दमकमा डेंगु अझै नियन्त्रण बाहिर

0
885

दमक।

झापाको दमकमा तीन महिनाअघि देखापरेको डेंगु रोगको संक्रमण अझैं नियन्त्रणमा आएको छैन । जसका कारण अहिले पनि दमकका विभिन्न अस्पतालमा डेंगु रोगीको संख्या एक सय २५ जना भन्दा बढी रहेको दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए । उनका अनुसार दमक अस्पतालसहित आम्दा, लाइफलाइन, एड्भान्स, अस्पतालमा अहिले पनि एक सय २५ भन्दाबढी डेंगु संक्रमित विरामीले उपचार गराइरहेका छन् ।

दमकमा डेंगुको संक्रमणले महामारीकै रुप लिएपछि अहिले बिरामीलाई अस्पतालभित्रै झुल टाँगेर राखिएको छ । डेंगुको भाइरसद्वारा संक्रमित भएको बिरामीलाई टोकेको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले निरोगी मानिसलाई टोकेमा यो रोगको संक्रमण सर्ने भएपछि अस्पतालमा आएका सबै डेंगु संक्रमित बिरामीलाई झुल टाँगेर मात्रै उपचार शुरु गरिएको लाइफलाइन अस्पतालमा कार्यरत डाक्टर खुश्वु प्रियाले बताइन् । उनले भनिन् – ‘डेंगू संक्रमित बिरामीलाई टोकेको लामखुट्टेले अरुलाई नटोकोस् र डेंगु नसरोस् भन्दै अस्पतालमा भर्ना भएका बिरामीको उपचार गर्दा झुल टाँगेर अपचार शुरु गरेका हौं ।’

डा. प्रियाले दमक आसपासको क्षेत्रमा यो रोगको संक्रमण ज्यादै फैलिएकाले सबैलाई सचेत रहन आग्रह समेत गरिन् । तीन वर्षअघि पनि दमक क्षेत्रमा डेंगु रोगको संक्रमण फैलिँदा महामारीकै रुप लिएको थियो । यो वर्ष पनि बैशाखको पहिलो साता यो रोगको संक्रमण देखा परेको र अहिलेसम्म नियन्त्रणमा नआएको अर्यालको भनाइ छ ।

डेंगु रोगको संक्रमण फैलिएर महामारीको रुप लिएपछि दमक नगरपालिकाले दमक अस्पतालमा आएका सबै विरामीलाई निःशुल्क उपचार गराउँदै आएको र निजी अस्पतालाई पनि सकेसम्म डेंगु संक्रमित विरामीलाई निःशुल्क उपचार गराउन आग्रह गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अर्यालले बताए । उनले भने– ‘दमक अस्पताल सरकारी भएकाले यहाँ निःशुल्क उपचार हुन्छ अन्य निजी अस्पताल भएकाले सवै उपचार निःशुल्क गर भन्न सक्ने अवस्था छैन ।

यसैले यदि कसैको स्वास्थ्य परीक्षण गर्दा डेंगुको संक्रमण भेटिए दमक अस्पताल पठाइदिन आग्रह गरेका छौं ।’ डेंगुको संक्रमण भए–नभएको परीक्षण गर्दा लाग्ने किटमा मात्रै भए पनि निजी अस्पतालले छुट दिने हो भने बिरामीलाई उपचारमा सहज हुने उनको भनाइ छ । दिन प्रतिदिन डेंगु रोगीको संख्या बढेपछि दमक नगरपालिकाले १ नम्वर प्रदेश सरकारसँग डेंगु रोग नियन्त्रणका लागि आवश्यक सहयोग गर्न माग गरेको छ ।

डेंगु परीक्षणका लागि आवश्यक पर्ने किट, औषधि उपचार र दक्ष जनशक्ति उपलव्ध गराएर महामारीको रुपमा रहेको डेंगु रोगलाई फैलन नदिन सामाजिक विकास मन्त्रालयलाई आग्रह गरिएको अर्यालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here