दशैँअघिदेखि बन्द भएको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुलेन

0
667

फिक्कल,

दशैँअघिदेखि बन्द भएको इलामको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन । बिदामा घर गएका कर्मचारी हिरालाल उक्हेडा दशैँ बिदापछि पनि नआएका कारण कार्यालय खुल्न नसकेको हो ।

इलामको सूर्योदय नगरपालिका–४ को अन्तुस्थित छिरुवा छोटी भन्सार कार्यालय दशैँ अगाडिदेखि नै बन्द छ ।कार्यालयदेखि नजिकै घर भएका एक स्थानीय बासिन्दाका अनुसार यहाँ रहेका कर्मचारी दशैँको घटस्थापना अघिसम्म कार्यालयमा नै भए पनि त्यसयता उहाँलाई पनि नदेखेको र कार्यालय पनि नखुलेको वताइएको छ ।

दशैँपछि सार्वजनिक विदा सकिएको १० दिन बितिसक्दासम्म कार्यालयमा कोही आएका छैनन् । सीमाक्षेत्रमा रहेको भन्सारजस्तो कार्यालय कर्मचारीविहीन भएर कुनै काम नहुँदा माथिल्लो निकायले अहिले चासो देखाएको छैन ।

यो भन्सारले भारतको मिरिक, ओकाइटी लगायतका स्थानबाट मेची खोला हुँदै आयात गरिने सामानको भन्सार राजश्व काट्ने र नेपालबाट ती स्थानमा निकासी हुने चौपायालगायत अन्य सामानको भन्सार असुल्ने काम गर्ने गरेको छ ।पशुपतिनगर भन्सार कार्यालयको मातहतमा रहने छोटी भन्सार कार्यालय प्रायः नखुल्ने गरेको स्थानीयवासीको भनाइ छ ।

पशुपतिनगर भन्सार कार्यालयका प्रमुख गजेन्द्र भट्टराईले दशैँपछि कार्यालय नखुलेको आफूलाई जानकारी नभएको राससलाई बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here