अनुमति नलिई सूर्तिजन्य पदार्थ बिक्री

0
614

बिर्तामोड।

सरकारले २०७३ साल पुस मसान्त भित्र सूर्तिजन्य पदार्थ बिक्री वितरणका लागि अनिवार्य रुपमा इजाजत लिन आग्रह गरे पनि झापाका कुनै पनि व्यवसायीले इजाजत लिएका छैनन् ।

इजाजत बिना नै अहिले झापाका गाउँदेखि शहरसम्म खुलमखुल्ला रुपमा सूर्तिजन्य पदार्थ बिक्री वितरण भइरहेको छ । सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ बिक्री वितरण तथा सेवन गर्नु दण्डनीय भए पनि खुलेआम रुपमा सूर्तिजन्य पदार्थ विक्री वितरण तथा सेवन हुने गरेको सरकारी निकायका एक अधिकारीले बताए ।

झापाको बिर्तामोडमा सोमवार आयोजित सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै उपसचिव पुष्कर नेपालले सार्वजनिक स्थलमा ध्रुमपान गर्नु, १८ वर्षमुनिका बालबालिककालाई सूर्तिजन्यवस्तु विक्री वितरण गर्नु, विद्यालयको १०० मिटरभित्र सूर्तिजन्य पदार्थ विक्री वितरण गर्नु, कानून विपरीत हुने भन्दै त्यस्तो गरेको पाइए कानून बमोजिम कारवाही हुने बताए ।

उनले २०७३ साल पुस मसान्तमै सूर्तिजन्य पदार्थ बिक्री वितरणका लागि इजाजत लिन आग्रह गरे पनि झापाका कुनै व्यवसायीले सूर्तिजन्य पदार्थ विक्रीको अनुमति नलिएको बताए । उनले तत्काल अनुगमन गरेर कारवाहीको दायरामा ल्याउन अनुगमन समितिका अध्यक्ष समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे ।

उनले सात सय ४३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी समितिको अध्यक्ष हुने भन्दै सबै स्थानीय तहलाई अनुगमनलाई तीव्रता दिन उपसचिव नेपालले आग्रह गरे ।

त्यस्तै सूर्तिजन्य पदार्थबाट लाग्ने रोग र त्यसले पार्ने प्रभावका विषयमा प्राध्यापक डा. विष्णु दत्त पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सूर्तिजन्य पदार्थको प्रयोगबाट क्यान्सर जस्ता प्राणघातक रोगहरु लाग्न सक्ने भन्दै सचेत रहन आग्रह गरे ।

कार्यक्रममा सहकारी अभियन्ता समेत रहेकी इन्दिरा पन्तले वित्तीय तथा स्वास्थ्य साक्षरता सम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा झापाका प्रहरी प्रमुख दीनेशराज मैनालीले कुलतबाट कसरी जोगिने र कस्ता विषयमा ध्यान दिने भन्ने विषय समेटिएको विद्यार्थीलाई वितरित चिठ्ठी वाचन गरेका थिए ।

जनसंख्या मन्त्रालयको आयोजना तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र एक्सन नेपालको सहआयोजनामा भएको कार्यक्रममा सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्वउपप्रधान तथाा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी अभिमुखीकरण कार्यक्रममा विद्यार्थी तथा सहकारी क्षेत्रका विभिन्न व्यक्तिलाई बोलाएर सचेतनामूलक कार्यक्रम गरेको बताए ।

उनले समाज सुधारका लागि हरेक क्षेत्रमा सकारात्मक सोच र सचेतनामूलक कार्यक्रम अगाडि बढाउनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here