समाजसेवा नै समाज विकासको आधार

0
4893

तीर्थराज खरेल,

आज ४०औं राष्ट्रिय सामाजिक सेवा दिवस । ‘सुखी र समृद्ध राष्ट्रिय सोच, समाज विकास हाम्रो अठोट’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको छ । समाजसेवा विकासोन्मुख देशको बिकासका लागि एउटा मेरुदण्ड नै हो । समाज सेवामा नागरिकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषद्ले सामाजिक सेवा दिवस मनाउन शुरु गरेको हो । समाज सेवाको क्षेत्रमा कार्यरत नेपालमा क्रियाशील मुलुकभित्र र बाहिरका गैर सरकारी संस्थाहरुको अनुगमन, मूल्याकंन अनि सुपरीवेक्षण गर्दै आएको सरकारी संयन्त्र समाज कल्याण परिषद्ले यस वर्ष पनि सामाजिक सेवा दिवस मनाउने निर्णय गरेको छ ।

हाम्रो समाजमा महान् र उदाहरणीय काम गर्ने समाजसेवीको संख्या बढ्दै गएको छ । हृदयको ढोका बन्द गरेर सम्पत्ति कमाउने मात्र चाहना बोकेकाहरुको त कुरै नगरौं, तर आफ्ना पितृको सम्मान र स्मृतिमा मन्दिर, पाटीपौवा, सामुदायिक भवन, विद्यालय, चौतारी र विश्रामगृह बनाउने हाम्रो पुरानै नेपाली संस्कृति हो । हाम्रो समाजमा पनि मन्दिर निर्माणदेखि अशक्त, असहायहरुलाई सहयोग गर्ने, गरिब विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने संघ–संस्था तथा व्यक्तिहरुको संख्या हरेक दिन बढिरहेको छ । सामाजिक सञ्जालहरुमा तस्वीर अपलोड गरिरहेका कथित समाजसेवीहरुको संख्या पनि बढिरहेको आजको अवस्था हो । हृदयदेखि नै समाजसेवा गर्नेहरुले जनताको विश्वास र माया बटुलेका छन् । समाजसेवाका नाममा व्यावसायिक उद्देश्य पूरा गर्ने हेतुले गठित संस्थाकै कारण समाजसेवा जस्तो पवित्र कार्य पनि बदनाम हुँदै गएको छ । जीवनको परिभाषा मानिस अनुसार फरक–फरक हुन्छ । कसैले जीवनलाई व्यक्तिगत स्वार्थमा मात्र सीमित गरेर बुझ्छन् भने कसैका लागि प्रसिद्धिको अर्को नाम ।

निःस्वार्थरुपमा जीवनलाई समाजसेवामा समर्पित गर्नु जीवनको अर्को परिभाषा हुनसक्छ । प्रसिद्धिको आशाले, नामको आशाले र आर्थिक लाभको आशाले समाजसेवामा लाग्ने भित्री इरादा समयक्रममा समाजसामु उदाङ्गो हुन्छ । मानिसले बुझ्छन् समाजसेवामा कोही किन लागिरहेको छ– आत्मैदेखि वा व्यक्तिगत प्रसिद्धि वा आर्थिक प्राप्तिका निम्ति । समाजसेवाको आडमा राजनीतिक अभिष्ट पूरा गर्नेको पनि कमी छैन । समाजसेवालाई हृदयको गहिराइदेखि नै आत्मसात गरी जीवनका दर्जनौं बसन्त पार गरिसकेपछि पनि युवा ताजगी र ऊर्जाका साथ क्रियाशील हुन्छन् । सामाजिक भावना नभएका र पारिवारिक दायित्वबोध नभएका उमेरले तन्नेरीहरु पनि निराशाको दल–दलमा फँसिरहेको हामी देख्छौं ।

