जवाफदेहिता र भ्रमण वर्षको सन्दर्भ

0
883

नेपाल भ्रमण वर्षको संघारमा उभिएका छौं हामी । त्यसो त भ्रमण वर्ष मनाउन लागेको यो नै पहिलो होइन, तर पनि सरकारले घोषणा प्रतिबद्धतासहित पैंतीस लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना बनाएको गणतन्त्रात्मक नेपालको पहिलो हुनसक्छ । नेपालको प्रकृति, संस्कृति र जातीय विशिष्टताले शदियौंदेखि विश्व आकर्षित छ । जसका कारण प्रत्येक वर्ष विश्व समाजबाट थुप्रैले यसको रसास्वादन गरेका छन् । विश्वलाई लोभ्याउने सगरमाथा लगायतका उच्च हिम्श्रृंखला हुन् वा आकाश होलान् जस्ता देखिने र जैविक विविधता समेटेर नेपालीलाई जीवन दिने पर्वत सबैको आ–आफ्नै महत्व छन् । त्यसमाथि उच्च भू–भागमा अवस्थित ताल, फरक धू–धरातलमा रहेका जीवजन्तु, खोँच, झरना र आश्चर्यचकित् पार्ने भू–बनोटले वर्षेनि लाखौं मानिसलाई नेपाल आउन बाध्य पारिराखेकै छ ।

विदेशी पर्यटकहरुको आगमनका दुई माध्यम छन् हवाई र स्थल यातायात त्यसमा पनि भूपरिवेष्टित र तीनतिर भारतसँग जोडिएका कारण धेरैले पूर्वीनाका भएर नेपाल प्रवेश गर्ने गरेका छन् । एकपटक प्रवेश गरेको पर्यटक फेरि–फेरि आओस्, अरुहरुलाई पनि प्रेरित गरोस् भन्नका लागि त्यही अनुसारको पूर्वाधार, नीति, सेवा र सुविधा प्रवाह गर्नुपर्छ । यो सँगै उनीहरुलाई त्यस्तो आतिथ्य प्रदान गर्नुपर्छ जसले आगन्तुकलाई लोभ्याओस्, सुविधा दिओस् । यसका लागि सरकारी संयन्त्र, पर्यटन अक्षित संघ–संस्था तथा स्थानीय सरकारको मुख्य भूमिका देखिनु पर्दछ । सुदूर पूर्वको काँकरभिट्टा नाका प्रवेश गर्दाको फरक प्रभाव र अनुभूति दिलाउन पर्यटकमैत्री वातवारण र व्यवहार देखाउन सबै जिम्मेवार र सम्बद्ध निकायको प्रभावकारी उपस्थिति देखिनु पर्दछ।

यथार्थमा हामी अहिले अनेक विकृति र विसंगतिबाट घेरिएका छौं । फोहरको डंगुर आँखामा पर्ने पहिलो अवरोध भएको छ । यत्र, तत्र, सर्वत्र फोहर थुपारिएका छन्, यथोचित र दीर्घकालीन व्यवस्थापन भएको कतै सुन्न पनि पाइएको छैन । व्यवस्था, पद्धति र व्यक्ति फेरियो तर प्रवृत्ति यथावत छ । जहाँ–जहाँ शहरीकरणको वायुले स्पर्श गर्छ त्यहाँ–त्यहाँ जल जमिन र वायु प्रदुषित छ । पूर्वको मेचीनगर होस् वा पश्चिमको दमक नगरपालिका अथवा झापाको केन्द्र भनिने बिर्तामोड सबै दुर्गन्धमय छन्, स्थायी समाधान नपाएर । अझ बिर्तामोडस्थित मुक्तिचोकदेखि चारलेखको बनिने भनेको सदरमुकाम जोड्ने सडक क्षत–विक्षत छ जसले के सन्देश दिन्छ वा कस्तो प्रभाव पार्छ भोग्नेहरुले बुझुन् ।

बिर्तामोड नगरपालिकाको शहरी क्षेत्रभित्र सार्वजनिक शौचालय नै छैन । यात्रु लक्षित शौचको प्रबन्ध नहुँदा खुल्ला दिसामुक्त घोषणा मै सवाल तेर्सिएको छ । स्थानीय सरकारको पहिलो प्राथमिकतामै नपरेर यतिका समय प्रदुषणले थिच्दै लगेको बेला भ्रमण वर्षको व्यग्र प्रतिक्षा छ । मुक्तिचोकदेखि चार किलोमिटर दक्षिणको सडकखण्ड भ्रमण वर्ष प्रारम्भ हुनु पूर्व पूर्णरुपमा सञ्चालनमा आएको हेर्न चाहने स्थानीयबासीको सपना कुण्ठित नहोस् । स्थानीय सरकार, जनप्रतिनिधि जिम्मेवार निकाय, संस्था सडक डिभिजन कार्यालय लगायतका सबै दायित्व बहन गर्नेहरुको इमान्दारिता, लगन, इच्छा र कर्मशीलता भ्रमण वर्षको सान्दर्भिकतासँग जोडिएको देख्न पाइयोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here