ग्यासको सट्टा बिजुली प्रयोग बढाउन आव्हान

३१ श्रावण २०७६, शुक्रबार मा प्रकाशित

झापा।

नेपाल विद्युत् प्राधिकरणले अहिले मनग्ये बिजुली रहेको र उत्पादन बढ्न थालेको भन्दै उपभोक्तालाई घरायसी प्रयोजनमा विद्युत् खपत बढाउन आह्वान गरेको छ ।

प्राधिकरणले उपभोक्तालाई विद्युतीय सवारीसाधन प्रयोग गर्न समेत आग्रह गरेको छ । तर, वर्ष भरी बिजुली उत्पादन र आपूर्ति एकैनास नहुने जोखिम कायमै रहेकोले उपभोक्ताहरू सहजै एलपी ग्यास छोडेर विद्युतीय उपकरणतर्फ आकर्षित हुने अवस्था नरहेको जानकारहरू बताउँछन् ।

जलस्रोत विश्लेषक रत्नसंसार श्रेष्ठका विचारमा प्राधिकरणले आग्रह गर्दैमा उपभोक्ताहरूले आफ्नो ‘भान्साको विद्युतीकरण’ गर्न थप लगानी गरिहाल्न सक्ने अवस्था छैन । उनी भन्छन्– अहिले बर्खाको बेला भएर बिजुली बढी उत्पादन भइरहेको हो । तर, हिउँद तथा सुख्खा याममा बिजुली उत्पादन घट्न जान्छ । त्यो बेला सबैलाई बिजुली पु¥याउन कठिन हुन सक्छ ।

बिजुली कति उपलब्ध छ ?

प्राधिकरणका अनुसार अहिले देशभर १३ सय मेगावाट बिजुलीको माग छ । त्यसै अनुसार आपूर्ति भइरहेकोले विद्युत् कटौती अर्थात लोडसेडिङ हुने अवस्था छैन ।

तर, यी सबै बिजुली नेपाल भित्रै उत्पादन भएको भने होइन। ६३ प्रतिशत बिजुली प्राधिकरण र निजी क्षेत्रका आयोजनाले उत्पादन गरेका हुन् भने बाँकी ३७ प्रतिशत बिजुली भारतबाट आयात गरिएको हो । प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले भने– अहिले नेपाल र भारतबीच बिजुली व्यापार र आदानप्रदान सहज भएकोले पनि विद्युत वितरण सहज भएको छ । त्यसैले हामी उपभोक्ताहरूलाई खाना पकाउन बिजुली प्रयोग गर्नुहोस् भन्नसक्ने अवस्थामा पुगेका हौँ ।

बिजुली प्रयोगका फाइदा

न्यौपानेका अनुसार काभ्रेको बालुवामा हालै गरिएको एक अध्ययनमा विद्युतीय उपकरण प्रयोग गर्ने भान्सामा एलपी ग्यास प्रयोग गर्दाभन्दा खर्च कम भएको पाइएको छ ।

उनले भने– बिजुली प्रयोग गर्दा प्रतिदिन तीन रुपैयाँ सस्तो पर्न गएको पाइयो। वातावरण र स्वास्थ्यमा पुग्ने फाइदा त छँदैछ । विज्ञहरू भन्छन् नेपालमा उत्पादित बिजुलीको उपभोग बढीभन्दा बढी गर्ने हो भने इन्धन र ऊर्जाको लागि नेपालको परनिर्भरता क्रमशः घट्दै जाने छ ।

नेपाल आयल निगमका अनुसार देशभित्र इन्धन र ऊर्जाको स्रोत नहुँदा गत आर्थिक वर्षमा करिब दुई खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरिएको थियो । निगमका प्रवक्ता वीरेन्द्र गोइत भन्छन्– पेट्रोलियम पदार्थको आयात क्रम वर्षेनि १० प्रतिशत औसतले बढ्दै छ ।

बिजुलीको प्रयोग बढेर त्यसको उपभोग घट्न थाल्यो भने हाम्रो अभिलेखमा देखिन्छ । अहिले त्यस्तो अवस्था छैन । निगमका अनुसार गाडीमा प्रयोग गरिने पेट्रोल र डिजल मात्र होइन, भान्सामा प्रयोग हुने एलपी ग्यासको आयात पनि बढ्दो छ । गत आर्थिक वर्षमा करिब तीन करोड २० लाख सिलिन्डर भर्न पुग्ने चार लाख २९ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको थियो ।

बिजुलीको सम्भावना

यसै साता अंग्रेजी साप्ताहिक नेपाली टाइम्समा वातावरणविद् अनिल चित्रकारले विगत १० वर्षमा नेपालमा एलपी ग्यासको आयात चार गुणाले बढेको बताएका छन् ।

चित्रकार लेख्छन्– एलपी ग्यासको आयातले अहिले देशको कूल आयातको २.५ प्रतिशत हिस्सा ओगट्न थालिसकेको छ । बिजुलीको प्रयोग गरेर भात पकाउँदा त्यति धेरै फरक नपर्ला । तर, हरेक वाट बिजुलीको महत्व छ । बिजुली आपूर्ति अविरल हुने हो भने घर र भान्सामा विद्युतीय उपकरणको प्रयोग बढ्ने सम्भावना देखिन्छ ।

गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङ भन्छिन्– अहिले ग्यास नै बढी प्रयोग भइरहेको छ । तर, बिजुली नियमित हुने हो भने सबैले इन्डक्सन चुलोको बढी प्रयोग गर्न थाल्नेछन् । (वीवीसी)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here