भद्रपुर।

तोकिएकै विद्यालयमा शिक्षा लिनुपर्ने कचनकवल गाउँपालिकाको निर्णयविरुद्ध विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
गाउँपालिकाको शिक्षा नीति एक विद्यालय एक संकायको विरोधमा आन्दोलनमा उत्रिएका बिद्यार्थीहरुले आइतबार हात र निधारमा कालोपट्टि बाँधेर सिटी जुलुस निकाल्दै गाउँपालिका घेराउ गरेका थिए । कचनकवल–५स्थित बनियानी बजारमा भेला भएका करिब पाँच सय विद्यार्थीहरुले सिटी जुलुस प्रदर्शन गरी बजार परिक्रममा गर्दै करिब दुई घण्टा गाउँपालिका घेराउ गरे ।
घेराउ पश्चात आयोजित कोणसभामा बोल्दै विद्यार्थी नेताहरुले निर्णय सच्याउन गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । तीन दिनको अल्टिमेटमभित्र पनि विद्यार्थीले राखेको माग सुनुवाई नभए आन्दोलनमा उत्रिने ज्ञापन पत्रमा उल्लेख छ । ‘पहिलो चरणको शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अनुसार कालोपट्टि बाँधेर सिटी जुलुस प्रदर्शन गरेका छौ’– अनेरास्ववियु जिल्ला सचिव रोशन लामाले भने– ‘यस पश्चात पनि गाउँपालिकाको नेतृत्वले निर्णय नसच्याए गाउँपालिकाबिरुद्ध कडा आन्दोलनमा जान्छौ ।’
संविधानमा उल्लेख भए बमोजिम बिद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित पार्ने खेलमा गाउँपालिका लागेको बताउँदै उनले भने– ‘शिक्षा समितिमा विद्यार्थीको प्रतिनिधित्व गराउन गाउँपालिका चुकेकोले बिद्यार्थीको भविष्यमा अन्यौल सृजना भएको हो ।’ कोणसभामा नेपाल बिद्यार्थी संघका जिल्ला सचिव नारायण नेपाल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भक्त विक लगायतले बोलेका थिए । गाउँपालिकामा रहेका माध्यमिक तहका तीन वटा बिद्यालयलाई छुट्टाछुट्टै संकायमा पठनपाठन गराउने भनी गरेको निर्णयको बिरोधमा त्यहाँका बिद्यार्थीहरू आन्दोलित बनेका हुन् ।
गत साउन १४ गते गाउँपालिकाको निर्णय अनुसार लक्ष्मी मावि बनियानीमा नेपाली माध्यममा व्यवस्थापन संकाय, पथरिया माविमा व्यवस्थापन संकाय, अंग्रेजी माध्यममा र लक्ष्मीप्रसाद देवकोटा माविमा व्यवस्थापन संकाय अंग्रेजी माध्यममा मात्र पढाउनुपर्ने उल्लेख छ । यसले गाउँपालिकाका आम बिद्यार्थीमा मार पर्न गएको भन्दै पहिला जस्तै अध्ययन गर्न पाउनुपर्ने विद्यार्थी सङ्गठनहरूले साउन २१ गते बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।





























