समस्याको पहिचान र समाधान कसरी गर्ने ?

0
5051

रामचन्द्र उप्रेती,

समस्या भनेको जीवनमा छिन–छिनमा, दिन–दिनमा आइरहन्छ । यहाँ जीवन भनेको व्यक्तिको मात्रै होइन राष्ट्र, सरकार, राजनीतिक पार्टी, विभिन्न संघ–संस्था, समाज, परिवार हुँदै व्यक्तिगत जीवनसम्म यसैमा पर्छ भन्ने मानौं । समस्या जीवन जिउने कार्यको अभिन्न हिस्सा हो भन्ने मेरो बुझाई छ । समस्या नभएको जीवन कसैले परिकल्पना गर्छन् भने त्यो दृष्टिदोष हो ।

धेरैले भनेको सुन्छु यो समस्या नभएको भए म यो गर्थें । तर, खोज्दै जाँदा पाइने कुरा के हो भने समस्याका कारण नै मानिसले आजको अवस्थाको विकास गरेको हो । जीवन धान्न खानलाउन कै दुःख भएका एकजना व्यक्तिले भने छन्– मानिसले खानु चाहिँ नपरेको भए कति प्रगति गर्थे होलान् ? अर्को अलि बुझेका छेउकाले भने छन्– मानिसले खानु नपरेको भए जंगल फाडिँदैन थियो र मानिस जंगलभित्रै हुन्थे । उनको आशय थियो मानिसले खानु नपरेको भए खेती गर्न सिक्ने थिएन, खेती गर्न नजानेको भए जंगल फाड्नु पर्ने आवश्यकता हँुदैन थियो । जंगल नफाडिएको भए अहिलेको मानिस पनि जंगलभित्रै हुने थियो ।

एउटा प्रशिक्षण कार्यक्रममा प्रशिक्षक राजाबाबु शाहले भने प्रगतिका लागि मानिसमा तनावको जरुरी छ । मैले धेरै कार्यक्रममा सुन्दै र सुनाउँदै आएकोभन्दा भिन्न भयो यो कुरा । उनले यसलाई पुष्टि गर्दै भने तनाव दुई प्रकारका हन्छन् । सकारात्मक तनाव र नकारात्मक तनाव । सकारात्मक तनाव प्रगतिको कारण हो भने नकारात्मक तनाव प्रगतिको बाधक । अन्त्यमा चित्त बुझ्यो । सकारात्मक तनाव नभइकन मानिसले चाहेको प्रगति गर्न सक्दैन भन्ने निष्कर्षमा पुगें ।

हामीलाई समस्याले तनाव दिन्छ । पहिला यो तनाव कस्तो हो भनेर थाह पाउनुपर्ने रहेछ । जस्तै विद्यार्थीलाई परीक्षा नजिक आएपछि तनाव हुन्छ । कर्जाको किस्ता बुझाउनुपर्नेलाई किस्ताको दिन नजिक आउँदा तनाव हुन्छ । ओरालो लाग्न थालेको व्यवसायमा महिना मर्न थालेपछि कर्मचारीको तलव, घरभाडा र अन्य मासिक खर्चका कारण तनाव हुन्छ । महिनामा एक पटक हात परेको तलवले घरखर्च धान्नुपर्ने परिवारलाई महिनाको अन्त्यमा तनाव हुन्छ ।

कतिपय कर्मचारीलाई कार्यलयको कामको कारण तनाव हुन्छ । व्यवसायीलाई व्यापार राम्रो नभएका कारण तनाव हुन्छ । घरपरिवारमा एकअर्कामा बुझ्न बुझाउन नसक्ता तनाव हुन्छ । नेतालाई कार्यकर्ताको तनाव, कार्यकर्तालाई जनताको तनाव, जनतालाई सधै आफ्नै तनाव । सरकारलाई विकास कसरी गरेको देखाउने भनेर तनाव, घुस्याहालाई घुस खान नपाएकोमा तनाव, घुस खाएकालाई कसरी पचाउने भन्ने तनाव आदि ।

