बिर्तामोड।

सुन्दै अचम्म लाग्न सक्छ फुटपाथमा माछामासु अनि जुत्ता चप्पल चाहिँ एसीमा राखेर बिक्री गरिन्छभन्दा । तर, झापालीका लागि यो नौलो कुरा चाहिँ होइन ।
अधिकांश झापालीले माछामासु फुटपाथमा गएर किने पनि जुत्ता चप्पल चाहिँ सुविधासम्पन्न मलमा एसी जडित कोठाबाट खरिद गर्ने गरेका छन् । खाने कुरा चाहिँ फुटपाथ अर्थात् अब्यवस्थित ठाउँबाट खरिद गर्छन् भने लगाउने माल बस्तु चाहिँ सुविधासम्पन्न र सुरक्षित ठाउँबाट उपभोग गरिरहेका छन् । एसीमा राखिएका जुत्ताचप्पल लगायतका सामग्री खरिद गर्नै हुन्न भन्ने चाहिँ होइन । तर, मावन स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने उपभोग्य सामग्री जथाभावी किनेर प्रयोग गर्दा स्वास्थ्यमा समस्या आउने चाहिँ निश्चित छ ।
झापामा व्यवस्थित बधशाला नहुँदा झापालीले वर्षौदेखि माछामासु खुल्ला ठाउँबाट खरिद गर्ने गरेका छन् । जसका कारण वर्षेनि चाडवाडको समयमा विभिन्न प्रकारका रोगको संक्रमणका कारण धेरै मानिस बिरामी पर्ने गरेका छन् । यस विषयमा न उपभोक्ता सचेत छन् न त अधिकारबादी संघ–संस्थाका जिम्मेवार पदाधिकारी नै ।
सरकारले खुल्ला ठाउँमा राखिएको मासु प्रयोग गर्न हुन्न भन्दै व्यवस्थित बधशाला सञ्चालन गरेर मात्र माछामासुको कारोवार गर्न भने पनि व्यवहारमा लागू नहुँदा झापासहित देशभरका उपभोक्ताले अस्वस्थकर मासु प्रयोग गरिरहेका छन् ।
सरकारले स्वस्थ मासु उत्पादनका लागि पशु बधशाला तथा मासु जाँच ऐन–नियम बनाए पनि कार्यान्वयन गर्न नसक्दा झापाका स्थानीय दुषित मासु सेवन गर्न बाध्य छन् । पशु बधशाला र मासु जाँच ऐन, २०५५ र पशु बधशाला तथा मासु जाँच नियमावली, २०५७ जारी भए पनि कार्यान्वयन नहुँदा उपभोक्ताले दुषित मासु खानु परेको हो । उपभोक्तालाई सफा र स्वस्थकर मासु बिक्री गर्न र विभिन्न मासुजन्य रोगबाट टाढा रहनका लागि पशु बधशाला तथा मासु जाँच ऐन बनाएको छ । तर, नियमनकारी निकायले ध्यान नदिँदा खुल्ला ठाउँमा जथाभावी मासु काट्ने र बिक्री गर्दा समेत स्थानीय सरकारसमेत बेखवर छ ।
झापामा सञ्चालित सबै पसल अहिले पनि मापदण्ड विपरीत छन् । जसका कारण उपभोक्ताले अस्वस्थकर मासु सेवन गर्न एकातिर बाध्यता छ भने अर्कातिर ऐननियम अनुसार व्यवसाय नचलाउँदा उपभोक्ता मासुमा समेत ठगिने गरेका छन् ।
पशु बधशाला र मासु जाँच नियमावली २०५७मा वध गर्न ल्याइएका पशुहरुको स्वास्थ्य परीक्षण गर्नु अघि र स्वास्थ्य परीक्षण गरी बध गर्न योग्य पशु राख्ने छुट्टा –छुट्टै स्थानको व्यवस्था भएको हुनुपर्ने, बिरामी पशु राख्ने ठाउँ अलग्गै हुनुपर्ने, वध गर्नु अघि पशुको स्वास्थ्य परीक्षण (एन्टिमोर्टम एक्जामिनेशन) गर्नको लागि आवश्यक स्थानको व्यवस्था भएको हुनु पर्ने भनिए पनि झापामा पशु बधशाला नै छैनन् । भएका बधशाला पनि उपयोग विहीन हुँदा सर्बसाधारणले दुषित मासु उपयोग गर्नुपरेको छ ।
