बिर्तामोड।

महिलापुरुषबीच आपसी सहमतिमा खिचिएका आपत्तिजनक फोटो तथा भिडियो सार्बजनिक गर्ने, धम्क्याउने जस्ता अपराध पछिल्लो समय बढेको प्रहरीले जनाएको छ ।
साइवर अपराध बढिरहेका बेला सचेत रहन र आफ्नो फेसबुक तथा अन्य सामाजिक सञ्जालको ‘पासवर्ड’ कसैलाई नदिन प्रहरीले सुझाएको छ । बिर्तामोडमा शुक्रवार आयोजित एक कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले नचिनेका मानिसको ‘फ्रेण्ड रिक्वेस्ट एसेप्ट’ नगर्न तथा प्रेमी प्रेमीका विश्वासिलो व्यक्ति कसैलाई पनि पासवर्ड नदिन आग्रह गरे । उनले पछिल्लो समय देशभर साइवर अपराधका घटना बढेको भन्दै त्यसबाट बच्न सकिने उपायका विषयमा जानकारी गराएका थिए ।
प्रहरी नायव उपरीक्षक थापाले इन्टरनेट तथा सामाजिक सञ्जालका फाइदाका विषयमा सहभागीहरुलाई जानकारी गराउँदै यसको प्रयोगबाट हुनसक्ने वेफाइदाका विषयमा जानकारी दिए ।
नयाँ साथी बनाउन सकिने , आपसमा कुराकारी गर्न सकिने, फायल डकुमेन्ट, फोटो भिडियो आदि आदान–प्रदान गर्न सकिने, अध्ययन सामग्रीहरु उपलब्ध हुने, देशविदेशका घटनाहरु तथा समाचारबारे जानकारी पाइने, भौगोलिक अवस्थितिको जानकारी पाउन सकिने, ब्लगमार्फत लेखरचना तथा अन्य सृजना प्रस्तुत गर्न सकिने र आफ्ना भावना अभिव्यक्त गर्न सकिने सजिलो माध्यम सामाजिक सञ्जाल भएको भन्दै प्रहरी नायव उपरीक्षक थापाले इन्टरनेट तथा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा समाजका केही व्यक्ति जेल जानु परेको बताए ।
सामजिक सञ्जालको माध्यमबाट विभिन्न कारण देखाई डर, धम्की, तथा गलत कुरा फैलाउने, गाली वेइज्जती गर्ने, हिनताबोध गराउने जस्ता क्रियाकलाप हुने हुँदा विशेष गरी नचिनेको व्यक्तिसँग अनलाइन तथा इन्टरनेटमा सम्वन्ध गाँस्दा साइवर अपराधमा पर्न सकिने भन्दै सहभागीहरुलाई सचेत गराएका थिए ।
उनले इन्टरनेटको माध्यमबाट यौनजन्य चित्र, सन्देश, भिडियो पठाउन बालबालिकाहरु बिस्तारै दुव्र्यवहारको शिकार हुनु, कुनै व्यक्तिलाई पैसाका लागि वा यौनजन्य चाहना पूरा गर्नका लागि दिइने मानसिक तथा नैतिक दवाव, पीडकले उनीहरुबीच आदानप्रदान भएका तस्वीर भिडियो आदिको दुरुपयोग गरी दवाव दिने गोप्य तस्वीर वा भिडियो, म्यासेज सार्वजनिक गरिदिन्छु भनी आर्थिक वा अन्य प्रकारका दवाव दिने घटना बढेको भन्दै प्रहरी नायव उपरीक्षक थापाले यस्ता विषयमा सहभागीहरुलाई सचेत गराएका थिए ।
साइवार अपराधका विषयमा सजग गराउँदै प्रहरी नायव उपरीक्षक थापाले अपराधको सजिलो माध्यम साइवर बनेको बताए । उनले साइवरमार्फत मानव वेचविखनका घटना समेत बढ्दै गएको भन्दै सामाजिक सञ्जाल मार्फत अश्लील तस्वीर, भिडियो, आदान प्रदान नगर्न सचेत गराए ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै व्ल्याकमेलिङ गर्ने क्रम बढेको प्रति सचेत गराउँदै प्रहरी नायव उपरीक्षक थापाले सामाजिक सञ्जाल प्रयोग गर्दा पासवर्ड, सुरक्षित राख्न, इमेल, भाइवर, वाट्सएप, इमो, फेसबुक म्यासेन्जर तथा, विभिन्न विद्युतीय माध्यममा चिठ्ठा परेको, उपहार आएको भनी प्रलोभन देखाएर ठगी गर्ने गिरोह पनि सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरे । फेक इमेलबाट ठगी गर्ने क्रम बढ्दै गएकाले सजग रहन उनले सचेत गराए ।
नक्कली प्रोफाइल बनाई चरित्र हत्या गर्ने , प्रेमको नाटक गरी रकम असुल गर्ने, प्रोफाइल ह्याक गरी गोपनीयता भंग गर्ने, चरित्र हत्या गर्ने तथा ह््याक प्रोफाइल फिर्ता गर्न रकम समेत माग गर्ने अश्लील वेवसाइटमा फोन नम्वर राखी दुव्र्यवहार गर्ने, सामाजिक सञ्जालमा विभिन्न सामानहरुको विज्ञापन गरी ठगी गर्ने लगायतका विषयमा सजग रहन प्रहरी नायव उपरीक्षक थापाले सचेत गराएका थिए ।
धेरै समय सामाजिक सञ्जालमा वसिरहँदा लत लाग्न सक्ने भएकाले सचेत हुन, सामाजिक सञ्जालमा च्याट गर्दा वा म्यासेज गर्दा विशेष ध्यान दिन, सामाजिक सञ्जालमा प्रोफायल पिक्चरमा अन्य फोटोहरु पब्लिक सेटिङमा राख्दा ध्यान पु¥याउन, समय–समयमा पासवर्ड चेन्ज गर्ने जस्ता कुरामा ध्यान दिन प्रहरी उपरीक्षक थापाले सहभागीहरुलाई आग्रह गरेका थिए ।