असल शिक्षा असल नागरिक उत्पादन गर्ने चेतना निर्माणको प्रक्रिया हो । देश र समाजको उन्नतिका लागि योग्यतापूर्वक अन्तरआत्मादेखि नै समर्पित हुन शिक्षाले आधारको काम गर्छ । शिक्षा नभएको मानिस धर्म नमान्ने मानिस सरह हुन्छ । शिक्षाले मानिसलाई नम्रता, ऊर्जा, सहनशीलता दिन्छ, यी गुणहरुको अभावमा मानिस समाजमा मिलेर बस्नै सक्दैन । समाजसेवा भने कै मानवसेवा हो । मानिसमा रहेको मानवतावादी सोचले नै परोपकारी भावनाको विकास हुने हो र परोपकारी भावनाले नै मानिसलाई जीवनको सही अर्थ दिने हो । यसले उजिल्याउँछ र सार्थक जीवनतिर निर्देशित गर्छ मानिसलाई । जब मानिसलाई अरुको दुःखमा दुख्न थाल्छ र समभाव जागृत हुन्छ, तब शुरु हुन्छ उसमा परोपकारी भावना । अरुको पीडामा जब आँखाहरु टिल्पिलाउँछन् र मुटु भक्कानिन्छ, मानिसमा समाजसेवाको भावना जागृत हुन्छ, अनि उसले खोज्न थाल्छ मानवको सेवा गर्ने बाटो । सामाजिक भावना भएका मानिस जहाँ लाग्छन् हृदयदेखि लाग्छन् र उनीहरु लागेको ठाउँमा सफल बन्छन् ।

पहिला–पहिला जतिबेला अशिक्षा, अज्ञानता र रुढीवादी सोचाइले ग्रस्त भएर नेपाली समाज मस्त निद्रामा निदाइरहेको थियो र शासकहरु पनि शिक्षाको क्षेत्रमा केही गर्न खोज्ने र सामाजिक सुधार गर्न खोज्नेहरुलाई कर्के नजरले हेर्दथे र विभिन्न प्रकारका दुःख दिन्थे, त्यतिबेला पनि समाजसेवीहरु ज्यान जोखिममा राखेर समाज हितका लागि समर्पित भएकै हुन् । यस्तै विशिष्ट र स्मरणीय कामहरुकै आधारमा समाजसेवीहरुप्रतिको जनतामा सकारात्मक धारणा सृजना हुन्छ ।

निस्वार्थ भावले समाजसेवामा लाग्ने कमै हुन्छन् । असल समाजसेवीहरु असाधारण भावना भएका खुल्ला दिलका मानव हुन् । संघ–संस्थामा आबद्ध बनी दिनरात निःस्वार्थ रुपमा समाजसेवामा लागेर प्राप्त गर्ने के हो भन्दा समाजसेवीहरु भन्छन्– आत्मसन्तुष्टी र खुशी । उनीहरु भन्छन्– सम्पत्तिवानहरु अकुत धनदौलतको सिरानी हालेर निदाउन सक्दैनन् । तर, सच्चा समाजसेवा गर्ने मानिस निःस्वार्थ रुपमा समाजसेवा गरेर आनन्द प्राप्त गर्छ । जीवनको मुख्य लक्ष्य र प्राप्ति के हो ? खुशी, शान्ति र आनन्द । समाजसेवाबाट समाजसेवीले त्यही प्राप्त गरिरहेका छन् । भोलिको आशा भएन भने मानिसको जीवनको कुनै सार्थकता छैन । भविष्यप्रति हामीले सदैव आशा राख्नुपर्ने हुन्छ । निराशाका घनघोर रात्रीमा पनि मानवलाई बाटो देखाउने भनेको जीजीविषा हो । साँचो अर्थमा मानवसेवाको अभिष्ट बोक्नेका लागि अगाडिका सबै समस्या सामान्य लाग्छन् । मानवहीत नै सबै धर्मको सार हो र परोपकारमा नै वास्तविक धर्मको मर्म लुकेको हुन्छ भन्ने उनीहरुको जीवनदर्शन हुन्छ । सयौं हजारौं विद्यार्थीका प्रेरणाका स्रोत र शिक्षा र समाजसेवामा लाग्न सदैव उत्प्रेरित गर्ने समाजका पथप्रदर्शक हुन् समाजसेवीहरु । समाजसेवामा निस्वार्थ भावले लाग्ने हो भने सफल बन्न सकिने र समाजले पनि केही प्राप्त गर्न सक्ने निश्चित छ ।

