बिर्तामोड।
दोस्रो चरणको हिपतम अभियानमा जुटेको नेपाली कांग्रेसले अग्रज प्रजातान्त्रिक योद्धाहरुसँग सल्लाह र कार्यकर्तासँग सुझाव लिने क्रमलाई निरन्तरता दिइरहेको छ ।
वार्डस्तरका कार्यकर्तासम्म पुगेर समसामयिक राजनीतिमा कांग्रेसले कस्तो भूमिका खेल्ने भन्ने विषयसहित सरकारका गलत रबैयालाई लिएर देशभरका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा पुगेको कांग्रेसले अन्तरक्रिया तथा अन्तरसंवादमार्फत सुझाव लिइरहेको छ ।
अधिकांश प्रदेश क्षेत्रमा विशेष सामाजिक संवाद, विकृति÷विसंगतिविरुद्ध जागरण, जनप्रतिनिधिहरुसँग भेटघाट, युवा तथा सरोकारवाला, प्रजातान्त्रिक योद्धा, प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित तथा शहीद परिवारसँग संवादका कार्यक्रममार्फत सुझाव लिइएको हो ।
यसैक्रममा झापाका ५ संसदीय निर्वाचन क्षेत्रका १० वटै प्रदेश निर्वाचन क्षेत्रमा विविध कार्यक्रम सम्पन्न भएका छन् । झापा क्षेत्र नं. १को प्रदेश क ले मेचीनगर–१० धुलाबारीमा वार्डस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जागरण अभियानका केन्द्रीय प्रतिनिधि रमेशजंग रायमाझीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश क्षेत्रीय सभापति हर्क फियाक, विमल आचार्य, टेकबहादुर लिम्बू, राम कट्टेल, चन्दन मेचे, सुदय पनेरु, दुर्गा खतिवडालगायतले सहजीकरण गरेका थिए । नेपाली कांग्रेस मेचीनगर–१० का सभापति कृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चन्द्र तिवारीले गरेका थिए ।
यसैगरी क्षेत्र नं. १ को प्रदेश ख अन्तर्गत भद्रपुर वडा नं. १० तथा मेचीनगर–१३ र १४ नं वडामा बेग्लाबेग्लै अन्तरक्रियात्मक छलफल सम्पन्न भएको छ ।
जागरण अभियानका केन्द्रीय प्रतिनिधि विन्दिया कार्कीको प्रमुख आतिथ्य रहेको दुवै कार्यक्रममा जिल्ला प्रतिनिधि राजेन्द्र भण्डारी, पार्टी प्रवक्ता लोकराज ढकाल, जिल्ला सदस्य पुष्प पौडेल, क्षेत्रीय सभापति मणि उप्रेती, राजेन्द्र रिजाल, सीता पोखरेल, गोपाल तामाङ, गोमा भट्टराई, ज्ञानु चौहान, गणेश पोखरेललगायतले सहजीकरण गरेका थिए । नेपाली कांग्रेस भद्रपुर–१०का वडाध्यक्ष शालिकराम नेपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन मुरारी न्यौपानेले गरेका थिए ।
यता मेचीनगर–१३ र १४ मा १४ नं वडा सभापति प्रेम न्यौपानेको सभापतित्व र लक्ष्मी घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी झापा क्षेत्र नं. २को क अन्तर्गत विर्तामोड नगरपालिका १,२ र ३ नं वडाको संयुक्त अन्तरक्रिया कार्यक्रम चारपानेमा सम्पन्न भएको छ । तीनवटा वडाका कार्यकर्तालाई तीन समूहमा विभाजन गरी सुझाव लिइएको कार्यक्रममा बलराम कार्की, देवी गिरी र दीपेन्द्र पोखरेलले समुहगत सुझाव राखेका थिए ।
केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रतिनिधि दीपक तामाङ, चन्द्रकला भण्डारी, प्रचार विभाग प्रमुख कृष्ण हुमागाँई लगायतले सहजीकरण गरेका थिए । धर्म लक्सम्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत लक्ष्मीप्रसाद आचार्य र सञ्चालन भोजराज सिटौलाले गरेका थिए ।
यता क्षेत्र नं. २को प्रदेश ख मा बुद्धशान्ति १, २ र ३ नं. वार्डको संयुक्त कार्यक्रम बुधबारेस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा सम्पन्न भएको छ ।
जागरण अभियानको औचित्यमाथि सुधिरकुमार शिवाकोटीले प्रकाश पारेको कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, रमेशकुमार भुजेल, जिल्ला प्रतिनिधि पार्वता गिरी, जिल्ला सदस्यहरु लीला ढकाल, सूर्य ढुङ्गानालगायतले सहजीकरण गरेका थिए । वडास्तरीय समूह विभाजनबाट प्राप्त सुझाव चन्द्र अधिकारी, डिल्ली ओली र नारायण संग्रौलाले प्रस्तुत गरेका थिए ।
किरण श्रेष्ठको सभापतित्व, चक्र सेर्माको स्वागत रहेको कार्यक्रमको सञ्चालन देवी सुवेदी र पुण्य खतिवडाले गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।


























