ठगिनु नेपालीको नियति हो । अरुप्रति विश्वास गर्ने बानीले ठगीमा परिन्छ नेपालीको गुण वा दोष के हो कि अरुप्रति विश्वास गर्छ । त्यो चाहे परिवारभित्रको होस् वा बाहिरको अथवा अर्कै देशको होस्, चाँडै विश्वास गर्ने विशेषताले निरन्तर ठगाइमा परिरहनु परेको छ । यस्तो लाग्छ कि ठग्नु बहादुरी हो र ठगिनु विशेषता ।
मानिस भौतिक सुखको लागि काकाकुल भइरहेको छ । भौतिककताको परिपूर्तिका लागि जुनकुनै उपायले अरुलाई क्षति पुग्नु ठगिनु हो । यसले आर्थिक, सामाजिक, मानसिक वा भौतिक क्षति गराउँछ यो ढिलोचाँडो सबैले अनुभूत गर्ने सत्य हो । कहिले रोजगारीका नाममा, कहिले शिक्षा वा सुविधाका नाममा त कतै ‘पैसाले पैसा कमाउँछ’ भन्ने लोभमा ठगिनु नेपालीको कमजोरी पनि हुनसक्छ । तर, पुर्खादेखि नेपाली सोझो, इमान्दार अनि बोलीको पक्का भनेर चिनिँदै आएकाले त्यही विशेषताले नेपालीलाई ठूला नेतादेखि उनीहरुका पिछलग्गु, व्यापारीदेखि कर्मचारी अनि सामाजिक अभियन्ता भन्नेदेखि थोरै पनि बाठाले सिधा नेपालीलाई ठग्न सके झन ठूलो बनिने मानसिकताले काम गरिरहेको छ ।
जनताको जीवन र धनको सुरक्षा गर्न हामीकहाँ प्रहरी प्रशासनको व्यवस्था गरिएको छ । उनीहरुको मूल जिम्मेवारी पनि त्यही । अशान्ति द्वन्द्व र हिंसा अभावका बीचबाट प्रकट हुने कारणले त्यस्ता तत्वलाई निस्तेज पार्ने दायित्व पनि उनीहरुकै हो । नेपाली नेतृत्व वर्गबाटै ठगिरहेका छन् । योजना वा निर्माण कार्यको नाममा, नीति, कार्यक्रम प्रतिबद्धता वा आश्वासनका आधारमा नेताहरुले भगवान भनिने जनतालाई ढाँट्छन् टाठाबाठाहरुले अलिक प्रलोभन वा भय सृजना गरेर ठग्छन् र चतुरहरुले चिल्ला कुरा गरेर ठग्छन् । यसको उदाहरण बैंक वा वित्तीय संस्थाको माध्यम बनाएर, हिजोआज सहकारी संस्थाका नाममा र कहिले ‘छिटो पैसा कमाउने’ बहानामा सिधासादा नेपालीले ठगिनु परेको छ भने कतिले त्यही पीडामा जीवन नै त्याग्नु परेको पनि छ ।
ठगीका फरक–फरक पद्धतिका कारण प्रत्येक परिवारले पीडित हुनुपरेको छ । वैदेशिक रोजगारले चिनीको चास्नी देखाएर दुःखको गतिमा पु¥याएको छ । व्यक्तिगत लाभका लागि काल्पनिक विषय उपस्थित गराएर विषयान्तरमा रमाउनु त्यसकै उपज हो । नागरिकलाई रोजगारीको प्रलोभनमा पठाएर विदेशीलाई नागरिकता बाँड्ने होस् वा कमसललाई गुणस्तरीय भनाइनु अथवा एउटा शीर्षकको सुविधा आफू अनुकूलका पात्रलाई प्रदान गरिनु सबै ठगीका उदाहरण हुन् । त्यसैले इमान, जवान, निष्ठा, धर्म र नैतिकता हाम्रा नेतृत्व वर्गमा सञ्चार गर्नु आजको पहिलो आवश्यकता हो । अन्यथा संरक्षकबाटै लुटिने र ठगिने यो परम्पराको अन्त्य हुने छैन । यसतर्फ सबैले गम्भीर हुनुपर्छ ।