परिक्षा नजिकिँदै गर्दा विद्यार्र्थीमा हुने तनावको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा महत्वको हुने गर्छ । परिक्षा हुन्छ भन्ने थाहा छ । तर, समयदेखि नै तयारी गरिँदैन र परीक्षा नजिकिँदा कमसल शिक्षक समेत विद्यार्थीलाई चोराएर पास गराउने ध्याउन्नमा हुन्छन् । विद्यार्थी जान्नलाई होइन पास हुन जाँच दिने हुनाले चिट चोर्न इच्छुक हुन्छन् । कतिपय स्थान र परिवारमा आफ्ना विद्यार्थीलाई पास गराउन स्कूल, शिक्षक, अभिभावक सबै चिट चोराउनमा मस्त हुन्छन् । समस्या समाधानको यो मोडल पनि चल्तिमा छ ।

महिनाको अन्त्यतिर किस्ता, व्याज बुझाउन तनावमा हुने कतिपयले त्योभन्दा महँगो व्याजमा पैसा काडेर किस्ता व्याज बुझाउने गरेको हुन्छ । कार्यकर्ताको तनावबाट मुक्त हुन नेताले कार्यकर्तालाई ढाँटने र अल्झाउने गर्छन् । जनताको प्रिय भइरहन नेताले जनतालाई सामाजिक खपतका लागि झुट बोल्ने गर्छन् । कतिपय छोराछोरीले बाबुआमालाई झुट बोलेर तत्कालको तनाव कम गर्छन् ।

कुनै बेला कर्णाली क्षेत्रमा उत्पादन कम भयो र भोकमरीको समस्या आइलाग्यो । सरकारले समाधानका लागि त्यहाँ सस्तो चामल पठाउने कामको शुरुवात ग¥यो । कर्णालीबासीमा सस्तो चामलको लत यसरी बस्योे कि तिनले स्थानीय उत्पादन कसरी गरिन्थ्यो भन्ने नै बिर्सन थाले । कर्णालीका बासिन्दा खाद्यान्नमा सधै पर निर्भर हुने अवस्थामा पुगे । यो रोग आज देशभरि सरेको छ । कुनै समयमा खाद्यान्न निर्यात गर्ने हाम्रो मुलुक अहिले खाद्यान्न आयात गर्नुपर्ने कारणले हैरान छ । किनकि समस्या थियो, समस्या आयो तर त्यसको समाधानको तरिका के अपनाइयो भन्ने कुराले आजको थप समस्या देखिएको हो ।

देश हाक्ने राजनीतिक दलहरुमा समस्या समाधानको अनौठो प्रयोग हुने गरेको छ । त्यहाँ नीति, विधि र सिद्धान्तलाई केन्द्रमा राखेर होइन केही व्यक्तिको पद, प्रतिष्ठाको सुरक्षाका लागि अरुलाई खुसी पार्ने तरिका पपुलर छ । जो आफ्नो सहयोगी हुन्छ, नजिक हुन्छ, भनेको मान्छ, स्वार्थ मिल्छ उसलाई खुसी पार्न भाग लगाउने मोडल धेरै प्रयोग गरिन्छ । यसको अन्तिम शिकार तत्कालिन एकिकृत नेकपा माओवादी बनेको थियो । त्यस पार्टीका केन्द्रीय सदस्य नै चार हजार जति थिए । जिल्लातिर पनि चार–पाँच सयको कमिटी बन्ने गरेको थियो । समस्या समाधानको यो मोडलले अन्ततः पार्टी एकीकरणको नाममा विलय हुन बाध्य भएको थियो ।

समस्या नभएको जीवन हँुदैन भन्ने निस्कर्षमा पुगेपछि समस्यासँगै जिउने अभ्यास गर्नु अनिवार्य हुन्छ । समस्या समाधान गर्दै जीउनु एकमात्र विकल्प हुन्छ । समस्या कस्तो छ, कत्रो छ त्यसले कति प्रभावित गर्छ भन्ने कुराभन्दा समस्याको समाधान कसरी गर्छौं भन्ने कुरा धेरै महत्वको हुने गर्छ भन्ने बुझ्न कतिलाई धेरै समय लाग्छ । अझ कतिले यो बुझ्नै चाहँदैनन्भन्दा हुन्छ ।

