खेर गएको कापी पुनः प्रयोगमा

0
556

बिर्तामोड।

हामी प्रायः गरेर एकपटक मात्र कापीको प्रयोग गर्छौं । कापीमा पाना लेखी नसकिए पनि त्यो कापी त्यतिकै मिल्काइ दिन्छौं । तर, न्यूटन्स एजुकेशन एकेडेमीका विद्यार्थीहरुले कापीमा रहेका पानाहरुलाई पुनः प्रयोग गरेर नयाँ कापी बनाएर वितरण गरेका छन् ।

विद्यालयमा रहेको सगरमाथा टिन्स क्लवमा आबद्ध कक्षा ९देखि १२ सम्मका विद्यार्थीहरुले अघिल्लो वर्ष प्रयोग गरेको कापीमा रहेको खाली पानालाई संग्रह गरेर नयाँ कापी बनाएर सामुदायिक विद्यालयमा अध्ययनरत् बालबालिकालाई वितरण गरेका हुन् ।

बिर्तामोड–१० बिराटपोखरस्थित लक्ष्मीनारायण प्राविमा अध्ययनरत् विपन्न समुदायका ५१ जना बिद्यार्थीहरुलाई उनीहरुले उक्त कापीसहित पेन्सिल, साफनर र इरेजर समेत वितरण गरे । बालदिवसको अवसर पारेर आयोजित कार्यक्रममा चार थान कापी, तीन थान पेन्सिल र एक–एक वटा इरेजर, साफनर वितरण गरेको सगरमाथा टिन्सक्लवकी शिक्षक नायक मिनु शर्मा शिवाकोटीले जानकारी दिइन् । कापी बाहेकका अन्य सामग्री बिर्तामोडमा रहेको रिजेन्सी बुक्स एण्ड स्टेशनरीले सौजन्य गरेको उनले जानकारी दिइन् ।

विद्यालयमा रहेको सगरमाथा टिन्स क्लवमा आबद्ध बिद्यार्थीहरुले विगतका वर्षदेखि नै सामाजिक कार्य गरिरहेको विद्यालयका निमित्त प्रधानाध्यापक देवेन्द्र हुमागाँईले जानकारी दिए । विद्यार्थीहरुले सबै विषयको एक–एक वटा कापी बनाए पनि लेखि नसकिए पनि कापी त्यत्तिकै मिल्काउने गरिएको तर त्यही खेर गएको कापीका पाना विपन्न समुदायका बिद्यार्थीहरुका लागि बरदान हुने उनले बताए ।

सामुदायिक विद्यालयमा प्रायः गरेर विपन्न समुदायका विद्यार्थीहरु अध्ययनरत् रहेको र शैक्षिक सामग्रीको अभावमा उनीहरुको पठन–पाठन अवरुद्ध हुने गरेकाले त्यस्ता विद्यार्थीहरुलाई पनि सहयोग पुर्याउन सकिन्छ भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको निमित्त प्रधानाध्यापक हुमागाँईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here