आज श्रीकृष्ण जन्माष्टमी

0
2045

ज्यो. मधुसूदन रिजाल,

पालनहार भगवान विष्णुको आठौं अवतारको रुपमा कृष्णलाई मानिन्छ । भगवान कृष्णका अगाडि अन्य कुनै पनि देवताहरु आक्रमण स्वरुपमा देखिन्छन् । ब्रम्हा, विष्णु, महेश र अन्य देवीदेवताले आफ्नो हातमा कुनै न कुनै हातहतियार लिएको स्वरुमा हामी पूजा गर्दछांै । तर, कृष्णको स्वरुप मन्द मुस्कान भरिएको सम्मोहक व्यक्तित्वको छवि मनमा बन्ने गर्दछ । हातमा लिएको बाँसुरी र साथमा रहेकी राधाको प्रेम दुबैको तुलना गर्दा संगीत र पे्रम नै संसारमा पुज्य योग्य छ । धेरै धर्महरु उदास लाग्दा छन् साधुहरु संसारलाई अभाव सम्झेर नाङ्गै बस्दछन् । सन्यासीहरु जंगल पस्दछन् । धर्मको नाममा अनेक प्रकारमा दुःखकष्ट पाएर मानिसहरु भौतारी रहेको छ । धर्मले मनुष्यलाई आनन्दित बनाउनुको सट्टा निराशजनक बनाएको देखिन्छ । यस्तो उल्लासविहीन समयमा उत्सवपूर्ण प्रेम आनन्द र संगीतले भरिएका कृष्णको जीवन चरित्र बेग्लै अनौठो रहेको छ ।

‘यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम्’
अर्थात्
‘जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ, तब तब धर्मको रक्षाकालागि म स्वयम् यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ ।’
महाभारतमा पाण्डव र कौरवहरुबीच युद्धको पल कृष्ण पाण्डव पक्षमा थिए । कौरवहरुसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डवतर्फका अर्जुन एकदमै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ कौरव सेनामा आफ्नै दाजुभाइ र पितामह (हजुरबुवा) सम्मिलितविरूद्धको लडाई, हार र जीत दुबैमा निराशा थियो । श्रीकृष्ण आफू जगत्पुरुष भए पनि अर्जुनको मनोबल बढाउने उनको एउटा सामान्य सारथी (एक जोडी घोडायुक्त रथ हाँक्ने व्यक्ति)का रुपमा युद्धमा साथ दिएर ‘काम कहिले पनि सानो ठूलो हुँदैन’ भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबीचको सम्बन्धको व्याख्यालाई प्रेरणाको रुपमा उदाहरण प्रस्तुत गरेका छन् ।

‘हे अर्जुन तिमी किन युद्धको परिणामका बारेमा व्यर्थ चिन्ता लिन्छौ ? कर्म गर फलको आशा नगर ।’
एकातर्फ न्याय र धर्मको रक्षार्थ विनास अनि युद्धको नियतिसँग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्णरुपमा निर्दिष्ट छ । विभिन्न प्रसंगमा भगवान श्रीकृष्णको ब्याख्या गरिँदा उनको छेउछाउ जीवजन्तु, चराचरहरूको पनि नामका कारण जीवजन्तु र चराचरप्रतिको सेवा र स्नेहको सम्बन्ध पनि सुमधुर छ ।
श्री मद्भागवत् गीताका अनुसारः भगवान श्रीकृष्णको जन्म, लीलाहरू र उपस्थिती एकदमै अलौकीक छ, जसले ती कुराहरु बुझ्न सक्दछ उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँदछ । कृष्णको जन्म र भौतिक उपस्थिती हामी सामान्य मानवहरुको लागि पूर्वजन्मका कार्यको फलको रुपमा भएको होइन र आफ्ना भक्तहरुलाई आफ्नो माया–प्रेम दर्शाउन र उनीहरुलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ ।

हामी मध्ये धेरैले कृष्ण र उनको अवतारलाई टिभी सिरियलहरुमा देखेका छौं, उनको अवतार र कृष्ण नामको पात्र हामी मन पनि पराउँछौं । उनको सुमधुर व्यक्तित्वको परिकल्पना पनि हामी गर्छाैं, तपार्इं चाहे जुनसुकै धर्म या समुदायको हुनुहुन्छ, कृष्णलाई धर्मभन्दा पर राखेर एउटा स्नेहमयी इतिहासका रुपमा भगवान श्रीकृष्णलाई लिएर हेरौं, उनका वाक्यहरुमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, एउटा इतिहासको संक्षिप्त सार छ, नैतिक शिक्षा, यूद्ध कौशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ । भागवत गीता अनुमानित आजभन्दा लगभग पाँच हजार बर्ष पहिला अर्थात् कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्धभूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए ।

यो संजय र धृतराष्ट्रको संवादमा प्रश्नोत्तर प्रकारले लेखिएको छ । यसमा १८ अध्याय छन् भने ७०० सौ पद्यात्मक संस्कृतश्लोक छन् । यसमा अनुष्टुप छन्दको अधिक प्रयोग भएको छ । स्तुति आदि पद्यमा अन्य छन्दको पनि प्रयोग गरिएको छ यसको प्रथम अध्यायमा अर्जुनले खेद व्यक्त गरेको हुनाले अर्जुन विषादयोग अध्याय भनिएको छ । यस्तै प्रकारले अर्जुन र कृष्णको संवाद अनुसार अन्य अध्यायको पनि नाम राखिएको छ यसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको अध्याय क्रम अनुसार सुन्दर ढंगले चर्चा भएको छ । यो ऐतिहासिक ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद् हो यसमा अनित्य देहभन्दा नित्य आत्माको निरूपण गरिएको छ । यसलाई मोक्ष ग्रन्थ पनि भनिएको छ ।