मानव जीवनको सार्थकता अरुको भलो गर्नमा नै रहेको छ । सकारात्मक दिशातिर परिलक्ष्यित भएका कदमहरु निरन्तर निर्दिष्ट लक्ष्यतर्फ लागिरहनेमा विश्वास गर्न सकिन्छ । मानव मुक्तिको सपना सबभन्दा बढी लोकतान्त्रिक, उन्नत र मानवताले ओतप्रोत सपना हो । जनतालाई न्याय र समानताको सपना देखाउने र सोही अनुरुप जनतालाई साथ लिएर मुलुकमा साँचो अर्थमा नवनिर्माणको लहर ल्याउन सक्ने नेतृत्व आजको खाँचो हो । एक्कासौं शताब्दीमा नेतृत्व सामुहिक प्रयासबाट जन्मिन्छ र नेतृत्व मूलतः सामुहिक नै हुनुपर्दछ । हरेक मानिसका विविध प्रतिभा र क्षमतालाई प्रयोग गरी सामुहिक र राष्ट्रिय ध्येयलाई केन्द्रमा राखी सामुहिक नेतृत्व निर्माण प्रक्रियालाई अघि बढाउन आवश्यक छ । वास्तवमा आजको पुस्ताले गतिशील, विचारवान र सामुहिक नेतृत्व पद्धतिमै बढी विश्वास गर्नुपर्दछ । बिना स्वार्थ आत्मसात गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन योजनाका साथ समस्त जनतालाई साथमा लिएर नेतृत्व अघि जान सक्छ । असल नेतृत्व भनेको आम जनताको औसत चिन्तन, मनोविज्ञान, सोच र स्वार्थबाट माथि उठेको उन्नत सामुहिक तथा मानवीय प्रगतिशील चेतबाट मात्र सम्भव हुन्छ । यसका लागि उन्नत चेतनासहितको सचेत र संगठित पहल जरुरी हुन्छ । तर, यी सबैका पछि समाजसेवी भावना प्रमुख विषय हो । आफ्नो व्यक्तिगत मनोकांक्षा पूरा गर्न, धनदौलत थुपार्न संघ–संस्था, दल र राजकीय पदहरु लिने तुच्छ, स्वार्थी, समाजघाती, देशघाती भावनाको बढोत्तरी हुनु भनेको समाज र मुलुक अधोगतितर्फ लाग्नु हो ।

समग्रमा भन्नुपर्दा, साँचा समाजसेवीहरु प्रचारका भोका हुँदैनन् । समाजसेवालाई अहिले धेरैले नाम र दाम कमाउने मलिलो पेशाका रुपमा ग्रहण गरेका छन् । समाजसेवाकै आवरणमा कालो धनलाई उजिल्याउनेको संख्या पनि ठूलो छ नेपालमा । अपराधी छविलाई धोइपखाल्न पनि समाजसेवाको दोसल्ला ओढ्नेको संख्या पनि कम छैन । तर, सबै मानिसमा सामाजिक भावको मानवीय गुण नहुनसक्छ । स्वार्थी प्रवृत्ति पनि छ नेपाली समाजमा । स्वार्थीहरुको हृदयममा सम्पूर्ण समाजको उत्थान होस् भन्ने भावना उत्पन्न हुँदैन । यस्ता व्यक्ति समाजको सेवा गर्न अयोग्य मात्र होइन, समाज विकासका लागि घातक पनि हुन्छन् । पैसा भएकाहरुले मात्र समाजसेवा गर्छन् भन्नु भ्रम मात्र हो । मानव हितका लागि आफूले गर्न सकिने काम गर्ने हो । समाजसेवा भनेको आफूले जे गर्न सकिन्छ, त्यही आफ्नो ठाउँबाट इमान्दार भएर गर्ने हो । त्यही नै महानता हो ।

