मेला यता, ग्राहक उता : व्यवसायी: चाडको बेला पनि नेपाली बजार सुनसान

0
522

बिर्तामोड।

खुकुलो भन्सार र खुल्ला सीमानाका कारण चाडवाडमा समेत झापाका सबैजसो बजार अहिले सुनसान छन् । तर, भारतीय बजारमा भने किनमेल गर्नेको घुइँचो छ । विशेष गरी भारतको पानीट्याङ्की, नक्सलवारी, शिलगढीलगायतका बजारमा नेपाली ग्राहक भरिभराउ देखिन्छन् । उनीहरुले दैनिक करोडौं रुपैयाँको सामान खरिद गर्दै आएका छन् ।

नेपाली ग्राहकहरुले दैनिक करोडौंको किनमेल सीमावर्ती बजारबाट गर्नेक्रम बढेसँगै झापाका बजार सुनसान बनेपछि यहाँको व्यवसाय समेत धरासायी बन्दै गइरहेको व्यवसायीका अगुवा नेताहरुले नै बताउँदै आएका छन् । नेपालमा सरकारले व्यवसायीलाई कर लिने माध्यम मात्रै बनाउँदा नेपालको व्यापार व्यवसाय चौपट भएको व्यवसायीको आरोप छ । वर्षेनि विभिन्न बहानामा थप गरिएको करका कारण पछिल्लो समय नयाँ–नयाँ सामान ल्याएर नेपालमा बिक्री गर्ने अवस्था नरहेकोले यहाँको बजार बिस्तारै खस्कदै गएको व्यवसायीको भनाइ छ ।

चाडवाडको समयमा झापामा कतिको कारोवार हुन्छ, त्यसको यकिन तथ्याङ्क व्यवसायीसँग नै छैन । तर, वर्षेनि व्यवसाय खस्कँदै गएको उनीहरुको भनाइ छ । सस्तोकै कारण भारतीय बजारमा नेपाली केन्द्रित हुँदा यहाँको बजार सुनसान बन्ने गरेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना बताउँछन् । उनी भन्छन्– सामान नेपालमा भन्दा भारतमा सस्तो पाइन्छ, त्यही कारण नेपालीहरु भारतीय बजारमा निर्भर हुँदा नेपालको व्यवसाय धरासायी हुने स्थितिमा पुगेको छ । उनी भन्छन्– भारतमा सामान किन्न निरुत्साहित नगर्ने हो भने अबको अवस्था झन् जटिल बन्दै जाने निश्चित छ ।

मेची उद्योग वाणिज्य संघले नेपाली बजारलाई नै प्राथमिकतामा राखेर सामान खरिद गरिदिन अनुरोध गर्दै मेची पुलमा होर्डिङ वोर्ड नै राख्ने तयारी थालेको तिम्सिना बताउँछन् । अधिकांश मानिस भारत केन्द्रित हुने हुँदा उनीहरुलाई रोक्ने अभियान स्वरुप होर्डिङ वोर्ड राख्न लागिएको उनले बताए । उनले भने अब यही अवस्था रहिरह्यो भने मेची पुलमा बसेर प्रत्येकलाई नेपालमै सामान किनिदिनु प¥यो भन्दै हात जोड्नुको विकल्प छैन ।

मेचीनगरमा १० हजारभन्दा बढी व्यवसायी छन्– उनी भन्छन्– चाडवाडको समयमा कति कारोवार हुन्छ यकिन त भन्न सकिँदैन तर यताभन्दा उता (नेपालमा भन्दा भारतमा) बढी व्यापार हुन्छ । खास गरेर पानीट्याङ्की, नक्सलवाडी र शिलगढीमा नेपाली केन्द्रित हुँदा उताको व्यापार बढेर गएको हो । जसको असर झापाका अन्य बजारका व्यवसायीलाई भन्दा मेचीनगरका व्यवसायीलाई बढी छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले सरकारको नीतिकै कारण नेपाली व्यवसायी मारमा परेको बताएका छन् । उनले सरकारको आर्थिक समृद्धिको नीतिका कारण सानाभन्दा साना व्यवसायीसंग पनि कर अस्वभाविक रुपले लिएका कारण यस्तो समस्या आएको बताए । भारतले नुनदेखि सुनसम्म विक्री गर्दा आफ्नो प्रोडक्ट दिन्छ तर नेपालले त्यो गर्न सक्दैन । जसका कराण नेपाली भारतीय बजारमा केन्द्रित बनेका छन्– भट्टराई भन्छन्– नेपाली स्वाधीनता, नेपाली पन झल्काउन नसकिएसम्म यस्तो अवस्था रहिरहन्छ ।