झापाको बिर्तामोडमा रहेका सबै मासु पसल अव्यवस्थित रुपमा सञ्चालनमा छन् । बिर्तामोडसहित दमक, भद्रपुर, काँकरभिट्टा जस्ता ठूला बजारमा पनि मासु पसलको अवस्था उस्तै छ । रोग लागेर वा नलागी कालगतिले मरेको पशुको मासु विक्री गर्न नपाइने, छालासहितको मासु बिक्री गर्न नपाइने भनिएको छ । तर, झापामा सञ्चालित मासु पसलेले कुनै पनि नियम मानेको पाइँदैन ।
अधिकांश मासु पसलहरुमा न्यूनतम् मापदण्ड पनि पूरा नगरेर उपभोक्ताको हित विपरीत सञ्चालन भइरहेका पसलमा जथाभावी र फोहर ठाउँमा खसी तथा कुखुरा वध गर्ने गरेको, खुल्ला रुपमा सडक छेउमै मासु बेच्न राख्ने गरेको, मासु काट्ने हतियार तथा अचानोलगायत सामान सफा नरहेको र झिँगा भन्किएको मासु बिक्री भइरहेको उपभोक्ताहरुले गुनासो गरिरहँदा समेत स्थानीय सरकार मौन छ । चाड पर्व नजिकिएसँगै मासु पसलको एकपटक अनुगमन गरिए पनि त्यसले खासै प्रभाव नपार्ने स्थानीयको भनाइ छ ।
राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले स्थानीय सरकारले समय–समयमा मासु पसलको अनुगमन गर्नु पर्ने भए पनि स्थानीय तहका जनप्रतिनिधिले नै बजार अनुगमनमा चासो नदेखाएको बताए । उनले भने– झापाका स्थानीय तहले अहिलेसम्म मासु पसलको अनुगमन गरेको मलाई थाहा छैन । आफू खुशी उनीहरुले अनुगमन गरे होलान् तर, राष्ट्रिय उपभोक्ता मञ्चसँग एकपटक पनि सहकार्य भएको छैन ।
मासु पसलको अनुगमन नहुँदा फुटपाथमा बिक्रीका लागि राखिएको मासु खान स्थानीय बाध्य रहेको अध्यक्ष सुब्बाले बताए । उनले भने– खुट्टामा लगाउने जुत्ता बन्द कोठामा एसीसहितको हलमा हुन्छ, तर खाने मासु फुटपाथमा राखिएको हुन्छ, त्यसमा उपभोक्ता पनि सचेत रहन जरुरी छ ।
पशु बधशाला निर्माणका लागि स्थानीय तहले अहिलेसम्म चासो नदिएकै कारण रुखको फेद, खुल्ला चौरी, सडक पेटी, नालाको डिलमा पशुको बध गरिन्छ । माछा बिक्री गर्न पनि त्यस्तै ठाउँमा राखिन्छ । झिंगा भन्किएको र अस्वस्थकर मासु सेवनकै कारण विभिन्न प्रकारका रोग लाग्ने गरेको र उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्दा पनि स्थानीय सरकारले ध्यान नदिँदा सरकारले बनाएको ऐन कागजमै सीमित बन्न पुगेको छ ।
दशैं, तिहार, छठ र ल्होसार जस्ता चाडपर्वको बेला भान्छामा विभिन्न परिकारका खानेकुरा पाक्छन् । ति परिकार मध्ये प्रमुख मानिन्छ मासु । चाडपर्वको बेला मासुका विभिन्न परिकार बनाएर खाने चलन छ । तर, मासु कति खाने ? कस्तो मासु खाने ? मासु खाँदा के–कस्ता कुरामा सावधानी अपनाउने ? भन्ने चेतना अभावमा मासु सेवनकै कारण विभिन्न प्रकारका रोगको शिकार बन्नु परेको छ ।
