बिर्तामोड।

झापाको अर्जुनधारा–१० सेतीपानीका दिब्यराज खतिवडाले वैदेशिक रोजगारीको सिलसिलामा दश वर्ष विदेशी भूमिका श्रम र पसिना बगाए ।
संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियामा उनले १० वर्ष दुःख गर्दा पनि आफूले भनेजस्तो नभएपछि गत वर्ष नेपाल फर्किए । कुखुरापालन ब्यवसाय सञ्चालन गर्ने सोचका साथ नेपाल फर्किएका खतिवडाले आफ्नै घरमा २० लाख रुपैयाँ लगानी गर्दै व्यवस्थित रुपमा कुखुरा पाल्न शुरु गरे । तर, विचौलियाका कारण बजार अभाव हुँदा कुखुरा पाल्न जति उत्साहित थिए खतिवडा अहिले त्यति नै निराश देखिएका छन् ।
खुल्ला सीमानाका कारण गुणस्तरहीन भारतीय अण्डा र नेपालको चितवनबाट सस्तो मूल्यमा अण्डा झापा भित्रिन थालेपछि यहाँका किसानले उत्पादन गरेको अण्डाले बजार नपाएको खतिवडाको भनाइ छ ।
उनी भन्छन् – ‘सेतो अण्डाले बजार विगा¥योे । उस्तै देखिएपनि सेतो अण्डा यहाँ उत्पादन भए जस्तो हुँदैन । विचौलियाले उस्तै हो भन्दै गुणस्तरहीन अण्डा छ्याप्पछ्याप्ती पर्दा यहाँका वास्तविक किसान मारमा परेका छौं ।’
केही समय अघिसम्म कुखुरापालक कृषकलाई फाइदा थियो –खतिवडाले भने – अहिले व्यापारीका कारण कुखुरापालक कृषक मारमा छन् । विगत केही महिना यता अण्डाको बजार नै छैन । जसका कारण २७ सय प्रतिकाटुन विक्ने अण्डा अहिले १९ सय रुपैयाँमा दिनु परेको छ ।
अण्डाले बजार मूल्य नपाएपछि ‘बर्मा गए कर्मसँंगै नेपाल गए कपालसँंगै’ भन्ने नेपाली उखान चरितार्थ भएको छ खतिवडालाई । विदेशमा दुःख गर्दा भनेजस्तो नभएपछि उनले सुनेकै भरमा कुखुरापालन व्यवसाय शुरु गरेका थिए ।
तर, बजार अभावमा लगानी डुव्ने चिन्ता छ उनलाई ।
९ सय ७० लेयर कुखुरा पाल्न शुरु गरेका खतिवडाले पालेका कुखुरा मध्ये ८० प्रतिशतले अण्डा दिन्छन् । तर, अण्डाको बजार मूल्य नहुँदा उनीमात्र होइन सेतीपानीका कुखुरापालक किसान निराश बनेका छन् ।
कुखुरापालन व्यवसायमा सोचे जस्तो नभएपछि उनले अहिले कुखुरासँंगै बाख्रापालन व्यवसाय समेत शुरु गरेका छन् । उनले अहिले लोकल सहित उन्नत जातका बाख्रापालन व्यवसाय सञ्चालन गरेका छन् ।
विदेश नजाने सोच बोकेर नेपाल फर्किएका उनी श्रीमती भावना खतिवडासंँगै कृषि कर्ममा रमाएका छन् । उनीसँंगै उनका भाइ दीपेन्द्रराज पनि कुखुरा पालन व्यवसायमा सम्लग्न छन् । तर, सोचे जस्तो नभएपछि उनीहरुमा पनि निराशा छाएको छ ।
सरकारको प्राथमिकतामा कृषि छ, तर आफूहरुले कुनै प्रकारको अनुदान नपाएको दीपेन्द्रराज बताउँछन् । कृषकको नाममा सरकारबाट प्राप्त हुने अनुदानमा समेत विचौलिया हावी भएकै कारण वास्तविक किसानले अनुदान नपाउने गरेको सेतीपानी कै अर्का किसान खगेन्द्रप्रसाद खरेल बताउँछन् । खरेलले २२ माउ, बाख्रा पालेका छन् । तर उनले समेत अहिलेसम्म कुनै सहयोग नपाएको बताए । उनले भने – नगरपालिकाबाट आउने अनुदान समेत यो र त्यो समूह बनाएर अर्कैले खाँदो रहेछ, हामी किसान त सँधै चिल्लै ।
नेपाली अर्थतन्त्रको आश लाग्दो क्षेत्रलाई अझ व्यवस्थित गरी पशुधनको उत्पादन बढाउने सरकारको लक्ष्य छ । तर, अर्जुनधाराका किसान भने आफूले उत्पादन गरेको पशु धनले उचित बजार नपाएर चिन्तित बनेका छन् ।
पशुपालनका लागि अर्जुनधारा नगरपालिका आफैंमा उपयुक्त स्थान भएपनि त्यहाँका किसानले उत्पादन गरेको पशुले वजार नपाउँदा समस्या देखिएको हो ।































