बिर्तामोड । 
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको कनकाई नगरपालिका–१ जामुनबारी चौकमा सवारी दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ भने १७ जना यात्रु घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ११ प ८९७७ नम्बरको स्कुटरलाई सोही दिशाबाट गईरहेको मे १ ख ७२०४ नम्बरको सिमोन ट्रमभल्स बसले पछाडीबाट ठक्कर दिदाँ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार भद्रपुर नगरपालिका–९ की २८ वर्षीया सुजन पोख्रेल रहेको प्रहरीले जनाएको छ ।
स्कुटरलाई ठक्कर दिएको बस अनियन्त्रित भएर सडक किनारमा पल्टिदाँ बसमा सवार इलाम महमाई–७ की ४६ वर्षीय रेनुका राई, महमाई नगरपालिका दानाबारीका ७ वर्षका प्रतिक गिरी, झापा अर्जुनधारा नगरपालिका–४ की ५५ वर्षीया यमकुमारी कोइराला, अर्जुनधारा–२ का २८वर्षीय बिनोद भण्डारी, सिरहा गोलबजार–१ की जानुका मगर, इलाम माई नगरपालिका–१ की २४ वर्षीय प्रेमकुमारी प्रधान, माई नगरपालिका– १ का ६ वर्षीय जोन प्रधान, माई नगरपालिका–२ की ३५ वर्षीया माया गिरी, माई नगरपालिका–७ की १६ वर्षीया मनिसा श्रेष्ठ, अर्जुनधारा नगरपालिका–९ की ६३ वर्षीया चन्द्रकला मिश्र, माई नगरपालिका–४ की २६ वर्षीया अनिता परियार, अर्जुनधारा–७ का १० वर्षीय ग्रिस सुवेदी, सोही ठाँउका ४५ वर्षीय बासुदेव सुवेदी, माई नगरपालिकाका २८ वर्षीय विशाल मगर, बुद्धशान्ति गाँउपालिका–२ का ५० वर्षीय केदार अधिकारी, माई नगरपालिका–१ का दुई वर्षीया जोसना प्रधान र स्कुटरको पछाडी सवार अर्जुनधारा–१ का २८ वर्षीय विनोद भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरीनिरीक्षक मोहन थापाले जानकारी दिए ।
दुर्घटनाका घाइते सबैको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।































