दिवसको सार्थकता चरित्रले देखाओस्

0
743

अंग्रेजी महिना सेप्टेम्बरको तेस्रो शनिबारलाई विश्व सरसफाई दिवसका रुपमा मनाउन थालिएको छ । फोहरमैलाका कारण पृथ्वीको नियमित चक्रमा परिवर्तन आउनुका साथै अनेक जोखिमहरु बढ्दै गएको अवस्थामा यो दिवस मनाउन थालिएको हो ।

पृथ्वी प्रकृति प्रदत्त सुन्दर उपहार हो जसले लाखौं जीव तथा वनस्पतिहरुलाई जीवित राखेको छ । उनीहरुलाई नभई नहुने सबै वस्तु अर्थात् हावा, पानी र अन्न मात्रै होइन सुरक्षित रहने आधार र वातावरण पनि प्रकृतिबाटै पाइरहिएको छ । तर ती मध्ये मानव जाति त्यस्तो वर्गको जसले प्रकृतिले ‘डुँडुलो’ नै निल्न उद्यत छ ।

मानव जातिले व्यक्ति वा वर्गको स्वार्थका निम्ति प्रकृतिको सन्तुलित स्वरुपलाई असन्तुलित र विद्रुप बनाइरहेको छ । अनिवार्य आधारका रुपमा रहेको हावा र पानीलाई प्रदुषित मात्र होइन विषाक्त बनाएको छ । उद्योग सञ्चालनको नाममा होस् वा भौतिक विकास अथवा समृद्धिको बहानामा हाल प्रकृतिमाथि मानव आक्रमण भइरहेको छ । फोहोर उत्सर्जन गरेर, जथाभावी फ्याँकेर हावा, पानीलाई ग्रहण गर्नै नहृुने अवस्थामा पु¥याउने मानव जाति नै हो । नदीनालामा सड्ने, नसड्ने, पुनर्चक्रण हुने–नहुने सबैखालका मानवद्वारा उत्सर्जित फोहर फ्याल्नु हिजोआजको भाषामा शहरी सभ्यता भएको छ ।

विकसित देशहरु यस्ता फोहरको उत्सर्जनको समस्याबाट मुक्त होलान् । तर, उनीहरु ठूल्ठूला युद्ध आणविक उत्पादन परीक्षण र प्रयोगबाट असुरक्षित छन् । हामी अझै धेरै पछि छौं र सम्पूर्ण क्रियाकलाप प्रकृतिको सन्तुलनका विपक्षमा गर्दैछौं । खासगरी बजार बजार उन्मुख र शहर सबै जल, जमिन, वायु र ध्वनी प्रदुषणको समस्याबाट ग्रस्त छ । त्यसकै कारण असमयमा रोगव्यापी मात्र होइन मौसम परिवर्तनको गम्भीर असर भोग्न हामी विवश छौं । यही समस्याबाट सचेत रहँदै विश्व सरसफाई दिवस औपचारिक रुपमा मनाउनुपर्छ भन्ने सन्देश मार्फत सचेतना प्रवाह गर्न खोजिएको हुनसक्छ ।

यही क्रममा झापाको सर्वाधिक घनत्व भएको बिर्तामोड नगरपालिकाको शहरी क्षेत्रमा रहेको वडा नं. ५ मा यो दिवस मनाइएको छ । यो क्षेत्र र यसले छोएको १ र ४ नम्बर क्षेत्र पनि चारै प्रकारका प्रदुषणबाट आक्रान्त छ । यसको दीर्घकालीन उपचारको पहल भएको छैन । कतै–कतै हप्ता–दुई हप्तामा ट्याक्टरले फोहर संकलन गर्नु बाहेक सचेतना तथा दण्ड सजायको व्यवस्था गरिएको छैन । यही क्षेत्र भएर बग्ने एकमात्र अन्धुवा नदीलाई स्थानीयबासीले ‘डम्पिङ’ बनाएका छन् । नगरपालिकाले अस्थायी रुपमै भए पनि फोहर संकलन गर्दै गरेको जान्दाजान्दै नदी आसपासका कतिपय बासिन्दा राति–राति नदीभित्रै फोहर विसर्जन गर्दैछन् ।

‘जल जीवन हो, यसको स्वच्छता र पवित्रतामा सम्पूर्ण जीवन सुरक्षित हुन्छ, त्यसैले चेतनाले उच्च भएको मानिसले नदीको स्वच्छन्द प्रवाहमा अवरोध गर्नु हुन्न’ –भन्ने चेतनाको बिर्को नउघ्रिएसम्म कुनै दिवसले सार्थकता पाउने छैन । त्यसैले प्रत्येक दिवसले तदनुकूलको चरित्र निर्माण गर्ने सामथ्र्य दिनु पर्दछ । त्यस्तो भए मात्र यस्ता दिवसको सार्थकता पुष्टि हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here