समस्त प्राणीमा मनुष्य नै श्रेष्ठ प्राणी भएकाले आफ्नो मात्र हित नहेरेर ऊ समस्त समाजको सहयोगका लागि अभिपे्ररित हुन्छ । ऊ भित्र परोपकारी भावना हुन्छ । वास्तवमा परोपकार नै समाजसेवा हो । संसारका सबै धर्मशास्त्रको सार खिच्दै भागवतगीतामा श्रीकृष्णको भनाइ छ– पुण्य कमाउन चाहन्छौ भने परोपकार गर, पाप कमाउन चाहन्छौ भने अरुलाई पीडा देऊ । बाइबल भन्छ– अरुप्रति तिमी त्यो काम नगर, जुन काम आफूप्रति अरुले नगरून् भन्ने चाहन्छौ । कुनै पनि विकसित समाज सदासर्वदा समाजसेवकहरुको ऋणी रहन्छ । प्राकृतिक प्रकोपको शोक र विपत्तिको घडीमा पीडितको सहयोग गर्न सामाजिक भावनाका मानिस सदैव मैदानमा उत्रिन्छन्, जनताको विषम् र दुःखद घडीमा सबैका लागि उदाहरणीय र प्रेरणाको स्रोत बनेर समाजसेवीहरु क्रियाशील हुन्छन् । करोडौं रुपियाँ निजी सम्पत्ति निःस्वार्थ परोपकारमा लगाउने व्यक्ति पनि धेरै छन् । यस प्रकारका उदाहरणीय उदारता भएका समाजसेवीहरुकै कारण समाज टिकेको पनि छ । नेपालीमा उखान छ– मन हुनेको धन हुँदैन, धन हुनेको मन हुँदैन । तर कहिलेकाहिँ यो लोकोक्ति अपवाद पनि हुनसक्छ । साँचो समाजसेवा सदैव स्तुत्य हुन्छ र समाजसेवीहरु सँधै वन्दनीय हुन्छन् । समाजमा धनसम्पत्ति भएका दर्जनौं मानिसहरु पाइन्छन्, तर समाजका लागि उनीहरु एक रुपैयाँ मात्रै पनि खर्च गर्न दाँतबाट पसिना चुहाउँछन् ।

उनीहरु यति लोभी हुन्छन् कि समाजबाट उनीहरु लिन मात्रै जान्दछन्, आफ्नो तर्फबाट समाजका लागि केही दिन चाहँदैनन् । तर, समाजलाई केही दिन उत्कट चाहना भएका विशाल हृदय भएका मानिसहरुबाटै समाजले गति लिने हो । सामाजिक भावना भएका व्यक्तिहरुले महानतम् जिम्मेवारी र विशाल जोखिमहरुले भरिएका कर्तव्यहरु आफ्नो काँधमा लिई फत्ते गर्छन् । आफ्ना कर्तव्यहरु पालना गर्नुलाई नै उनीहरु परम् सन्तोष प्राप्तिको बाटोको रुपमा लिन्छन्, अन्य केही पुरस्कारका आशा गर्दैनन् ।

हाम्रो शैक्षिक प्रणालीमा यस प्रकारका समाजसेवी भावनालाई प्रोत्साहित गर्ने शिक्षाप्रद विषयबारे बारम्बार चर्चा परिचर्चा हुनुपर्छ । हाम्रा असल समाजसेवीहरुको मनोवृत्ति र आचरणमा हामी भविष्यको नवमानवको झलक देख्न सक्छौं । हाम्रो इतिहासका विभिन्न कालखण्डमा समाज परिवर्तनका महान उद्देश्यप्रतिको चाहना र सम्पूर्ण लगनशीलताले भरिपूर्ण कार्यहरुलाई दोहो¥याइएको छ पटक पटक र यी सबै परिवर्तनको केन्द्रमा समाजसेवीहरुको भूमिका रहेका छन् । तसर्थ, समाजसेवाको भावना शिक्षा, स्वास्थ्य, व्यापार, वाणिज्य, खेलकुद लगायत हरेक मानवीय गतिविधिमा अन्तरनिहित रहनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here