गीता उपदेश

श्रीमद्भगवद्गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । जस्तो प्रकारले एउटा सामान्य मानिस आफ्नो जीवनको समस्यादेखि डराएर निराश भएर आफ्नो कर्तव्यदेखि विमुख हुन्छ र त्यसदेखि भाग्छ । त्यस्तै प्रकारले महाभारत युद्धको महानायक अर्जुन आफ्नो अगाडि आइपरेको समस्यादेखि डराएर आफ्नो क्षेत्रीय धर्मदेखि विमुख भए यो समस्या हर व्यक्तिलाई आइपर्ने समस्या हो । यसलाई प्राचीन ऋषिमुनिहरुद्वारा गहन विचार गरेर जुन ज्ञान प्राप्त गरे त्यसलाई वेद भनियो । त्यही वेदको अन्तिम भागलाई उपनिषद् भनिन्छ ।
मनुष्य जीवनको विशेषता मनुष्यमा रहेको बौद्धिक क्षमता नै हो र उपनिषद्मा निहित भएको ज्ञान मनुष्यको उच्चतम् अवस्था हो यसबाट मनुष्य आफ्नो बुद्धिको सीमाभन्दा परको अवस्थालाई प्राप्त गर्छ । त्यही ज्ञानलाई औपनिषदिय ज्ञान भनिन्छ । त्यही ज्ञानलाई सामान्य अर्थात् उपनिषद्को कठिन अर्थलाई सामान्यरूपले दर्शाउन वेद व्यासले भगवद्गीता संक्षिप्त रूपमा प्रस्तुत गरेका छन् ।

गीता सार

१) किन व्यर्थ चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउँदछौ ? तिमीलाई कसले मार्छ ?
२) आत्मा न जन्म लिन्छ न मर्छ ।
३) जे भयो, त्यो राम्रो भयो । जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ ।
४) तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर । वर्तमान चलिरहेको छ ।
५) तिम्रो के गएको छ र तिमी रुन्छौ ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ?
६) तिमीले के पैदा गरेका थियौ र नाश भयो ?
७) तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीँबाट पायौ । जति दियौ, यहीं नै दियौ । खाली हात आएका थियौ, खाली हात नै गयौ, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ ।
८) तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ । यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो ।
९) परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो ।
१०) एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।
११) मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ । तिमी आफू आफै भगवान्मा अर्पित हौ । यही नै सबभन्दा ठूलो सहारा हो ।

जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ । मान्छे जन्मिन्छ केही समय यही रहन्छ र मर्छ । त्यसैले तिमी आसक्तिरहित भएर काम गर जसले गर्दा तिमी बन्धनबाट मुक्त हुनेछौ । तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ । यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ–
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।

मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोकस्त्वकर्मणि ।।४७।।
तिमीलाई आफ्नो निर्धारित कर्म गर्ने मात्र अधिकार छ, तर कर्मको फल पाउने नपाउने कुरा तिम्रो अधिनमा छैन । तिमीले आफूलाई कर्मफलको कारण पनि कहिल्यै नसोच र कर्तव्य गर्नबाट विमुख पनि कहिल्यै नहोऊ । हे अर्जुन ! सफलता वा असफलताका सम्पूर्ण आसक्तिहरूलाई त्याग गरेर समभावमा रहेर आफ्नो कर्तव्री गर । यही समभावलाई नै योग भनिन्छ ।

हे धनञ्जय ! भक्तिमय सेवाद्वारा सम्पूर्ण निन्दित कर्मबाट टाढा बस र त्यही सेवाभावमा रहेर भगवान् को शरणमा पर । आफ्ना सकाम कर्महरूको फल भोग्न चाहने कृपण हुन्, तुच्छ विचारका हुन् । भगवदभक्तिमा लागेको मानिसले यही जीवनमा नै आफूलाई राम्रा र नराम्रा दुबै कर्मबाट मुक्त गराउँदछ, त्यसैले तिमी भक्तियोग प्राप्त गर्ने प्रयत्न गर, किनभने सम्पूर्ण कर्ममा कुशलता नै योग हो । यसरी भगवानको भक्तिमा तल्लीन रहेर महर्षिहरू वा भक्तहरूले आफूलाई सांसारिक कर्मका प्रतिफलबाट मुक्त गर्दछन् । र, यसरी नै जन्म र मृत्युका चक्रबाट मुक्त भएर तिनीहरूले सम्पूर्ण दुःखभन्दा परको अवस्था (भगवदधाम) प्राप्त गर्दछन् ।

जब तिम्रो बुद्धिले मोहरूपी घना जङ्गललाई पार गर्नेछ, त्यस समय तिमी पहिल्यै सुनिसकिएका र सुन्नुपर्ने सबै कुराप्रति विरक्त हुनेछौ । जब तिम्रो बुद्धिले मोहरूपी जङ्गललाई पार गर्नेछ, त्यस समय तिमी पहिल्यै सुनि सकिएका र सुन्नुपर्ने सबै कुराप्रति विरक्त हुनेछौ । जब तिम्रो मन वेदका आलङ्कारिक भाषाबाट विचलित हुने छैन र आत्माको अनुभूतिमा एकाग्र भएर स्थिर रहने छ तब मात्र दिव्य चेतना प्राप्त गर्नेछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here