१०८ कुण्डीय कोटीहोमको तयारी तीव्र

0
566

विनोद सापकोटा / झिलझिले।

‘पर्यटन भ्रमण वर्ष, २०२०’ को प्रचारप्रसार गर्ने उद्देश्यले नेपालमा पहिलो पटक गौ संरक्षणका लागि आयोजना गर्न लागिएको कोटीहोमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ ।

यही कात्तिक २७ देखि मंसिर ९ गतेसम्म हुने श्री सताक्षी धार्मिक महोत्सव एवम् १०८ कुण्डीय कोटीहोमको तयारी अन्तिम चरणमा पुगेको मुल आयोजक समारोह समितिका अध्यक्ष सोम पोर्तेलले जानकारी दिएका छन् । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित महाभारतकालीन इतिहाससँग जोडिएको धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा पहिलो पटक गौ संरक्षणका लागि १०८ कुण्डको कोटीहोम हुन लागेको हो ।

अन्तर्राष्ट्रिय विद्वत् परिषद्का प्रवक्ता आचार्य घनश्याम खनालले नेपालमाभन्दा भारत, सिङ्गापुर, अमेरिका, जर्मन, मालदिप्स, अफ्रिका लगायत अन्य मुलुकमा सताक्षीधाममा आयोजना हुने कोटीहोमको प्रचार–प्रसारलाई तीव्रता दिएको जानकारी दिए ।

पोष्टर, पम्लेटिङ्ग, माइकिङ्ग, ठाउँ–ठाउँमा कोटीहोमको महत्व र यसको आवश्यकताका विषयमा जानकारी दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार–प्रसारलाई तीव्र बनाइएको प्रवक्ता खनालले जानकारी दिए । भारतको दिल्ली, वृन्दावन, मथुरा, गुजरात, हरिद्वार, मुम्वई, कलकता, बनारस लयात पश्चिम बंगालमा प्रचार–प्रसारका लागि सयांै नेपालीभाषी र स्थानीय हिन्दुवादी स्वयम्सेवक परिचालित भएका छन् । आयोजकले नेपाल बाहेक विश्वका २० हजार पर्यटक कोटीहोममा सहभागी हुने दाबी गरिएको छ । त्यस्तै नेपालका पाँच लाख आन्तरिक पर्यटक सताक्षीधाम आएर कोटीहोममा सहभागी हुने आयोजक समितिका सह–संयोजक शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

गोलोक गोवद्र्धन गौशालाका अध्यक्ष तथा धार्मिक महोत्सव मूल आयोजक समारोह समितिका संरक्षक नन्दकिशोर भारद्वाजले गाईको महत्व, आवश्यकता र शास्त्रीय गुणको बारेमा सर्वसाधारणलाई चेतना दिनुका साथै पर्यावरणीय शुद्धीका लागि कोटीहोमको आयोजना गर्न लागिएको बताए । गौशालाका पिठाधीस समेत रहेका आचार्य नन्दकिशोर भारद्वाजले कोटीहोमसँगै श्रीसताक्षी अष्टोत्तरशत्कुण्डीय श्री गोपाल महायज्ञ (कोटीहोम) एवम् श्रीमद्देवी भागवत कथा महोत्सव समेत आयोजना हुने बताए ।

कोटीहोममा नेपाल लगायत विश्वका पाँच सय ५१ जना ब्राम्मणले दैनिक होम गर्ने आयोजकले जनाएको छ । यो संख्यामा पोल्याण्ड, सिंगापुर, भारत, अमेरिका, जोर्डन र जर्मनका चर्चित धार्मिक वक्ता समेत रहने बताइएको छ । कोटीहोममा आउने अतिथीका लागि करिब ३५ वटा कुटी निर्माणको अन्तिम चरणमा पुगेको छ । एउटा कुटीमा बढीमा चार जनासम्म विदेशी पाहुना अटाउन सक्नेछन् । बाँसका किला, खर र टाटीको बेरामा निर्माण भएको कुटी एटेच बाथरुमसहित हुनेछ ।

आयोजकका अनुसार विदेशी पाहुना र सर्वसाधरणको सुरक्षाको लागि नेपाल सरकारसँग सुरक्षा व्यवस्था मागिने बताइएको छ । त्यसका अलवा स्वयम्सेवक, सीसी क्यामेरा र ड्रोन क्यामेराबाट कोटीहोमस्थलको सुरक्षा व्ययस्था कडा बनाइने छ । कोटिहोमका लागि गजुरसहित सात तलाको बाँस जन्य वस्तुबाट जडित यज्ञ कुण्ड निर्माण सम्पन्न भएको छ । कोटीहोमका लागि आयोजकले दुई करोड रुपैयाँ खर्च हुने अनुमान समेत गरेको छ । आयोजकका अनुसार सबैभन्दा धेरै खर्च चरु २७ हजार किलोग्रामको लागि ७१ लाख खर्च हुने बताइएको छ ।

कोटीहोममा आगन्तुक पाहुनाको स्वागतका लागि पूर्व–पश्चिम राजमार्गमा ३० वटा स्वागत द्वार निर्माण भएका छन् भने सहायक मार्गमा १० वटा स्वागत द्वार निर्माण भएको छ । पिउने पानी, आवास, भोजनालय, विद्युत् लगायतका पूर्वाधार निर्माण भइसकेका छन् भने मोवायलका उपभोक्ताका लागि नेटवर्कको व्यवस्था मिलाउने काम भइरहेको छ ।

झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले सताक्षीधाम धार्मीक महोत्सवका लागि सुरक्षा व्यवस्था कडा पारिने बताए । आवश्यक जनशक्ति सताक्षीधाममा पठाउने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here