बिर्तामोड,

ब्यवसाियक पशुपालन गर्नेको संख्या झापामा दिन प्रतिदिन बढ्दो छ । तर,पछिल्लो समय पशु आहारको व्यबस्थापनले कृषक चिन्तित छन् ।
उन्नत प्रजातिका दुधालु गाई पाल्ने क्रम बढेसंगै तिनीहरुको आहार कृषकका लागि मुख्य चिन्ताको बिषय बन्दै गएको छ । न्युन उत्पादन, उच्च माग, अनियन्त्रित र बिचौलिया ग्रस्त बजारका कारण अहिले पशु आहारमा भारी मूल्य बृद्धि भएको छ । अहिले कच्चा पदार्थको रुपमा प्रयोग हँुदै आएको मकैको मूल्य बढेसंगै भएको मूल्य बृद्धिले पशुपालक किसानको ढाड सेकाएको बताइन्छ ।
पशु आहारको रुपमा प्रयोग हँुदै आएको दाना चोकरको मूल्यमा पनि अहिले ३० प्रतिशतसम्म मूल्य बृद्धि भएका कारण कृषक मारमा परेको वाह्रदशी गाउँपालिका– ५ मा पाथीभर एग्रो फर्म सञ्चालन गर्दै आउनु भएका दिनेश थापा बताउनुहुन्छ ।
पशुआहारका रुपमा पराल खुवाउँदा दुधालु गाईले दूध कम दिने र दानको मूल्य (चोकर) वृद्धिका कारण पशुपालक कृषकलाई समस्या हुन थालेपछि जिल्लाका कृषकले अहिले साइलेस प्रविधि (गुन्द्रुक जस्तै गरी बनाइने ) बाट बनाइएको घाँस प्रयोग गर्न थालेका छन् ।
साइलेस प्रविधिबाट बनाइएको घाँस खुवाउँदा दूध उत्पादनमा वृद्धि भएसंगै अधिकांश कृषक साइलेस घाँस प्रति आर्कसित भएको कनकाई नगरपालिका – २ का कृषक हरि कार्कीले बताउनुभयो । हरियो घाँसबाट बनाइने साइलेस घाँस पशुलाई खुवाउँदा दूध उत्पादनमा बृद्धि र बाँभलोपनको समस्या घट्ने गरेको उहाँको भनाई छ ।
साइलेस घाँस खुवाउँदा पशु निरोगी भएर मोटाउने र दूध दिने क्षमतामा दोब्बर वृद्धि हुने गरेपछि आफूले पनि साइलेस घाँस प्रयोग गर्न थालेको पाथीभरा एग्रो फर्मका सञ्चालक थापाले बताउनुभयो । उहाँले भन्नुभयो – मकैको समयमा साइलेस घाँस बनाएर राख्छु, त्यो घाँसले झण्डै ६ महिना पुग्छ । यस्तो घाँस पशुलाई आहारको रुपमा दिँदा हरियो घाँस दिए जस्तै हुन्छ ।’
२४ घण्टामा एउटा दुधालु गाई भैसीलाई आवस्यक पर्ने पोषण तत्वको मात्रा समिश्रण गरी ब्लक निर्माण प्रविधि मार्फत तयार गरिएको आहार नै पूर्ण मिश्रण सहितको आहार हो । यस्तो आहारका लागि साइलेस प्रविधिबाट तयार गरिएको घाँस उत्तम हुने बताइएको छ ।
पशु आहारको रुपमा पराल प्रयोग गर्दा २ प्रतिशत पौष्टिक तत्व र साइलेस प्रविधिको घाँस खुवाउँदा ७ प्रतिशत पौष्टिक प्राप्त हुने भएपछि पशुपालक कृषक अहिले यस्तो घाँस खुवाउन उत्साहित बनेको बताइन्छ । घाँस बढी भएको समयमा घाँसलाई सिन्की, गुन्द्रुक (साइलेस) बनाउने र हिउँदमा त्यसको प्रयोग गर्ने गरिएको छ ।
कनकाई नगरपालिका – २ का कृषक कार्की अहिले व्यवसायिक रुपमा साइलेस प्रविधिबाट घाँस उत्पादन गर्दै आउनु भएको छ । उहाँले उत्पादन गरेको घाँस जिल्लाका विभिन्न स्थानमा रहेका कृषकले लाने गरेका छन् ।