बिर्तामोडमा मात्रै १० हजारको हाराहारीमा व्यवसायी छन् । जसमध्ये ३२ सय व्यवसायी वाणिज्य संघमा आवद्ध छन् । कारोवारको हिसाबले झापाका अन्य बजारको तुलनामा यहाँ बढी कारोवार हुन्छ तर कति हुन्छ भन्ने यकिन तथ्याङ्क संघसँग छैन । आफ्नो बजार, आफन्त व्यापारी, उनीहरु कहाँ गएर सामान किन्नुपर्छ भन्ने भावना जागृत नहुञ्जेलसम्म भारत केन्द्रित ब्यापार नरोकिने उनको बुझाइ छ । उनी भन्छन् । भारत केन्द्रित व्यापार रोक्न सरकारसँग पटक–पटक आग्रह र छलफल गरे पनि प्रभावकारी हुन सकेको छैन ।

यता कनकाई उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल भन्छन्– खुल्ला अर्थतन्त्रमा जहाँ गएर पनि व्यापार व्यवसाय गर्न पाइन्छ । व्यापारीलाई यो बेच त्यो नबेच, उपभोक्तालाई यहाँ किन त्यहाँ नकिन भन्न सक्ने अवस्था रहन्न । यस्तो अवस्थामा भारत केन्द्रित उपभोक्ता हुनु स्वभाविक हो । तर, भारत केन्द्रित उपभोक्ता हुँदा नेपाली व्यवसायी भने मारमा छन् ।

कनकाईमा दैनिक करोडभन्दा बढीको कारोवार हुने गरेको छ । चाडवाडको समयमा अझ बढी कारोवार गर्ने लक्ष्य व्यवसायीको हुन्छ तर अहिलेको अवस्थामा त्यो रहेन । किनकि यो सिजनमा अधिकांश उपभोक्ता भारत केन्द्रित छन्– उनी भन्छन् – भारत केन्द्रित उपभोक्ता भएकै कारण कतिपय पसलेले अहिले पनि केही नबेची पसल बन्द गर्नुपर्ने अवस्था रहेको छ ।

हामी व्यवसायीले जति रोइ कराई गरे पनि भारत केन्द्रित बजार रोकिन्नँ– उनी भन्छन्– यसका लागि सरकारले व्यवसायीसंग छलफल गरेर भन्सारमा कडाइ गर्नुप¥यो । नत्र मेला यता, ग्राहक उताको अवस्था हुन्छ । अनि कसरी यहाँका व्यवसायी समृद्ध हुन्छन् र सरकारलाई कर तिर्न सक्छन् ? उनी प्रतिप्रश्न गर्दै भन्छन्– यो समस्या निराकरणका लागि सरकार नै कडा रुपमा प्रस्तुत हुनुप¥यो । नेपाली बजार महंगिएको भए बजार अनुगमन गर्नु प¥यो । भारतमा दुई पैसा सस्तो पाइने लोभले दिन माया मारेर यहाँका नागरिकहरु भारत जाने गरेका छन् ।

भारतमा जीएसटी सिस्टम लागू भएका कारण कतिपय प्रोडक्ट नेपाल पठाउन नसक्नु र नेपालीले खोजेको प्रोडक्ट भारतमा सस्तो मूल्यमा पाउनुले पनि नेपालीहरु भारत केन्द्रित छन्– झापा उद्योग वाणिज्य संघका महासचिव पंकज शर्मा भन्छन्– भन्सार दर बढाएर मात्र हुँदैन सरकारले क्वालिटी दिन सक्नुप¥यो । सरकारले हरेक क्षेत्रमा राजश्व बढाएकाले समस्या भएको हो । उनी भन्छन्– सीमा क्षेत्रमा कडाइ नगरेसम्म यो समस्याको समाधान हुँदैन ।

उता दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ भन्छन्– राज्यले कडाइ नगरेसम्म यो समस्याको समाधान हुँदैन । पूजाको सामान किन्न समेत भारत जाने प्रवृत्तिका कारण नेपाली व्यवसायी अहिले साँच्चिकै मारमा छन्– उनी भन्छन्– यता भन्दा उता सस्तो भएकै कारण नेपालीले भारतीय वजारमा आश्रित हुनु परेको हो ।

भारतीय बजारमा नेपालीले सामान खरिद गर्दा दैनिक लाखौं रुपैयाँ राजश्व गुम्ने गरेको छ । तर, सरकारले भन्सारमा कडाइ नगर्दा विशेष गरेर मोटरपार्टस्का सामान चाडवाडमा मात्र नभई बाह्रै महिना भारतबाट भित्रिने गरेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here