देशमा खाद्यान्नको अभाव छ । दूध, तरकारी, माछामासु, फलपूmल धेरै थोकको अभाव छ । अभाव समस्या हो । अभाव हटाउन हामी के गर्छौं त्यो मुख्य कुरा रहेछ । हरेक दिन हजारौं मानिस बिरामी भएर अस्पताल धाउन बाध्य छन् । बिरामी हुनु समस्या हो । समाधान कसरी गर्छौं मुल कुरा त्यसमा रहेछ । व्यक्तिगत जीवन, परिवारिक जीवन, संस्थागत जीवनमा यस्ता समस्या छिन–छिनमा दिन–दिनमा आईरहन्छन् ।

कमजोर चरित्रका मानिसमा दिगो समाधान खोज्नभन्दा तत्कालको समस्या जसरी भए पनि समाधान गर्ने ध्याउन्नमा हुन्छन् । समस्या समाधानको दिगो उपाय अपनाउने धैर्यता र बुद्धि यिनमा निकै कमजोर हुन्छ । जस्तै फोहर रहन–सहन र अस्वस्थ खानपानका कारण बारम्बार विरामी भइरहने मानिस उपचार गर्न अस्पताल गइरहने, डाक्टर भेटिरहने र औषधि सेवन गरिरहने गर्छन् । तर, आपूm विरामी हुनुको कारण खोज्ने र जीवनशैलीमा सुधार गर्ने प्रयास कम गर्छन् ।

सधै आर्थिक संकट भइरहने परिवार, व्यक्ति, संस्था धेरै नै हुन्छन् । आर्थिक संकट समाधानका लागि ऋण लिने, सापट खोज्ने, चर्को मूल्य चुकाउने र तत्कालको समस्या समाधान गर्ने उपाय खोज्ने धेरैले गर्छन् । तर, आर्थिक संकट किन बारम्बार आउँछ भनेर कारण खोज्ने र दिगो समाधान गर्ने प्रयास धेरैले गर्दैनन् । त्यसको लागि आफ्नो सोच बदल्नुपर्छ, दैनिकी परिवर्तन गर्नुपर्छ, जीवनशैलीमा सुधार गर्नुपर्छ । जस्तै सधैं आर्थिक समस्या आइरहन्छ भने खर्च घटाउन तयार हुनुपर्छ, आर्जन बढाउन प्रयास गर्नुपर्छ र बचत अनिवार्य गर्नुपर्छ । यसखालको प्रयासले शुरुशुरुमा संकट अभैm बढ्छ । समस्या थपिन्छ । तर, संकट बढ्छ समस्या थपिन्छ भनेर सधै सजिलो उपाय मात्रै अपनाउने हो भने सम्झिनुपर्छ यस्तो संकट जीवन छउञ्जेल रहिरहन्छ ।

मागेर जीवन धान्नु, मागेर काम चलाउनु सबैभन्दा सजिलो उपाय हो । एउटा कार्यक्रममा ‘बसी–बसी पैसा कमाउने उपाय चाहिनेहरुले हात उठाउनुहोस्’ भनियो । केहीले हात उठाए । चोकमा बटुको थापेर बस्दा पनि केही त पाइहालिन्छ भनिदिए । हात उठाउने सबै खिस्रिक्क भए । त्योभन्दा अलिक कठिन चोरेर, ढाँटेर, छलेर, अरुलाई झुठ बोलेर, ठगेर काम चलाउनु, जीवन धान्नु हो । माथिका दुवै उपाय सम्मानजनक उपाय हुदै होइनन् तर सजिलोको लागि यस्तै गरिन्छ ।

