संस्कृतिको रक्षा गरौं

0
553

आज घटस्थापना । वर्षदिनको प्रतिक्षापछिको वैदिक सनातनी हिन्दू धर्मावलम्वीहरुको महान चाड वडादशैं आजका दिनदेखि घरको पूजा कोठामा प्रवेश गरेको छ । दुर्गा भवानीको आराधनापछि सत्य र न्याय स्थापित गरेको दिनको सम्झनामा मनाइने दशैंको पहिलो दिन आज घर–घरमा घटस्थापना गरेर मनाइन्छ । जोको जीवन जमरा हो जसलाई विशेष विधिले स्थापित गरिन्छ, त्यसैले दिनलाई जमरा राख्ने दिन पनि भनिन्छ । जमरा राख्दा धान, मकै, गहुँ समेत मिसाइन्छ । माटो, हावा, पानीद्वारा सुरक्षित जीवनमा वनस्पतिको पनि त्यत्तिकै भूमिका रहन्छ । यही दिन रोपेको बीऊ अंकुरण हुँदै बढ्दै दशमीका दिनदेखि पूर्णिमासम्म देवीको प्रसादका रुपमा लगाउने हाम्रो मौलिक तथा विशिष्ट संस्कृति विश्वमा अन्त कहीँ छैन ।

आजकै दिनबाट नवरात्र शुरु भएको छ । अब हरेक दिन देवालय, देविका पीठ तथा मन्दिरहरु लगायत नेपालीका घर–घरमा दुर्गा सप्तशती पाठ गरिन्छ । दुर्गा भगवतीसँग शक्ति र न्यायका लागि प्रार्थना गरिन्छ । नवरात्रको पहिलो दिनबाट शुरु भएको यो प्रक्रिया दशमीका दिन विसर्जन गरी मान्यजनबाट टीका र प्रसादका रुपमा जमरा ग्रहण गरी प्रत्येकको अनुहारमा रौनक थप्छ । टीका जमरा ग्रहण गर्नेहरुको मुहारमा दशैंको विशिष्टतामा रौनक थप्छ । टीका जमरा ग्रहण गर्नेहरुको मुहारमा दशैंको विशिष्टताको चित्र देखिन्छ । नेपाल नब्बे प्रतिशतभन्दा बढी ऊँकार परिवारको बसोबास भएको भूमि हो । त्यहीकारण नेपाली प्रकृति, परम्परागत संस्कृति र मौलिक पहिचानमा रमाउन चाहन्छन् । यस्ता चाडपर्वहरुले नेपालीकाबीच सद्भाव, प्रेम, सहिष्णुता र सहृदयता सिकाउँछन्, त्यस्ता चाड मध्येको ठूलो भएकाले दशैं विशेष महत्वको हुने गरेको छ ।

हाम्रो भूगोल सानो छ, तर विविधतापूर्ण छ । हामी थोरै छौं तर विविधतायुक्त छौं । तर, जो जहाँ र जस्तो भए पनि आ–आफ्नो संस्कृतिमा रमाएका छौं । र, एकअर्काको अस्तित्व स्वीकार गरेर बसेका छौं । हिन्दूत्वको सबैभन्दा ठूलो र महत्वको विशेषता यही हो कि नेपालका बीच सहृदयता, सद्भावना, हार्दिकता र सहिष्णुता छ । यही संस्कृतिभित्र अनेक चाडपर्वहरु बेग्लाबेग्लै ढंगले र परम्पराले मनाइन्छ । त्यसमध्येको सर्वाधिक ठूलो र महत्वको चाड दशैं पितृहरुप्रति सम्मान प्रकट गर्दै र पितृहरुको अनुमति लिएर घरमै प्रवेश गरेको अवसरले सबैमा उत्साह जगाओस् ।

दशैं कसैको निम्ति दशा नहोस् । दहीच्यूरा खाने पर्व पनि मानिने दशैंका लागि हिजोआज ढिकीको आवाज सुनिन छाडेको छ। ग्रामीण क्षेत्र पनि शहरीया संस्कृतिबाट अतिक्रमित भइरहेको छ । परम्परागत मूल्य र मान्यताको विचलन गर्न सरकार नै लागीपरेको यो समय हिन्दू अनुयायीहरुले गम्भीर बन्नुपर्ने भएको छ ।

धर्म निरपेक्ष घोषण गरेसँगै मौलिक संस्कृति माथि प्रहार हुन थालेको छ । सबैभन्दा ठूलो चाड दशैंको पहिलो दिन घटस्थापनामा पहिलो पटक सरकारले बिदा नदिएर आस्थामाथि प्रहार गरेको छ । हिन्दूत्वमाथि भइरहेको आक्रमणप्रति सचेत रहँदै मौलिक परम्परा, आस्था, श्रद्धा र संस्कारका माध्यमबाट सबैको कल्याणतर्फ अग्रसर हुन सद्बुद्धि प्राप्त होस् । सबैको मुहारमा जमराको स्पर्शले कान्ति ल्याओस्, मौलिक संस्कार र पम्पराको आधारभूमि अक्षुण्ण रहोस् । सबैको जय होस्, शुभ होस् घटस्थापनाको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here