दिपेन्द्र राउत,
सर्वसाधारण र बैंक सहकारीको मुख ताक्दै भन्ने शीर्षकमा राष्ट्रिय दैनिकमा जब समाचार पढन पाए तब आम सर्वसाधारण र वित्तीय कारोबार गर्ने संस्था भन्नेले सहकारीको महत्व बुझ्न थाल्नु भएछ भन्ने मलाई लाग्यो । नेपालमा वित्तीय कारोबर गर्ने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त र कान्छो संस्थाको रुपमा सहकारी संस्थालाई लिने गरिन्छ ।
यी सबै संस्थाहरु वित्तीय कारोबार गर्ने संस्था भएता पनि सहकारीलाई आम समुदायले वित्तीय कारोबार गर्ने संस्था भनेर खासै महत्व दिएको पाइँदैन थियो । नेपालमा बैंकको इतिहास हेर्दा १९९४ सालबाट सरकारी स्तरबाट शुरुवात भएको पाइन्छ । ७९ वर्ष बैकिङ क्षेत्रले पार गरिरहँदा देशमा २५ वटा नीजि बाणिज्य बैंक, ५५ वटा विकास बैंक, ३७ फाइनान्स कम्पनी, ४७ लघुवित्त बैंक र ३ सरकारी बाणिज्य बैंकले सर्वसाधारणसँग प्रत्यक्ष कारोबार गरिरहेका छन् ।
७९ वर्षमा बैंक तथा वित्तीय क्षेत्रमा नीजि क्षेत्रबाट उल्लेख्य लगानी गरिरहँदा सहकारीको अवधारण २०१३ सालबाट शुरुवात भएको पाइन्छ । दैवी विपत्तिबाट समुदायलाई पर्न गएको क्षतिलाई न्यूनीकरण गर्नको लागि स्थापित भएको सहकारीको अवधारणा २०१३ बाट शुरु भएता पनि २०४८ सालपछि भने सहकारीले विशेष भूमिका खेलेको पाइन्छ । सामुहिक हितका लागि स्थापित सहकारी संस्थाहरु समुदायबाट सञ्चालित भएको हुन्छ । सन् १८४४ बाट विश्वको सहकारी इतिहास शुरुवात भएको पाइएको छ । एक सय ७३ बर्ष पहिला शुरुवात भएको विश्वको सहकारी इतिहासले वास्तवमा आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । आर्थिक क्षेत्रमा मात्र नभएर सहकारीले विभिन्न क्षेत्रमा कार्यहरु गरेको छ भने उत्पादनको क्षेत्रमा त अन्तर्राष्ट्रिय ब्राण्ड भइसकेको छन् । विश्वमा सहकारी माध्यमबाट समग्र देशको प्रगति भएको हामी पाउन सक्छौं ।
नेपालमा सहकारीभन्दा पहिला बैंकको शुरुवात भएता पनि बैंक तथा वित्तीय संस्थाहरुले नेपाली जनतामा उल्लेख्य पहुँच बनाउन सकेको पाइँदैन । बैंकले आर्थिक हैसियत भएकाहरुलाई अझ बढी आर्थिक उन्नति गर्दै गयो भने न्यून आय र तल्लो बर्गलाई भने खासै आय आर्जनमा उन्मुख गराउन सकेन् । परिणाम स्वरुप देशमा धनी अझ धनी बन्दै गए भने गरीब अझ गरीब बन्दै गएको अवस्था रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरु शहर केन्द्रीत भएका थिए भने निश्चित व्यक्तिमा मात्र सिमित रहेका थिए । बंैकिङ कारोबार भनेको के हो ? किन आवश्यक छ ? र केका लागि गर्ने भन्ने ज्ञान पनि बैंक तथा वित्तीय संस्थाले दिने गरेको पाइँदैन थियो ।
