झापामा पाँचसयबढी सामुदायिक कुकुरहरुलाई खाना खुवाइयो

0
817

बिर्तामोड ।

झापा एनिमल रेस्क्यू एण्ड केयर टिमले झापा बिर्तामोडका पाँच सय भन्दा वढी सामुदायिक कुकुरहरुलाई खाना खुवाएको छ । त्यस्तै सोही टिमले विभिन्न आक्रमण र दुर्घटनाबाट घाइते बनेका २५ भन्दा वढी सामुदायिक कुकुरहरुलाई उपचार गरेको छ ।

छाडा छोडिएका, दुर्घटनामा परेर चोटपटक लागेका सामुदायिक कुकुरहरुको उपचार र स्याहार गर्ने उद्धेश्यले स्थापना गरिएको झापा एनिमल रेस्क्यू एण्ड केयर टिमले झापामै पहिलो पटक यस्तो कार्य गरेको झापा एनिमल रेस्क्यू एण्ड केयर टिमका अध्यक्ष रविन लक्सम लिम्वूले जानकारी दिए ।

रोटट्रयाक क्लव अफ बिर्तामोड र मेची केनल क्लवको सहयोगमा बिर्तामोड ६ बुट्टावारीबाट शुरु गरिएको उक्त कार्यक्रम अन्तर्गत नयाँ वसपार्क , महानन्द चोक , पुरानो भद्रपूर रोड हुँदै मेची आँखा अस्पताल सैनिकमोडमा समापन गरिएको झापा एनिमल रेस्क्यू एण्ड केयर टिमकी सदस्य इशा क्षेत्रीले बताइन् ।

बिर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङ्वा , सावित्रा दाहाल लगायतले संस्थाले गरेको कार्यको प्रसंसा गरेका थिए । पहिले सुरक्षाका लागि पालिने कुकुर शहरी क्षेत्रमा सोख र एक्लोपन मेटाउने साथीको रूपमा पालिन थालेको छ ।

यसरी सोखका लागि सम्पन्न घरहरूमा पालिएका महँगा कुकुरलाई घरमै ब्रिडिङ गराइने र ब्याउन नसक्ने बूढो वा रोगी भएपछि अलपत्र छाडिदिने प्रवृत्तिका कारण सडकमा उच्च नश्लका कुकुर भेटिने गरेको छ ।

मानिससँगको सम्बन्धमा हजारौं वर्षदेखि जोडिएको कुकुर घरको सुरक्षा गर्ने वफादार प्राणीको उदाहरण बनेको छ । हिजोआज परिवारका युवा सदस्यहरू कामको लागि शहर वा परदेश जाने भएकोले घरमा रहेका ज्येष्ठ सदस्य र बालबच्चाको साथीको रूपमा कुकुर पाल्ने गरिएको पाइन्छ । आफूले चाहेको बानी सिकाएर काम लिन सकिने भएकोले कुकुर भरपर्दो चौपाया मानिन्छ । कुकुर भावनात्मक साथी र तनाव हर्ने माध्यम बनेको विभिन्न अनुसन्धानले पनि देखाएका छन् ।

सन् २०१८ मा मेन्टल हेल्थ अमेरिका नामक संस्थाले गरेको शारीरिक र मानसिक स्वास्थ्य सर्वेक्षणले कुकुर र बिरालो पाल्ने ७४ प्रतिशत अमेरिकी (८ करोड ४६ लाख) मध्ये अधिकांशले त्यस्ता जनावर पाल्दा भावनात्मक सहयोग महसूस भएको, एन्जाइटी, निराशा, एक्लोपन र तनावबाट मुक्त हुन मद्दत मिलेको बताएका थिए ।

घरमा कुकुर वा बिरालो पाल्नेहरूको शारीरिक स्फूर्ति र काममा एकाग्रता पनि अन्यको तुलनामा केही बढी भएको सर्वेक्षणले देखाएको थियो । अपराध अनुसन्धानमा पनि कुकुरको प्रयोग महत्वपूर्ण मानिन्छ । संसारमा कम्तीमा ८० प्रतिशत प्रहरी अनुसन्धानमा कुकुरको साथ लिइएको अनुसन्धानकर्मीहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here