‘अचम्मको पोको’ पाएपछि…

0
578

बिर्तामोड।

कुनै पनि कार्यक्रममा आयोजकले निम्त्याइएका अतिथिहरुलाई मायाको चिनोको रुपमा बुद्धको मूर्ति, लोटा, घडी, आकर्षक तस्वीर अंकित फोटोफ्रेम लगायतका सामग्री दिइने गरिन्छ ।

त्यस्तै सहकारीले शेयर सदस्यहरुलाई साधारणसभामा भत्ताको रुपमा रकम समेत दिनेका गरेका छन् । तर, झापाको बिर्तामोडको एक सहकारीले भने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि र शेयर सदस्यहरुलाई मायाको चिनोको रुपमा ‘अचम्मको पोको’ उपहार दिएको छ ।

विराट–अर्जुन उपभोक्ता सहकारी संस्था बिर्तामोड–४ ले १०औं वार्षिक साधारणसभामा यस्तो अचम्मको पोको उपहार दिएको हो । सहकारी संस्थाले गत वर्षदेखि नै प्रमुख अतिथिदेखि शेयर सदस्यसम्मलाई दैनिक उपभोग्य खाद्य सामग्रीसहितको अचम्मको पोको उपहार दिएको संस्थाका अध्यक्ष नवीन खरेलले जानकारी दिए ।

विराट–अर्जुन उपभोक्ता सहकारीले संस्थाको नाम अनुसार उक्त कार्यक्रम गरिएको बताउँदै अध्यक्ष खरेलले शेयर सदस्यलाई भत्ताको रुपमा रकम दिए फजुल खर्च गरेर सिध्याउने तर दैनिक उपभोग्य सामग्री दिए घरमा उपयोग गर्ने भएकाले भत्ताको रुपमा समेत उक्त उपहार दिएको बताए ।

संस्थाका अध्यक्ष नवीन खरेलको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सहसचिव भवानीप्रसाद दंगालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी व्यवस्थापक कमला नेपाल आचार्यले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकाल, राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखा प्रमुख मुना घिमिरे, पूर्णिमा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छविलाल विश्वकर्मा, बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला लगायतले संस्थाले गरेको कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रममा अध्यक्ष खरेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाको शेयर सदस्य एक हजार आठ सय ६५, शेयर पुँजी ९० लाख ६७ हजार तीन सय, ऋण लगानी दुई करोड ८१ लाख ७४ हजार नौ सय ३९ पैसा ८२ पैसा, बचत एक करोड ९० लाख ८१ हजार छ सय ५६ रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै संस्थाले दुई लाख ८८ हजार दुई सय १८ रुपैयाँ ८२ पैसा नाफा गरेको बताइएको छ ।

संस्थाले देवेन्द्रराज कन्दङ्वा र गुलावी चौधरीलाई असल उद्यमीको रुपमा सम्मान गरेको छ भने उत्कृष्ट बचतकर्ता पाँच वर्षे खातातर्फ सञ्जय अग्रवाल, तीन वर्षे खातातर्फ पूजा राजवंशी, बाल बचतकर्ता दिक्षित पौडेललाई पुरस्कृत गरेको छ । त्यस्तै उत्कृष्ट कर्मचारीको रुपमा मुना खड्का र अनुशासित कर्मचारीको रुपमा सविना मुर्मूलाई पुरस्कृत गरेको छ ।
कार्यक्रममा ऋण उपसमितिका संयोजक यादवकुमार ओलीले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम प्रसाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here