गृह मन्त्रालयले पटाकाजन्य वस्तुको आयात एवम् प्रयोगमा कडाइ गर्ने भएको छ । सरकारले प्रत्येक तिहारमा यस्ता प्रज्ज्वलनशील पदार्थको आयातमा कडाइ गर्दै आएको छ । तर, पटाका लगायतका प्रज्ज्वलनशील एवम् विष्फोटक पदार्थहरुको प्रयोग वर्षेनि बढ्दै गएको छ। सरकारले कानून बनाउने तर कार्यान्वनयमा प्रभावकारी उपस्थिति नदेखाउँदा कडाइको सूचना केवल परम्परागत र ‘बिरालो बाँध्ने’ शैलीमात्रै भएको छ । तिहारलाई लक्षित गर्दै भुइँचम्पा, आतिसबाजी, पटाका लगायतका वस्तुको आयातमा वर्षेनि करोडौं रुपैयाँ खर्च भइरहेको छ जो स्वयम्का लागि अहितकर समेत छ ।
पटाका जस्ता विष्फोटक पदार्थको विष्फोटनबाट उत्पन्न हुने धुँवा, ध्वनीले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्छ । अझ बालबालिका, वृद्ध एवम् रोगीका लागि अत्यन्त हानीकारक छ । एकातिर पैसाको दुरुपयोग अर्कातिर स्वास्थ्यमा पु¥याउने क्षतिले आंकलन नगर्ने हो भने यसले पार्ने दूरगामी असरलाई शब्दमा बयान गर्न गाह«ो छ । तिहारलाई नेपाली संस्कार र संस्कृतिमा पूजा, आराधना, सेवा र समर्पणको दृष्टिले हेरिन्छ । तर, हामीकहाँ अहिले विकास भइरहेको आयातित र कुसंस्कारले संस्कृति मासिने मात्र होइन, अङ्गभङ्ग हुने, रोगहरुको घर बनाउन सहयोग गर्ने र प्रदुषण बढाउने कारकतत्वका रुपमा लिनु बुद्धिमानी हुन्छ ।
वर्षेनि पटाकाकै कारण आगलागी हुने गरेको छ । तिहारकै नाममा जुवातासमा रमाउने बानीले एकातिर आफ्नो ‘वनबास’ हुने, पारिवारिक विचलन आउने गरेका उदाहरण पनि छन् । तासकै आयातमा करोडौं रुपैयाँ खर्च भइरहेको तथ्यांक पनि सार्वजनिक भइरहेकै छ । यो भन्दा पनि डरलाग्दो विमारका रुपमा बढ्दै गएको विष्फोटक पदार्थको उपभोगलाई फेदमै नियन्त्रण गर्न जरुरी छ । त्यसका लागि सुरक्षा निकायको भूमिका सर्वाधिक महत्वको रहन्छ । खुल्ला सीमानाका कारण प्रतिबन्धित वस्तु चोरी पैठारी भइरहेको तर्फ प्रहरी प्रशासनको गम्भीर अग्रसरता र इच्छाशक्ति देखिएन भने गृहमन्त्रालयको निर्देशन ‘कागजको खोस्टा’ मात्र साविक हुनेछ ।
आयात गरिने वस्तु मानव जीवनका लागि अत्यावश्यकीय हुनुपर्छ क्षणिक लाभका निम्ति अथवा आत्मरतिका लागि भित्र्याइने विष्पोटक पदार्थ, लागूऔषध र तास जस्ता वस्तु पूर्णरुपले सधँै–सधँैका लागि रोक लगाउनु राष्ट्रिय हितमा हुन्छ । त्यसकारण पनि सीमानाकामा सुरक्षाका लागिबस्ने जनपद, सशस्त्र लगायतका प्रहरी प्रशासन र भन्सार लगायतका चेकपोष्टहरुबाट प्रतिबन्धको निर्देशनले अक्षरशः पालना गरिनु पर्दछ । गृहको निर्देशनसँगै खासगरी सीमावर्ती जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले पनि चाडबाड लक्षित यस्ता सूचनाहरु सम्प्रेषण गर्ने गरेका छन् । तर, त्यस्ता निर्देशन बजार क्षेत्रहरुमा निष्प्रभावी हुने गरेको सन्दर्भमा आउँदै गरेको तिहार प्रहरी र प्रशासन दुबैका लागि चुनौति बनेका छन् । स्वयम्को चेतनाले मात्र यस्ता आयातित कुसंस्कृतिको अन्त्य हुने भएकाले यसले पार्ने असरप्रति आफैं सजग हुन जरुरी छ । साथै स्थानीय सरकार र प्रहरीले पनि निर्देशनको प्रभावकारी कार्यान्वनयमा लाग्नु पर्दछ । अनि मात्र सबैको कल्याणको आधार तयार हुन सक्छ ।




























