद्योग र व्यावसायिक प्रतिष्ठानहरु लगानीमैत्री वातावरण नभएका कारण विस्थापित भए । जसका कारण धुलाबारीको सौन्दर्य उजाड बन्यो मात्र होइन सरकारको आम्दानीको स्रोत नै बन्द भयो । त्यसको परिणाम उद्योगी तथा व्यापारीहरुले पेशा नै त्याग्नुपर्ने परिस्थिति बनियो । आज नयाँ संरचनाले धुलाबारी र सीमान्त बजार काँकरभिट्टालाई जोडेको छ । यसको स्वरुप, क्षेत्र र महत्व पनि बढ्न थालेको छ ।

बदलिएको परिस्थितिले मेचीनगर क्षेत्रमा अहिले उद्योग तथा व्यवसायको पुनरागमन हुन थालेको सुखद् समाचार आएको छ । यसले उद्योग र उद्योगीहरुको गुमेको विश्वास फेरि जागृत भएको देखाएको छ । देशको सम्पूर्ण विकासको आधार अर्थतन्त्र भएका कारण त्यस क्षेत्रको शान्ति, सुरक्षा, पूर्वाधार र अनुकूल वातावरण निर्माण गर्न नगरपालिका र उद्योग वाणिज्य संघले विशेष भूमिका निर्वाह गर्नुपर्छ । त्यसो भएमात्र वित्तीय संस्थाहरुले पनि लगानीको वातावरण पाउँछन् जसले राष्ट्रको समृद्धिमा योगदान दिन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here