अर्जुनधारा।
हातखुट्टा नभएका मानिसहरुलाई लक्षित गरि अर्जुनधारा जलेश्वर धामले कृत्रिम हातखुट्टा लगाई दिने भएको छ ।
भारतको कलकत्तास्थित महावीर सेवा सदनको प्राविद्यिक सहयोगमा आगामी मंसिर १३, १४ र १५ गते अनुमानित पाँच सय जनालाई कृत्रिम हातखुट्टा लगाई दिने कार्यक्रम रहेको विहिबार आयोजित पत्रकार भेटघाटमा समितिका अध्यक्ष नविन गट्टानीले बताए ।
आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म ३७औं अनुष्ठानकोरुपमा सञ्चालन हुने श्री वामन पुराण अन्र्तगत ५, ६ र ७ गते सोही सदनको प्राविद्यिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिने बताइएको छ ।
जगन्नथा धामबाट परम पुजनीय अनन्त श्री विभुषित जगतगुरु मुमुक्षानन्द महाराजजीको प्रमुख आतिथ्य र सदनका अध्यक्ष विनोद वगाडीयाको विशेष आतिथ्यमा आयोजना हुने उक्त शिविरमा आँखाको दृष्टी कम भएका पाँच हजार जना भन्दा बढीलाई निःशुल्क चस्मा वितरण गरिने कार्यक्रम रहेको उपाध्यक्ष भीमचन्द्र भट्टराईले जानकारी दिए ।
कृत्रिम हातखुट्टा र आँखा शिविर दुवै कार्यक्रम हेमानन्दजी महाराजको पहलमा हुन लागेको कोषाध्यक्ष मनोज जोशीले बताए । दुवै कार्यक्रमको लागि जिल्लाको १५ वटा स्थानीय तह र छिमेकी जिल्ला इलामका दुई स्थानीय तह माई नगरपालिका र रोङ गाँउपालिकासँग समन्वय गरिने बताइएको छ ।
बालाचर्तुदशीका दिन सतवीज छर्दै सम्पन्न हुने पुराणका प्रमुख वाचक पण्डित कुवेरप्रसाद सुवेदी र उपवाचक धामका ध्यान शिक्षक पण्डित चिरञ्जिवी ढुंगाना रहेका छन् ।
पुराणमा दैनिक यज्ञका साथै रुद्राभिषेक महायज्ञ, धन धान्याचल, गंगा आरतीलगायत हुने बताइएको छ ।
समितिका अध्यक्ष गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष भट्टराईले र कार्यक्रमको सञ्चालन सचिव शिवलाल खतिवडाले गरेका थिए ।





