चिकित्सकहरुका अनुसार खानपिनमा सामान्य ध्यान नदिँदा दशैंको समयमा उच्च रक्तचाप, मुटरोग, मधुमेह र पेटजन्य समस्याका बिरामीको संख्या ह्वात्तै बढ्छ । त्यस्तै बजारमा पाइने अस्वस्थकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखाला, क्षयरोग, आउँ, पेट फुल्ने, मृगौलाको रोग, कोस्टल इन्फेक्सन, फुड पोइजनिङ आदि समस्या समेत देखिने गरेको छ ।
मासुको सेवनमा होशियारी नअपनाउने हो भने अस्वस्थ मासुकै कारण डेढ सय भन्दा बढी प्रकारका रोगको संक्रमणको खतरा रहने चिकित्सकले बताएका छन् । राम्रोसँग नपकाएको वा रोगी पशुपन्छीको बध गरेमा मासुको माध्यमबाट पशुपन्छीका रोगहरु पनि मानिसमा लाग्ने गर्दछ ।
मानिसमा लाग्ने पशु रोगहरुलाई जुनोटिक डिजिज भनिन्छ । मासुबाट लाग्ने परजीवी रोगहरुमा टेनियासिस, हाइडाटिडोसिस, सिस्टिसकोर्सिस, ट्राइचुनेलोसिस, इकानोकोकोसिस र नाम्ले जुका मुख्य हुन् । यी सबै संक्रमण पशुको संक्रमित काँचो मासुका परिकारबाट मानिसमा सर्छन् ।
त्यस्तै बिषाणुजन्य रोगहरुमा बर्डफ्लु, खोरेत र रानिखेत पर्छन् भने जीवाणुजन्य रोगहरुमा एन्थ्राक्स, बुर्सेलोसिस, बोभाइन एण्ड एभिएन ट्यूवरकुलोसिस, टाइफाइड फिवर, लेप्टोस्सपाइरोसिस, स्ट्रेप्टोकोकोशिस, स्टेफाइलोकोकोसिस पनि सर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । प्रोटोजोवाजन्य रोगहरुमा भने टोकोसोप्लाज्मासिस, जियार्डीयोसिस, अमिबियोसिस, व्यालान्टिडियोसिस आदि रोग सर्ने सम्भावना अत्यधिक हुन्छ । यी बाहेक मासुजन्य पदार्थकै कारण दाद र लुतो पनि हुने सम्भावना उच्च रहने डा. विवेकबन्धु रेग्मीले बताए ।
मासुपसलमा भएका लापरबाहीका कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको संक्रमण हुने गरेको डा. रेग्मीको भनाइ छ । बिरामी पशुको मासु खाँदा जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा मासुमार्फत बिभिन्न खालका रोग सर्ने खतरा रहेको छ । फोहोर वधशाला तथा मासुको तयारीमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका ‘फ्लू’ तथा सरुवा रोग सर्ने माध्यम हुन सक्ने खतरा रहेको उनको भनाइ छ ।
मासु र अन्य परिकारलाई स्वस्थकर ढङ्गले नराख्दा खानेकुरामा विषाक्तता बढी खाना प्वाइजनिक हुन पुग्छ र खाएको केही समयभित्रै पेट बटारिने, पेट ढुस्स हुने, झाडापखाला चल्ने, अपच भई तत्कालै पेट फुल्ने लगायतका समस्या देखिने गरेको डा. रेग्मीले बताए । स्थानीय तहले वध शाला निर्माणमा चासो नदिँदा शहरदेखि गाउँसम्मका सर्वसाधारण अहिले अस्वस्थकर मासु उपयोग गरिरहेका छन् ।
दमकले नगरपालिका र भद्रपुर नगरपालिकाले वधशाला निर्माणमा चासो देखाए पनि काम नगर्दा नगरको चासो दुनियाको हाँसो जस्तै भएको छ ।





























