दाइजो प्रथा नेपाल, भारत दुबै देशका लागि सामाजिक समस्या बनेको छ । नेपालको तराई क्षेत्रमा दाइजोसँगै बाल विवाहका कारण उत्पन्न परिस्थितिले बर्षेनि धेरै घटना भइरहेका छन् । कानूनतः यी दुबै सामाजिक अपराध हुनु र कसुरदार दण्डित हुन्छन् । तर, थाह भएर÷नभएर यस्ता समस्याहरुको निर्मूल भइरहेका छैनन् । खासगरी मधेशी समुदायमा व्यापक जस्तै रहेको दाइजो प्रथाले धेरैले घरबार बिगारेको छ, अङ्गभङ्ग गराएको छ भने कतिपयको ज्यानै जाने गरेको छ ।
पछिल्लो समय प्रदेश नम्बर १ को राजधानी सरहको विराटनगर उपमहानगरपालिका–११ की एक चेलीको दाइजोकै कारण मृत्यु भएको छ । स्थानीय मनिकचन्द सहनीको २२ वर्षीया छोरी रञ्जुदेवीको भारत अररिया जिल्लाको परवाना नदीको मिरगञ्ज पुल नजिक पानीमा डुबेको अवस्थामा शव फेला प¥यो । रञ्जुका माइतीले उनका पति, जेठाजु, ससुरा र छिमेकी एक व्यक्तिका विरुद्ध किटानी जाहेरी दिएपछि भारतीय प्रहरीले उनीहरुलाई पक्राउ ग¥यो । रञ्जुका माइतले पनि भीम लगायतले दाइजोको विषयमा शारीरिक तथा मानसिक यातना दिएको आरोप लगाएका छन् । त्यहीकारण रञ्जुको हत्या गरिएको माइती पक्षको आरोप छ ।
छोरीलाई विवाहमा सामान्यतः केही वस्तु दिइन्छ । क्षमता अनुसार दिइने यस्ता वस्तुलाई दाइजो नभने पनि हुन्छ । तर, शर्त राखेर गरिने विवाहमा भने दाइजोको चलखेल हुन्छ । निकै ठूलो, शिक्षित र सम्भ्रान्त भनिने परिवारमा समेत क्षमताभन्दा बढी दाइजो माग गर्ने गरेको र त्यसैले पारिवारिक बिग्रह र जीवनकै अन्त्य हुने गरेका कैयौं दृष्टान्त छन् हामी कहाँ । जीवनलाई ऐश्वर्यसँग तुलना गर्ने मानसिकता कुनै अर्थमा स्वभाविक हुन्न । यस्ता कारणले धेरै नेपाली चेलीहरुले भारतमा मृत्युवरण गर्नु परेको छ । त्यही सूचीमा थपिएकी छन्– रञ्जुदेवी । यसले सभ्य समाजको पहिचान दिन सक्दैन ।
मानिस संसारभरका एउटै हुन् । कहीँ, कतै र कसैले अनाहकमा जीवन गुमाउनु हुँदैन । जन्म जस्तै खान र बाँच्न पाउनु मानिसको नैसर्गिक तथा जन्मसिद्ध अधिकार हो । यस्तो अधिकार कुनै पनि बहानामा कुण्ठित हुनुहुँदैन । जहाँ, जसले र जसरी पनि यस्तो अधिकार खोस्ने दुष्प्रयास गरिए तिनलाई कानूनको कठघरामा उभ्याउनु पर्दछ । भारत, नेपाल दुबै देशको सामाजिक समस्याका रुपमा रहेको दाइजो लगायतका कुप्रथाको अन्त्य गर्न सम्बद्ध पक्षले गहिरो अनुसन्धान गर्नुपर्छ । दोषी पाइएका जोकाहीलाई कानूनको दायरामा ल्याउनुपर्छ । यसले मात्र सभ्य र उन्नत समाजको निर्माण गर्न बल पुग्नेछ ।




