यी कुराको ज्ञान नहुँदा मानिसले बैंक तथा वित्तीय संस्थाहरुसँग बैंकिङ कारोबर गरेको थिएनन् । बैंक तथा वित्तीय संस्थाहरुको पहुँच आम जनतामा वा गाउँका दुरदराजमा रहेका मानिसमा नपुगिरहेको अवस्थामा नेपालमा सहकारीको व्यापकता बढेको हो । बैंक तथा वित्तीय संस्थाको आर्थिक उन्नति भइरहँदा त्यो सिमित व्यक्तिसँग मात्र निहीत रहेको थियो । बैंकले वार्षिक रुपमा आयआर्जन गरिरहँदा त्यसको उपभोग सिमित मानिसले मात्र गरिरहेका थिए । जब सहकारीको शुरुवात भयो यसले आम सदस्यहरुलाई विभिन्न सिपमुलक तालिम दिई आयमूलक व्यवसायमा सदस्यलाई आवद्ध गराए सदस्यको आर्थिक वृद्धिमा प्रत्यक्ष सहभागिता जनाउन थाल्यो ।
सहकारीमा आवद्ध सम्पूर्ण मालिक भएर रहने हुँदा सहकारीको महत्व अझ व्यापकता बढेर गयो । सहकारीले सदस्यहरुलाई सहकारी शिक्षा दिएर सदस्यहरुको वृद्धि विकासका लागि विभिन्न योजनाहरु सहकारीले अवलम्वन गरेका छन् । सामुदायिक सोचमा सञ्चालित सहकारी नेपालमा केही बर्षयता आम मानिसको विश्वासको माध्यम बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दा ग्राहक भइने । तर, सहकारी संस्थासँग कारोबार गर्दा मालिक भइने र आफूलाई सारो गाह्रो पर्दा प्रत्यक्ष सहभागी हुने सहकारी भएको हुँदा सहकारीप्रति सदस्यहरुको विश्वास बढ्दै गएको छ । २०१२ मा विश्वमा बैंक, वित्तीय संस्था, औद्योगिक क्षेत्रमा व्यापक आर्थिक मन्दि आएको अवस्थामा पनि सहकारी क्षेत्रलाई आर्थिक मन्दिले छुन नसकेको इतिहास हामीसामु छन् ।
सहकारी भनेको स्वनियमकारी र स्वसञ्चालित संस्था हो । न्यून आय भएकाहरुलाई आयआर्जन बढाउने र थोरै थोरै बचत गर्दा धेरै बनाउन सकिन भएको हुँदा सहकारीमा मानिसले बचत गर्न थाले । धितो नभएकालाई विना धितो लगानी गरेर व्यवसायमा प्रोत्साहित गर्दै उद्योगी बनाउने, घर नहुनेलाई घर हुने बनाउने अवस्था सहकारीले बनाएको छ हाम्रो समाजमा । दैनिक बचत गर्न सिकाउने, दैनिक ऋण असुली गर्ने सहकारी भएको हुँदा यस क्षेत्रमा खासै मन्दिरले असर गदैन जसको परिणाम आज बैंक तथा वित्तीय संस्थामा तरलताको कमी हुँदा पनि सहकारीलाई खासै असर गरेको पाइँदैन ।
राज्यले सहकारीलाई तेस्रो खम्बाको दर्जा दिएता पनि राज्यबाट खासै सहयोग नहुँदा पनि सहकारीले स्वविवेकले उपलब्धि हाँसिल गरिरहेको छ । साथै राज्यबाट लगानी भएका बैंक तथा वित्तीय संस्थासँग जनतालाई दिने सेवासुविधामा प्रतिस्पर्धा गरिरहेको छ । सदस्यहरुको विश्वास र भरोसा यही अनुपातमा बढ्दै जाने हो भने सहकारी संस्था अन्य वित्तीय संस्थाभन्दा बढी अब्बल हुनेछ ।
(राउत शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, झापाका अध्यक्ष हुन् ।)
