सम्मानजनक र दिगो उपाय भनेको उत्पादन र सेवा कार्यसँग पारदर्शी हिसावले जोडिनु, काममा लाग्नु, निरन्तर आम्दानी बढाउने काममा लाग्नु, निरन्तर र इमान्दारपूर्वक आफ्नो लक्ष्य प्राप्तिमा लागि रहनु हो । इमान्दारपूर्वक लक्ष्य प्राप्तिमा निरन्तर लागि रहनु सजिलो काम होइन । तर, यसै नगरी कसैले पनि दिगो समाधान गर्न सक्दैनन् ।
जस्तै देशमा तरकारी तथा फलपूmलको अभाव हुन्छ । अभाव समस्या हो । समाधान अभाव हुन नदिनु हो । अभाव हुन नदिन राज्यले कस्तो नीति लिन्छ । त्यो महत्वपुर्ण कुरा हो । अभाव हुन नदिन तत्काल भारत लगायतका मुलुकबाट आयात गरेर समस्या समाधान गरिँदैछ । बजारमा अहिले दूधको अभाव छ । दूध पाउडर ल्याएर समाधान गर्न सकिन्छ ।

यो सजिलो उपाय हो । तर, दिगो उपाय होइन । दिगो उपाय देशमा उत्पादन बढाउनुपर्छ । यसका लागि अनुकूल वातावरण बनाउनुपर्छ । अनुकूल वातावरण बनाउन कहिलेकाँही कठिनाई झेल्नु पर्छ । जस्तैः सहज आपूर्तिको बाटो नअपनाउने र उत्पादनको वातावरण बनाउन लाग्ने हो भने तत्काल बजारमा अभाव हुन सक्छ, मुल्य बृद्धि हुन सक्छ । केही असहज र हल्लाखल्ला होला, तर त्यो अवस्था नै उत्पादनमा लाग्ने अनुकूल वातावरण हो । त्यसैले जब हामी समस्याको दिगो समाधानको बाटोमा लाग्छौं तब केही न केही समस्या नहोला भन्न सकिन्न । अझभन्दा चलिरहेको अवस्थाभन्दा बढी संकटको अवस्था आउन सक्छ । तर, त्यो संकटले दिगो समाधानको बाटो रोजेको रहेछ भने खुसीको कुरा हो ।

भोकाएको मानिसलाई खाना चाहिन्छ । अझ धेरै भोकाएको मानिसलाई त जस्तो भए पनि खान पाए पुग्छ । तर, भोकाएको बेला उपलब्ध खानामा मन्दविष छ भने के गर्ने ? जतिसक्दो चाडो यस्तो खानाबाट छुटकारा पाउने उपाय अवलम्वन गर्ने । त्यसका लागि समस्याको सजिलो समाधानको उपाय छाड्नुपर्छ र विकल्प खोज्नुपर्छ ।

ऋणको साँवा व्याज तिर्न नसकेर सकसमा परेको होस् वा दैनिक गर्जाे टार्न नसकेर समस्या परेको होस् । यस्तो अवस्थामा पैसा उपलब्ध हुनु समाधान हो । तर, त्यो पैसाले भविष्यमा अहिले भोगेकोभन्दा जटिल समस्या निम्त्याउने अवस्था छ भने त्यस्तो उपाय अपनाएर तत्कालको समस्या समाधान गर्नुभन्दा बरु अहिले नै अरु समस्या झेल्न तयार हुनु समाधानको दिगो उपाय हुन सक्छ । तत्कालको समस्या टार्न चर्को व्याज र कडा शर्त स्वीकार्ने, आफ्नो जेथा जमानी राखी दिने कारणले धेरै मानिस समस्यामा परेको, मिटर व्याचको चक्रमा परेर घरबार पेशा गुमाउनु परेको, परिवार विचल्ली भएको र आत्महत्यासम्मका घटना हुने गरेको सुनेका, देखेका र भोगेका छौं । आर्थिकरुपमा समस्यामा परेर सल्लाह र सापट अथवा ऋण माग्न आउने मध्ये धेरैलाई मैले अहिलेको पैसा तिर्न योभन्दा कठिन शर्तको पैसा नलिन सल्लाह दिन्छु ।

केही मानिस देखावटी इज्जत, मानसम्मानका लागि हैसियतभन्दा धेरै खर्च गर्न मन पराउछन् । उनीहरुको तत्कालको उद्देश्य आपूm सम्पन्न, क्षमतावान् र खर्च गर्न सक्ने क्षमताको भएको देखाउनु हुन्छ । केही मानिस चलन, परम्परा, रितिथिति धान्न, समाजले कुरा नकाटोस् भनेर पनि हैसियतभन्दा बढी खर्च गर्न बाध्य भएका हुन्छन् । तर, यहाँ बुझ्नुपर्ने कुरा के हुन्छ भने तत्काल आफन्त र छिमेकीले कुरा काट्नबाट त जोगिएला, प्रशंसा पनि पाइएला, रीतिथिति थामिएला, तर यसको सजाय आर्थिक रुपमा थेगिनसक्नु भएर पेशा, घरवार, इज्जत सबै गुमाउने समय नआउला भन्न सकिन्न ।

नेपाली समाज यतिबेला समस्या समाधानका लागि सजिलो उपायको पछि लागेको अनुभूति हुन्छ । हामी विदेशीको खेताला बन्न तछाडमछाड् गरेर एयरपोर्टमा लाम लागेका हुन्छौं । यसमा अलिकति वाध्यता, अलिकति रहर र धेरै सजिलो उपायको खोजी हो भन्ने मेरो बुझाई हो । त्यस्तै मध्यम वर्गीय परिवारका युवा प्लस टु गर्न भ्याएका हँुदैनन् विकसित देशको नोकर बन्न जानेमा सम्मान ठान्छन् । पढ्न जाने त धेरैको बहाना मात्रै हो ।

आर्थिक हिसावले क्षमतावान् अभिभावक पनि छोराछोरी विकशित मुलुकमा गएकोमा, उतै बसोबास गरेकोमा गर्व गर्छन् । यो गलत चिन्तन हो भन्ने मेरो बुझाई हो । यसै प्रशंगमा एउटा भनाईलाई सम्झन पुगें– एकजना अलि पाका उमेरका मानिस विरामी भए छन् । घरमा भएका छोराले अस्पताल लिएर गए छन् र अस्पतालमा उपचारको क्रममा बाबुको सहयोगी भएर बसेका रहेछन् । विरामी बाबुलाई भेट्न आउने आफन्तसँग कुराकानी भयो, आफन्तले सोधे छोराहरु के गर्दैछन् ? बिरामी बाबुले सगर्व भने छन् एउटा अष्ट्रेलिया छ, अर्को अमेरिका । छेउमा भएकोलाई देखाउँदै खिन्न मन पार्दै भने छन् यसले चाहिँ केही गर्न सकेन घरमै छ ।

काम नगरिकन खानलाउन पुग्नेलाई हामी भाग्यमानी भन्छौं । सामाजिक मान प्रतिष्ठा तिनकै छ । त्यसैले देशभित्र धेरैले काम नगरी खान–लाउन पुग्ने बाटो रोज्ने गर्नाले समस्याको सजिलो समाधान खोज्ने क्रम बढ्दै गएको छ । समस्या समाधानका लागि विशेषगरी राजनीतिको आडमा देशको सम्पतिमाथि भरपर्नेहरुको जमात बढ्दै गयो । भ्रष्टचार कमाउने माध्यम बन्न पुग्यो ।

सजिलो उपायबाट आर्जन भएको सम्पत्ति, सजिलो उपायबाट खोजिएकोे समाधानले कुनै पनि बेला अभैm ठूलो समस्यामा नपार्ला भन्न सकिँदैन । त्यसैले समाधान दिगो, मूल्यमा आधारित धन सबैका लागि उपयुक्त हुन्छ । अस्थाई समाधानले दिगो समस्यालाई निम्ता दिन सक्नेतर्पm सबै सधै सचेत हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here